नेभिगेशन

मेडिकल कलेज सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउनेबारे सरकारकाे छलफल सुरु

काठमाण्डाै - निजी मेडिकल कलेज सञ्चालकले अतिरिक्त शुल्क फिर्ता नगर्ने ज्ञापनपत्र बुझाएपछि सरकारले ठगी मुद्दा चलाउन छलफल सुरु गरेकाे छ । 

ठगी मुद्दा चलाउने सम्बन्धमा गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा बादल, मुख्य सचिव लाेकदर्शन रेग्मी, त्रिविका उपकुलपति डा धर्मकान्त बाँस्काेटा, काठमाण्डाै विश्वविद्यालयका उपकुलपति, चिकित्सा शिक्षा आयाेगका पदाधिकारी तथा नेपाल मेडिकल काउन्सिलका पदाधिकारीसहित बैठक बसिरहेकाे हाे ।

विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न दिएकाे अल्टिमेटम सकिने दिन मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेर सात वटा मेडिकल कलेज सञ्चालकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलाई ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्रमा मेडिकल कलेज सञ्चालकहरुले आफूहरुले ताेकिएकाेभन्दा बढी शुल्क ‘नलिएकाेले फिर्ता नगर्ने’ तर ‘समायाेजन गर्न भने तयार रहेकाे’ उल्लेख छ । अतिरिक्त शुल्क ‘नलिएकाे’ र ‘समायाेजन गर्न तयार’ रहेकाे भनाइ आफैैँमा बाझिएकाे थियाे ।

मंगलबार साँझ पाँच बजे ज्ञापनपत्र बुझाउने क्रममा सातवटै मेडिकल कलेज सञ्चालकहरुले अतिरिक्त शुल्क नलिएकाे र समायाेजन गर्न तयार रहेकाे आशय व्यक्त गरेपछि शिक्षामन्त्री गिरिराजमणि पाेखरेलले उनीहरुकाे धारणा र विज्ञप्ति झारा टार्ने खालकाे भएकाले सरकारलाई मान्य नहुने र अझै पनि यसैमा अडिग हुने हाे भने ठगी मुद्दा चलाउने चेतावनी दिनुभएकाे थियाे ।

यता, अतिरिक्त शुल्क फिर्ताको माग गर्दै  विद्यार्थीले विरोध प्रदर्शन गरेपछि सरकरमाथि दबाब परेको छ । गएको कात्तिक २२ गतेदेखि कलेजमा तालाबन्दी गरेर विद्यार्थीहरु आन्दोलनमा छन् । कलेजले सरकारले तोकेको भन्दा ५६ करोड रुपैयाँ बढी अतिरिक्त शुल्क लिएको भन्दै त्यो फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।

प्रकाशित मिति:
थप समाज