नेभिगेशन
बिहीबार, मंसिर ३, २०८३

२१ बुँदे सङ्कल्प प्रस्ताव पारित गर्दै एमालेको राष्ट्रिय भेला सम्पन्न

काठमाण्डाै – नेकपा एमालेको राष्ट्रिय भेला २१ बुँदे विशेष सङ्कल्प पारित गर्दै सम्पन्न भएको छ ।

हिजो र आज चलेको राष्ट्रिय भेलाले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षालाई सर्वोपरी राख्दै समसामयिक राजनीतिक विषयमा २१ बुँदे विशेष सङ्कल्प प्रस्ताव पारित गरेको प्रचारप्रसार तथा प्रकाश विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।

भेलाले देशमा राजनीतिक स्थिरता, सुशासन र विकासको गतिलाई तीव्र पार्नुपर्नेमा जोड दिएको छ । साथै संविधानको रक्षा र कार्यान्वयनका लागि दलहरूबीच सहमति र सहकार्यको आवश्यकता औँल्याउँदै जनअपेक्षाअनुसार आर्थिक समृद्धिको मार्गमा अघि बढ्न सरकारलाई आह्वान गरेको छ ।

सङ्कल्प प्रस्तावमा लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरण, निष्पक्ष चुनावको सुनिश्चितता तथा नागरिकका दैनिक जीवनसँग जोडिएका समस्या समाधानलाई प्रमुख प्राथमिकता दिइएको छ ।

भेलाले पार्टीपङ्क्तिलाई आउँदा दिनमा अझ धेरै एकताबद्ध भएर नागरिकको पक्षमा, विकास र समृद्धिको अभियानमा लाग्नसमेत निर्देशन दिएको छ ।

एमाले भेलाले देशको वर्तमान राजनीतिक अन्योल चिर्दै स्थिरता र सुशासनका लागि स्पष्ट मार्गचित्र अघि सारेको दाबी गरेको छ ।

भेलाले आउँदो पालिका, प्रदेश र राष्ट्रियसभा चुनावको पूर्वतयारीका साथै आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको सुनिश्चितका लागि आन्दोलनको तयारी गर्ने सङ्कल्प गरेको छ ।

भेलामा देशभर तथा प्रवासबाट गरी ३ हजार ४१४ जना प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति:
थप राजनीति