नेभिगेशन
बुधबार, मंसिर २, २०८३

८ वर्ष पुरानो बल-टेम्परिङ विवादबारे क्रिकेट अस्ट्रेलियाकाे महत्त्वपूर्ण निर्णय

काठमाण्डाै – क्रिकेट अस्ट्रेलियाले सन् २०१८ को ‘स्यान्डपेपरगेट’ विवादमा संलग्न खेलाडी तथा कर्मचारीहरूलाई आफ्नो पक्ष राख्ने अवसर दिन एउटा मञ्च तयार पारेको छ ।

बोर्डले यो यस विषयको पुनः अनुसन्धान नभएको र यसको उद्देश्य कसैलाई सजाय दिनु नभएको स्पष्ट पारेको छ । यसमा सहभागिता पूर्णतया स्वेच्छिक हुने क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।

पूर्वखेलाडी उस्मान ख्वाजाको एउटा दाबीपछि बोर्डले यो कदम चालेको हो । ख्वाजाले सन् २०१८ मा दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खलाका बेला ‘बल–टेम्परिङ’ गर्न ‘स्यान्डपेपर’ प्रयोग गरिएको कुरा सम्पूर्ण अस्ट्रेलियाली टोलीलाई थाहा थियो भनेर बताएका थिए ।

सन् २०१८ को यस विवादपछि तत्कालीन कप्तान स्टिभ स्मिथ, उपकप्तान डेभिड वार्नर र ब्याटर क्यामरन ब्यानक्रोफ्टमाथि प्रतिबन्ध लगाइएको थियो ।

तर क्रिकेट अस्ट्रेलियाको अनुसन्धानले टोलीका बलरहरूलाई बल टेम्परिङ गरिएको कुरा थाहा नभएको पत्ता लगायो ।

केप टाउन टेस्टमा अस्ट्रेलियाको बलिङ टोलीमा प्याट कमिन्स, जोश हेजलउड, नाथन लियोन र मिचेल स्टार्क समावेश थिए ।

सन् २०२१ मा जारी गरिएको एक संयुक्त विज्ञप्तिमा यी ४ जना बलरले मैदानमा कुनै बाहिरी वस्तु ल्याइएकोबारे आफूहरूलाई जानकारी नभएको बताएका थिए ।

गएको हप्ता आयोजित एक पत्रकार सम्मेलनमा कमिन्सले ख्वाजाको दाबीलाई शतप्रतिशत गलत भनेका थिए ।

प्रकाशित मिति:
थप खेलकुद