रामचन्द्र पौडेल

प्रतिनिधिसभा सदस्य
तनहुँ-१

(विजयी)

नेपाली काँग्रेस

उम्मेदवार परिचय
उम्मेदवारी दिँदाको उमेर
७८
प्राप्त मत
२५३६१
लिङ्ग
पुरुष
हालको पद
शैक्षिक योग्यता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जन्म २००१ साल असोज ३० गते तनहुँको रिस्तीमा भएको हो । दुर्गाप्रसाद पौडेल र ऋषिमाया पौडेलका छोरा रामचन्द्रले मानविकी संकायमा स्नातकोत्तर गर्नु भएको छ ।
पौडेलले विद्यार्थी हुँदा नै २०१७ सालदेखि राजनीति थाल्नुभएको हो । नेपाली राजनीतिका पाका नेतामध्येका एक पौडेल २०४६ सालको राजनीतिक परिवर्तन भएपछि भएका सबै चुनाव जित्ने थोरै नेतामध्ये एक हुनुहुन्छ । २०४८ सालमा तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव जित्नु भएका पौडेल २०५१ र २०५६ सालमा तनहुँ क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको थियो ।
२०६४ सालको संविधानसभा चुनावमा पनि उहाँ तनहुँ क्षेत्र नम्बर २ बाट विजयी हुनुभयो । २०६४ सालको चुनावपछि पौडेल संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलको नेता पनि हुनुभयो । संसदीय दलको नेता प्रधानमन्त्री बन्ने कांग्रेसको विधानअनुसार उहाँ पटक–पटक प्रधानमन्त्रीको उम्मेदवार बन्नुभयो । तर प्रधानमन्त्री बन्ने प्रयासमा १७ पटकसम्म एक्लो उम्मेदवार भएका पौडल प्रधानमन्त्री बन्न भने सक्नु भएन । नेपाली राजनीतिमा १७ पटक प्रधानमन्त्रीको उम्मेदवार बन्दा पनि प्रधानमन्त्री नभएको नेताका रुपमा उहाँको नाम दर्ज भएको छ ।
२०७० सालको दोस्रो संविधानसभा चुनावमा पनि उहाँ तनहुँको क्षेत्र नम्बर २ बाटै विजयी हुनुभयो । २०७४ सालको संघीय चुनावमा वाम गठबन्धनका कृष्णकुमार श्रेष्ठसँग तनहुँ १ मा पराजित हुनु भएका पौडेल यसपटक पनि यसै क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ । यसअघि उहाँलाई पराजित गर्ने कृष्णकुमार श्रेष्ठ अहिले नेकपा समाजवादीमा हुनुहुन्छ । र दुवै पार्टी अहिले सत्तागठबन्धनमा रहेका छन् । 
पौडेलले राजनीतिकै क्रममा पटक–पटक गरी १३ वर्ष जेल जीवन बिताउनु भएको छ । २०४८ सालको चुनावपछि बनेको नेपाली कांग्रेसको सरकारमा स्थानीय विकास मन्त्री बनेका पौडेल त्यसपछि सभामुख र उपप्रधानमन्त्री पनि बन्नु भयो । विभिन्न सरकारमा कृषि मन्त्री, शान्ति तथा पूनर्निर्माण मन्त्री भएका पौडेलको प्रधानमन्त्री बन्ने सपना भने अधुरै छ ।
नेपाली कांग्रेसमा अध्ययनशील नेता मानिने पौडेल कार्यकर्ताको संरक्षण गर्न नसक्ने नेताका रुपमा समेत परिचित हुनुहुन्छ । मध्यमार्गीको पहिचान बनाउन खोज्ने नेताका रुपमा आफूलाई स्थापित गर्न खोज्ने नेता पौडेल त्यसमा सफल भने हुन सक्नु भएको छैन । पदमा रहँदा आर्थिक विषयमा विवादमा नपरेका नेता पौडेललाई २०५१ सालमा स्थानीय विकास मन्त्री हुँदा तत्कालीन राष्ट्रिय सभा सदस्य गोल्छे सार्कीले आफू बोलिरहेका बेला जिस्क्याएको भन्दै संसदमै थप्पड हान्नुभएको थियो । पौडेलका ‘प्रजातान्त्रिक समाजवाद,’ ‘नयाँ सन्दर्भमा समाजवाद’ लगायत आधा दर्जन कृति प्रकाशित छन् ।