नेभिगेशन
मंगलबार, मंसिर १, २०८३

धाेनी अब चेन्नईकाे मेन्टर

काठमाण्डाै – भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ देखि चेन्नई सुपर किङ्ग्सको टिम मेन्टर बन्ने भएका छन् ।

चेन्नईले ४५ वर्षीय धोनीको नयाँ भूमिकाबारे आज सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । योसँगै खेलाडीका रूपमा उनको आईपीएल करियर समाप्त भएको छ ।

चेन्नईका मालिक एन श्रीनिवासनले धोनी फ्रेन्चाइजको अभिन्न हिस्सा रहेको बताउँदै उनीविना चेन्नईको पहिचान अधुरो रहने बताएका छन् ।

यस्तै मालिक रूपा गुरुनाथले धोनीको अनुभव र मार्गदर्शन युवा खेलाडीका लागि महत्त्वपूर्ण हुने उल्लेख गरेकी छिन् ।

धोनी सन् २००८ देखि नै चेन्नईको हिस्सा छन् । उनको कप्तानीमा चेन्नईले पाँच पटक आईपीएल र दुई पटक च्याम्पियन्स लिग टी–२० को उपाधि जितेको छ ।

आईपीएलमा सहभागी हुनबाट चेन्नईमाथि प्रतिबन्ध लगाइएको दुई वर्षको अवधि – सन् २०१६ र २०१७ मा उनी ‘राइजिङ पुणे सुपरजायन्ट’ टोलीको हिस्सा बनेका थिए, तर सन् २०१८ मा उनी फेरि चेन्नईमा फर्किए ।

धोनी पछिल्लो पटक सन् २०२५ को संस्करणमा चेन्नईको जर्सीमा देखिएका थिए । उनले चोटका कारण सन् २०२६ मा एउटा पनि खेल खेल्न सकेनन् ।

धोनीले चेन्नईका लागि २७२ खेल खेल्दै ३८.३० काे औसत र १३७.४५ काे स्ट्राइक रेटमा ५ हजार ३१४ रन बनाएका छन् ।

धोनी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का तीन वटै प्रमुख सीमित ओभरका उपाधि जित्ने क्रिकेट इतिहासका एक मात्र कप्तान हुन् । उनको कप्तानीमा भारतले सन् २००७ को टी–२० विश्वकप, २०११ को एकदिवसीय विश्वकप र २०१३ को च्याम्पियन्स ट्रफी जितेको थियो ।

उत्कृष्ट कप्तानी, दबावको स्थितिमा पनि शान्त रहने स्वभाव, अन्तिम बलमा खेल जिताउने क्षमता, विकेट पछाडि तीव्र गतिमा स्टम्पिङ गर्ने कला र आफ्नो विशेष ’हेलिकप्टर शट’ का धोनी प्रख्यात छन् ।

धोनीले सन् २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।

प्रकाशित मिति:
थप खेलकुद