नेभिगेशन

वैदेशिक रोजगारीमा रहेकालाई छुट्ट्याएको आईपीओमा नै कम आवेदन, प्रक्रिया झन्झटिलो भएको गुनासो

काठमाण्डौ – नेपालका विभिन्न पब्लिक लिमिटेड कम्पनीहरूले जारी गर्ने आईपीओमा विदेशमा काम गर्ने नेपालीका लागि १० प्रतिशत सेयर अनिवार्य रूपमा छुट्ट्याउनै पर्ने नियम कार्यान्वयनमा आएपछि विभिन्न कम्पनीले विदेशमा काम गर्ने नेपालीका लागि आईपीओ जारी गरिरहेका छन् । तर जारी भएका आईपीओमा अपेक्षाभन्दा कम आवेदन परेको छ । 

धेरैजसो श्रमिकको बैङ्क खाता नै नहुनु, बैङ्क खाता भए पनि रेमिट्यान्स बचत खाता नहुनु र अनलाइनमार्फत खाता खोल्न र बैङ्कमार्फत सिआरएन नम्बर लिनु पर्ने प्रक्रिया विदेश रहेका श्रमिकले झण्झट मानेका छन् । अर्कोतर्फ अनलाइन प्रणालीमार्फत काम गर्दा बैङ्क तथा वित्तीय संस्थाहरूले राम्रो प्रतिक्रिया नदिएको श्रमिकको गुनासो छ । कतिपयलाई सेयर बारे जानकारी छैन भने हुनेले पनि प्रक्रियाकै कारण सेयर भर्न चासो दिइरहेको छैनन् ।

यूएईबाट कविराज पुडासैनी भन्नुहुन्छ ‘आईपीओ खुलाएर मात्र हुन्छ, हामीले पूरा प्रक्रियाका बारेमा जानकारी पनि त पाउनु पर्‍यो नि, विदेशमा काम गरेकै आधारमा भर्न पाइने आईपीओ कसरी भर्न पाइन्छ भन्ने जानकारी कहाँबाट पाइन्छ होला ?

यूएईमै कार्यरत सूर्यप्रसाद कोइरालालाई भने रेमिट्यान्स बचत खाता खोल्नु पर्ने नियमले समस्या परेको छ । उहाँलाई सेयरमा लगानी गर्न मन छ । तर वैदेशिक रोजगारीमा रहेकाहरूलाई आरक्ष गरी खुलेको सेयर आवेदन दिन रेमिट्यान्स बचत खाता अनिवार्य हुनुपर्छ भने त्यो खातामा पछिल्लो ६ महिनामा ५० हजार रुपैयाँ बचत गरेको हुनुपर्छ । तर कविराजसँग रेमिट्यान्स बचत खाता छैन ।

उहाँ गुनासो गर्दै भन्नुहुन्छ ‘विदेशमा काम गर्नेलाई अनलाइनबाट रेमिट्यान्स बचत खाता खोल्न सहज छैन, जुन खाता छ त्यसबाटै सिआस्बा नम्बर लिएर सेयर भर्न मिल्ने व्यवस्था गरिदिएको भए के जान्थ्यो र ।’

भीम पराजुली पनि रेमिट्यान्स बचत खाता नै हुन पर्ने र अन्य खातामा र आइएमईमार्फत पठाएको पैसाको हिसाब नहुने प्रावधानले अप्ठेरो पर्यो भन्नुहुन्छ । 

‘खातामा ५० हजार बचत त कसरी हुन्छ र हजुर, घर व्यवहार पनि चलाउनै पर्‍यो ’ उहाँ भन्नुहुन्छ ‘नेपालका बैङ्कमा खाता भए त भइहाल्यो नि फेरि रेमिट्यान्स खाता नै चाहिँ किन चाहिएको होला ।’

