नेपालमै हरित उर्जा उत्पादन शुरु, पहिलोपटक हाइड्रोजनबाट कार गुड्यो

 चैत १९, २०८० सोमबार ९:०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा पहिलोपटक हरित ऊर्जा अर्थात ग्रीन हाइड्रोजन उत्पादनसँगै हाइड्रोजनबाट गाडी सञ्चालनमा आएको छ । काठमाण्डौ विश्वविद्यालय (केयू)को ग्रीन हाइड्रोजन ल्याबले अनुसन्धान प्रयोजनका लागि बनाएको धुलिखेलको स्टेसनबाट ग्रीन हाइड्रोजन उत्पादन गरेर कार चलाइएको हो । आफ्नै परिसरमा हाइड्रोजन रिफ्युलिङ स्टेशन बनाएर हाइड्रोजन इञ्जिनयुक्त कारमा हिजो हरित हाइड्रोजन भरेर गुडाइएको केयूले जनाएको छ ।

केयूले नेपालमा हरित हाइड्रोजनबारे अध्ययन तथा परीक्षण गर्नको लागि आफ्नै प्रविधिमा स्टेशन बनाएको हो । केयूका अनुसार अनुसन्धानका लागि आफ्नै आधारभूत डिजाइनको हाइड्रोजन कार गएको मंसिरमा कोरियाबाट ल्याइएको थियो । यसअघि केयूले प्रयोगशालामा प्रयोग गर्नको लागि थोरै हाइड्रोजन उत्पादन गरे पनि इन्धनका रूपमा उत्पादन गरेको थिएन ।

केयूको हाइड्रोजन ल्याबका प्रमुख सहप्राध्यापक डा. विराजसिंह थापाका अनुसार नेपालमा हाइड्रोजनको उत्पादनको लागि महत्त्वपूर्ण काम भएको छ, अब यसकै आधारमा निजी क्षेत्र तथा सरकारले व्यावसायिक स्टेसन बनाउन सक्छन् । विश्व बजारमा ग्रीन हाइड्रोजन नयाँ उर्जा हो । यसलाई शतप्रतिशत स्वच्छ उर्जा मानिन्छ । नेपालमा भने यो नयाँ प्रविधि हो । यस प्रविधिमा बिजुलीको माध्यमबाट पानीलाई टुक्राएर हाइड्रोजन उत्पादन गरिन्छ ।

विज्ञानको भाषामा इलेक्ट्रोलाइसिस प्रक्रियामार्फत पानीमा हुने अक्सिजन र हाइड्रोजन छुट्याइन्छ । यसरी उत्पादन भएको हाइड्रोजन दुईं दिनसम्म भण्डारण गर्न सकिन्छ । धुलिखेलमा रहेको केयूको स्टेशनमा अहिले दैनिक दुईं किलो हाइड्रोजन उत्पादन हुन्छ । यति इन्धनबाट एउटा कार दुईंसय किलोमिटर गुड्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

नेपालमा प्रशस्त मात्रामा पानी भएको र बिद्युत उत्पादन पनि बढ्दै गएकाले ग्रीन हाइड्रोजनको उत्पादन सम्भव भएको विज्ञहरुको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया