इश्वर पोखरेल

प्रतिनिधिसभा सदस्य
काठमाडौं-५

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
६८
प्राप्त मत
१०२७२
लिङ्ग
पुरुष
हालको पद
वरिष्ठ उपाध्यक्ष, नेकपा एमाले
शैक्षिक योग्यता
शिक्षा र साहित्य विषयमा स्नातक

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको जन्म विक्रम संवत २०१० साल माघ २२ गते माम्खा ओखलढुंगामा भएको हो । २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका पोखरेल २०३२ सालमा पूर्णकालीन कार्यकर्ता भई भूमिगत भएर पार्टी काममा संलग्न हुनुभएको हो ।

पिता शिवराज पोखरेल र माता रामकुमारी पोखरेलका सन्तान ईश्वर सानो छँदा गाउँमा गाईबाख्रा चराउने, घाँस काट्ने जस्ता घरायसी काममा व्यस्त हुनुभयो । गाउँमा रहँदा साक्षर भएपनि उहाँ स्कूल जान पाउनुभएन । घरमा आमा बाहेक दाजु दिदीहरु कोही पनि नभएकाले घरको काममा बढी खटिनुपथ्र्यो । उहाँले शिक्षा र साहित्य विषयमा स्नातक गर्नुभएको छ । 

२०३२ सालदेखि पूर्णकालीन रुपमा राजनीतिमा प्रवेश गरेका पोखरेलले पटक–पटक जेल जीवन बिताउनुभएको छ ।

उहाँ २०३३ सालमा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (कोक) मालेको सदस्य हुनुहुन्थ्यो । २०३५ सालमा नेकपा मालेको केन्द्रीय सदस्य भएका पोखरेल २०४७ सालमा नेकपा एमालेको समेत संस्थापक सदस्य हुनुभयो ।

२०५१ सालमा नेकपा एमालेको अल्पमतको सरकारमा उहाँ प्रधानमन्त्री मनमोहन अधिकारीका प्रमुख राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो । २०५४ सालमा राष्ट्रियसभाको सदस्य भएका पोखरेल २०५६ मा काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

उहाँ २०५४ असारमा नेकपा एमाले स्थायी कमिटी सदस्यमा चयन हुनुभयो । २०५६ मा प्रधानमन्त्रीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय समिति अन्तर्गतको चुनाव व्यवस्थापन समितिको संयोजक पनि बन्नुभयो ।
२०५९ सालमा नेकपा एमाले केन्द्रीय सचिवालयका सचिव भएका पोखरेल २०६० मा पार्टी संगठन विभागको प्रमुखमा चयन हुनुभयो । उहाँ २०६१ सालमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुनुभयो । पोखरेल २०६३–०६४मा शान्ति समिति नेपालको सदस्य हुनुभयो । २०६५ सालमा भएको पार्टी महाधिवेशनबाट उहाँ महासचिवमा चयन हुनुभएको थियो । केही दिन उपप्रधानमन्त्री पनि बन्नुभयो ।

२०७५ साल जेठ ३ गते माओवादी केन्द्रसँग एमालेको एकता हुँदा उहाँले महासचिव पद गुमाउनुभयो र सचिवालय सदस्यमा सीमित हुन पुग्नुभयो । २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको नेकपाको एकता प्रक्रिया भंग भर्ने फैसलापछि भने पोखरेल फेरि एमालेको महासचिव हुनुभयो । २०७८ मंसिरमा गएको पार्टीको १० औं महाधिवेशनपछि उहाँ वरिष्ठ उपाध्यक्षमा चयन हुनुभएको छ ।

२०६४ सालको पहिलो संविधानसभा चुनावमा काठमाण्डौ क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्नुभएका पोखरेल अहिले पनि यसै क्षेत्रबाट उम्मेदवार बन्नु भएको छ । पोखरेल त्यसबेला कांग्रेसका नरहरि आचार्यसँग पराजित हुनुभएको थियो । दोस्रो संविधानसभाको चुनावमा पनि यसै क्षेत्रबाट उहाँ कांग्रेसकै आचार्यबाट पराजित हुनु भएको थियो भने २०७४ सालको आमचुनावमा भने उहाँले कांग्रेसका डा रामशरण महतलाई पराजित गर्नु भएको थियो ।  
केपी ओली नेतृत्वको २०७५ साल वैशाख १८ गतेको सरकार र बाबुराम भट्टराई नेतृत्वको २०६९ साल जेठ ८ गतेको सरकारमा पोखरेल उपप्रधानमन्त्री बन्नुभएको थियो । त्यसबाहेक २०६१ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पोखरेल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्नु भएको हो । २०७४ सालको चुनावपछि ओली नेतृत्वको सरकार बन्दा उहाँ उपप्रधानमन्त्री बन्नुभयो । २०७६ साल फागुन २१ गते ओली मिर्गौला प्रत्यारोपणका निम्ति अस्पताल भर्ना भएपछि पोखरेलले कार्यबाहक प्रधानमन्त्रीको भूमिका पाउनु भएको थियो ।