‘अरू केही चाहिँदैन, मलेसियामा सन्चै छ भन्ने खबर मात्र गरिदिए पुग्छ’
मेरो नाम कुन्तीकुमारी चौधरी हो । मेरो घर उदयपुर चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरमा पर्छ । मेरो जीवन यति बेला दुःखको सागरमा डुबेको छ ।
यो दुःखमा मलाई अलिअलि सहयोग मलेसियामा बस्नुहुने तपाईँहरू सबैको चाहिएको छ । मेरो श्रीमान् प्रदीपकुमार चौधरी २०७३ सालमा दोस्रो पटक मलेसिया जानुभएको हो । त्यसअघि पनि मलेसियामा नै काम गरेर फर्कनुभएको थियो ।
मलेसियामा डब्ल्यु सिटी कन्स्ट्रक्सन एसडीएन बिएचडी नामक कम्पनीमा उहाँ श्रम स्वीकृति लिएर जानुभएको हो । उहाँलाई यो काममा काठमण्डौको वसुन्धारा स्थित पिजन ओभरसिजले पठाएको हो । नेपालबाट गएको डेढ वर्षसम्म त सम्पर्कमा नै हुनुहुन्थ्यो ।
तर २०७४ सालको मङ्सिर ४ गते हो मैले यहाँबाट फोन गर्दा उहाँको फोन लागेन । त्यस दिनदेखि मैले यहाँबाट हजारौँ पटक फोन गरिसकेँ । तर यताबाट गर्दा लागेन । नत उताबाट नै फोन आयो । उहाँले फोन गर्नुहुन्छ होला भनेर नै कुरियो निकै समय त । अब त आशै आसमा निराश भएका छौँ ।
केही सरकारी कार्यालयमा पनि निवेदन दिएका थियौँ । तर त्यो कार्यालयबाट पनि कुनै खबर आएको छैन । घरमा बुढा भएका सासू ससुरा हुनुहुन्छ । रोजीरोटी चलाउनै गाह्रो भएपछि म अहिले एउटा बिस्कुट फ्याक्ट्रीमा काम गरिरहेको छु । यही कमाइले छोराछोरीलाई पनि पढाइरहेको छु ।
सासू ससुरा बिरामी हुनुहुन्छ । दुवै जनालाई हातखुट्टा दुख्ने समस्याले च्यापेको छ । मैले जसोतसो काम गरेर बिहान बेलुकाको छाकको व्यवस्था त गरेको छु । तर राम्रो अस्पताल लगेर उहाँहरूको उपचार गर्न सकेको छैन ।
घरको दुःख एकातिर छ । अर्कोतिर मन भरी श्रीमानकै चिन्ता छ । कुन अवस्थामा हुनुहुन्छ होला ? केही भयो कि भनेर मन आत्तिइरहन्छ ।
सासू ससुरालाई झन् चिन्ता छ । म कमाउन हिँड्न परेको छ । उहाँहरूलाई मेरो पनि चिन्ता छ । यता घरमा भएका नातिनातिनाको पनि । छोराको पिरले त उहाँहरूका आँखा ओभाएका छैनन् । रोएरै दिनरात बिताइरहनुभएको छ।
छोरो आए सुखको सास जान्थ्यो भन्नुहुन्छ । तर म कहाँ जाऊ खोज्न । जाने ठाउँ पनि छैन । नत सरकारले नै हामी दुःखीको कुरा सुनिदिन्छ । मन त कति रुन्छ रुन्छ । तर के गर्नु । हामी गरिबको पिडा कसैले पनि नबुझ्ने रहेछन् ।
यदि तपाईँसम्म मेरो यो पुकार आइपुग्यो भने म सन्चै छु मात्र भनिदिए पनि पुग्छ । केही चाहिँदैन । तपाईँलाई राम्रो छ भन्ने मात्र सुन्न पाए पनि यो ज्यानले एक मुठी सास आरामको फेर्ने छ ।