नेभिगेशन
बिहीबार, मंसिर ३, २०८३

तलबभन्दा काम र जीवनबीचको सन्तुलन कर्मचारीको प्राथमिकता : अध्ययन

विश्वभरका कर्मचारीहरूले आकर्षक तलबभन्दा काम र व्यक्तिगत जीवनबीचको सन्तुलनलाई धेरै महत्त्व दिन थालेका एक नयाँ अध्ययनले देखाएको छ ।

अन्तर्राष्ट्रिय मानव संशाधन तथा भर्ना परामर्शदाता संस्था ’द एडेको ग्रुप’ ले सार्वजनिक गरेको ’ग्लोबल वर्कफोर्स अफ द फ्युचर’ प्रतिवेदनअनुसार कर्मचारीहरूले पुरानो जागिर छोड्नु वा नयाँ काम खोज्नुको मुख्य कारण लचकता र पारिवारिक समय बनेको छ ।

विश्वभरका झन्डै ४० हजार कामदारहरूमाझ गरिएको सर्वेक्षणमा जीवनयापनको लागत बढिरहे पनि तलबको तुलनामा कामको समयतालिकामा लचकता र घरबाटै काम गर्ने अवसरलाई कर्मचारीले पहिलो प्राथमिकतामा राखेका हुन् ।

एडेको ग्रुपले वार्षिक प्रतिवेदन प्रकाशन गर्न थालेको सात वर्षको इतिहासमै तलबको वरीयता तल झरेको यो पहिलो पटक हो ।

प्रतिवेदनका अनुसार कामदारहरू अब कामबाट आउने आर्थिक प्रतिफलमा मात्र सीमित नभई आफ्नो व्यक्तिगत जीवनमा काम कसरी समायोजन हुन्छ भन्ने विषयमा धेरै सचेत हुन थालेका छन् ।

स्विट्जरल्यान्डमा मुख्यालय रहेको एडेको ग्रुपका प्रमुख कार्यकारी अधिकृत डेनिस माच्युएलले कर्मचारीहरूलाई पूर्णरूपमा कार्यालयमै ल्याउन चाहने कम्पनीहरूले अहिले ठूलो चुनौती भोगिरहेका बताउनुभएको छ ।

विशेषगरी युवा पुस्ताका कर्मचारीहरू आफ्नो करियरप्रति फरक अपेक्षा राख्ने भएकाले सन्तुष्ट नहुँदा पाका सहकर्मीको तुलनामा छिट्टै जागिर परिवर्तन गर्न तयार हुने गरेको बेलायती पत्रिका ’द गार्जियन’ ले उल्लेख गरेको छ ।

प्रकाशित मिति:
थप विश्व