सागर लामिछाने भने सबै प्रक्रिया गर्दा पनि सीआरएन रजिस्ट्रेसन नम्बर नभएकै कारण समस्या भयो भन्नुहुन्छ । ‘रेमिट्यान्स बचत खाता खोल्नु पर्ने, सिआरएन नम्बर लिनु पर्ने र फेरि डिम्याट खाता नि हुनु पर्ने, विदेशमा बसेर नेपालका बैङ्कमा यति काम गर्न त महिनौं लाग्ने रहेछ’ लामिछाने आफ्नो अनुभव साट्दै भन्नुहुन्छ ‘यो प्रक्रिया अलिक सजिलो बनाइदिन पर्‍यो , नत्र सेयर आवेदन दिन पाइएला जस्तो छैन ।’

मलेसियामा कार्यरत देवी श्रेष्ठलाई भने सेयर कारोबारबारे उतिसाराे जानकारी छैन । विदेशमा रहेकाहरूकै लागि भनेर सरकारले सेयरमा कोटा छुट्टाएको छ भन्ने सुनेपछि देवीलाई पनि आवेदन दिन पाए हुन्थ्यो भन्ने चाहिँ लागेको छ । तर कहाँबाट कसरी आवेदन दिने र के कस्ता प्रक्रिया गर्ने भन्ने जानकारी नभएकै कारण अहिलेसम्म सेयर आवेदन दिनुभएको छैन  उहाँले ।

सेयर आवेदन दिन गर्नु पर्ने प्रक्रिया

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकाको छैटौँ संशोधन कार्यान्वयनमा आएसँगै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विभिन्न कम्पनीले आईपीओ जारी गरिरहेका छन् ।

नयाँ संशोधन अनुसार कम्पनीहरूले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नुभन्दा अघि नै १५ दिनको समय तोकेर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रस्ताव आह्वान गरिरहेका छन् ।

वैदेशिक रोजगारीमा गएका नागरिककै लागि निष्कासित १० प्रतिशत शेयर किन्नका लागि नेपाल सरकारसँग श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको हुनुपर्छ । श्रम स्वीकृति बिना आरक्षण गरिएको सेयरमा वैदेशिक रोजगारीमै भए पनि आवेदन दिन पाइँदैन ।

आईपीओ भर्नका लागि सम्बन्धित व्यक्तिको नाममा रेमिट्यान्स बचत खाता अनिवार्य हुनुपर्छ ।

यस्तै रेमिट्यान्स बचत खातामा वैदेशिक रोजगारीमै रहेर पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ आफू रोजगार रहेको देशबाट बचत गरेको हुनु पर्छ । 

आईपीओ भर्दा धितोपत्र बोर्डबाट धितोपत्र खरिद दरखास्त सङ्कलन सम्बन्धी काम गर्न अनुमति प्राप्त आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्थामा आफ्नो नाममा रहेको रेमिट्यान्स बचत खाताबाट मात्र भुक्तानी गर्न पाइन्छ । यति प्रक्रिया गरेपछि मेरो सेयरमार्फत खुलेका सेयर आवेदन भर्न सकिन्छ ।

वैदेशिक रोजगारीमा गएका नागरिककै लागि निष्कासित १० प्रतिशत शेयर किन्नका लागि नेपाल सरकारसँग श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको हुनुपर्छ । श्रम स्वीकृति बिना आरक्षण गरिएको सेयरमा वैदेशिक रोजगारीमै भए पनि आवेदन दिन पाइँदैन ।

विदेशमा रहेका नेपालीलाई आईपीओ भर्नका लागि बैङ्क तथा वित्तीय संस्थाले विद्युतीय माध्यममार्फत नै  सिआरएन नम्बर लिई आवेदन दिन सक्ने व्यवस्था गर्न सक्ने कुरा पनि संशोधित निर्देशिकामा समेटिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिककै लागि भनेर छुट्टाइएको आईपीओ भरेकाहरूले सर्वसाधारणका लागि छुटाएको शेयरमा भने भर्न पाउने छैनन् । 

अपेक्षाभन्दा कम आवेदन

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरूका लागि छुट्टै आरक्षणसहित आईपीओ खुल्नु पर्ने नियम लागू भएका करिब दुई महिना यता सुपरमाई हाइड्रोपावर कम्पनी, कालिञ्चोक दर्शन लिमिटेड, शुभम पावर कम्पनी, एसियन हाइड्रोपावर कम्पनी, सुपरमादी हाइड्रोपावर कम्पनी लगायतले उनीहरूका लागि सेयर निष्कासन गरेका छन् ।

‘अरू साधारण आईपीओमा जुन हिसाबको आवेदन पथ्र्यों, त्यो अनुसार यसमा आवेदन नआएको हो, तर आवेदन नै नपरेको भन्ने चाहिँ होइन, बढ्दो क्रममा छ ।’

तर यी कम्पनीहरूले निष्कासन गरेको सेयरमा आवेदन भने अपेक्षाकृत रूपमा नपरेको बताउनुहुन्छ सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य । 

नयाँ व्यवस्था भएकाले धेरैलाई यसबारेमा जानकारी नै नभएको हुन सक्ने भन्दै प्रमुख कार्यकारी अधिकृत आचार्यले भन्नुभयो ‘अरू साधारण आईपीओमा जुन हिसाबको आवेदन पथ्र्यों, त्यो अनुसार यसमा आवेदन नआएको हो, तर आवेदन नै नपरेको भन्ने चाहिँ होइन, बढ्दो क्रममा छ ।’

विदेशमा रहेकाहरूले आवेदन दिन नचाहेको भन्दा पनि आवेदनका लागि गर्नु पर्ने प्रक्रियाका कारण समस्या भएको भन्ने गुनासोबारे भने सिडिएस एण्ड क्लियरिङका साथसाथै नेपाल धितोपत्र बोर्ड पनि जानकार रहेको उहाँले बताउनुभयो ।  

‘खाता खोल्न गाह्रो भएको भन्ने कुराहरू आइरहेको छ, आएका गुनासाहरूलाई हामीले समन्वय गरेर नै समाधान गरिरहेका छौँ’ प्रमुख कार्यकारी अधिकृत आचार्यले भन्नुभयो ‘खाता खोल्ने भन्ने कुरा बैङ्कहरूको जिम्मेवारी भित्रको काम हो त्यसमा सहजीकरण गरिदिन हामीले अनुरोध गरिसकेका छौँ ।’

तर पछिल्लो समय घट्दो सेयर बजार लगायतका थुप्रै कारणले साधारण आईपीओमा पनि पहिलेको तुलनामा कम आवेदन पर्ने गरेको उहाँको भनाइ छ । 

सेयर शिक्षा आवश्यक

राष्ट्रिय जनगणना २०७८ अनुसार २१ लाख नेपाली देशभन्दा बाहिर छन् । ५० लाख भन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको सरकारी तथ्याङ्क छ ।

तर वैदेशिक रोजगारीमा रहेका नेपालीको सङ्ख्याको तुलनामा प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने नेपालीको सङ्ख्या एकदमै न्यून छ । यसको पछाडि अनेक कारण छन् ।

धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक नीरज गिरी भने नयाँ नियम भएकाले यसबारेमा जानकारीकै अभावका कारण वैदेशिक रोजगारीमा रहेकाहरूको सेयरमा आवेदन कम परेको बताउनुहुन्छ ।

वैदेशिक रोजगारीमा जाने धेरैजसो नेपालीसँग बैङ्क खाता नै नहुनु, सेयर भर्नका लागि खाता खोल्नका लागि पनि सहज नहुनु र धेरैजसोलाई यसबारे जानकारी नै नभएको अवस्थाले गर्दा आरक्षण सहित खुलेको सेयरमा पनि आवेदन कम परेको छ भन्नुहुन्छ, नेपाल पुँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोख्रेल ।

‘सरकारले कोटा नै दिए पनि विदेशमा रहेकाहरूले सेयर भर्न रेमिट्यान्स खाता छुट्टै खोल्नु पर्ने र यो खाता खोल्न समस्या भयो भन्ने गुनासो धेरै लगानीकर्ताले गर्नुभएको छ’ अध्यक्ष पोख्रेलले भन्नुभयो ‘आरक्षण हुँदा पनि निर्देशिकाको विभिन्न प्रावधानका कारण विदेशमा रहेका श्रमिकको पहुँचभन्दा बाहिर भयो सेयर आवेदन दिने कुरा ।’

धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक नीरज गिरी भने नयाँ नियम भएकाले यसबारेमा जानकारीकै अभावका कारण वैदेशिक रोजगारीमा रहेकाहरूको सेयरमा आवेदन कम परेको बताउनुहुन्छ । यसका साथै १० कित्ता मात्रै हो भनेर श्रमिकले आवेदन दिन नचाहेको हुन सक्ने पनि उहाँको अनुमान छ । 

‘यसबारेमा जानकारी पनि बढाउँदै लैजाने र बिस्तारै १० कित्तालाई बढाएर ५० सम्म पुर्‍याउने, बरु थोरै सङ्ख्यालाई दिने गर्दा पनि आवेदन बढ्न सक्छ’ सुझाव दिँदै उहाँ भन्नुहुन्छ ‘नयाँ व्यवस्थाबारे जतिसक्दो धेरै प्रचारप्रसार गर्नुपर्छ, अहिले जति हुनु पर्ने हो त्यो अनुसार प्रचार हुन नसक्दा धेरैले यसबारेमा थाहै नपाएको हुन सक्छ ।’  

आएका समस्या समाधान गर्छौँ, एनआरएनएसँग सहकार्य गर्छौँ : धितोपत्र बोर्ड

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा सेयरबारे जानकारी पुर्‍याउनका लागि गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)सँग सहकार्य गरेर अघि बढ्ने नेपाल धितोपत्र बोर्डले बताएको छ ।

उहाँले नेपाल धितोपत्र बोर्डको वेबसाइटमा पनि विभिन्न जिज्ञासाहरूलाई समेटेर प्रश्न उत्तर शैलीमा जानकारीमूलक सामग्री राखिएको भन्दै त्यसलाई अध्ययन गर्न अनुरोध गर्नुभयो । 

बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले सेयरबारेमा जानकारी पुर्‍याउन र जानकारी भएर पनि स्पष्ट नभएका कुराहरू बुझाउनका लागि एनआरएनएसँग सहकार्य गरी भर्चुअल माध्यममार्फत छलफल र सहकार्य अघि बढाउने बताउनुभयो । 

उहाँले भन्नुभयो ‘यसबारेमा धेरैलाई जानकारी नभएको र जानकारी भएकाहरूमा पनि केही कुराहरू स्पष्ट नभएको पायौँ, अब एनआरएनएसँग भर्चुअल माध्यमार्फत सहकार्य गर्दै छौँ, यो प्रयास प्रभावकारी भएमा त्यसलाई निरन्तरता दिने छौँ । 

यस्तै उहाँले नेपाल धितोपत्र बोर्डको वेबसाइटमा पनि विभिन्न जिज्ञासाहरूलाई समेटेर प्रश्न उत्तर शैलीमा जानकारीमूलक सामग्री राखिएको भन्दै त्यसलाई अध्ययन गर्न अनुरोध गर्नुभयो । 

बैङ्क खाता अनलाइनमार्फत नै खोल्न पाइने र त्यसमा बैङ्कहरूले सहजीकरण नगरिदिएमा धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैङ्कलाई जानकारी गराउन पनि उहाँले अनुरोध गर्नुभयो । 

‘अनलाइनमार्फत नै रेमिट्यान्स खाता खोल्न, डिम्याट खाता खोल्न र सिआरएन नम्बर पनि लिन मिल्छ, यदि यो प्रक्रिया गर्दा बैङ्कमार्फत कुनै समस्या भएमा बोर्डलाई वा राष्ट्र बैङ्कलाई जानकारी दिनुहोस्’ प्रवक्ता श्रेष्ठले भन्नुभयो ‘तपाईँहरूले भोग्नुभएका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर छलफल गर्ने छौँ ।’

प्रकाशित मिति:
थप देश परदेश विशेष