दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर सुधार, उद्योगबाहेक अरु क्षेत्र धनात्मक

 चैत २१, २०८० बुधबार ७:२५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात कात्तिक, मंसिर र पुसमा आर्थिक वृद्धिदरमा सुधार देखिएको सरकारी तथ्याङ्कले देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार दोस्रो त्रैमासमा चार प्रतिशतले आर्थिक वृद्धिदर भएको अनुमान छ ।

गएको आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर १ दशमलव १ प्रतिशतले ऋणात्मक थियो भने चालु वर्षको पहिलो त्रैमास अर्थात साउन, भदौ र असोजमा ३ दशमलव २ प्रतिशतको वृद्धिदर थियो । अर्थतन्त्रमा सबभन्दा ठूलो हिस्सा रहेको व्यापार क्षेत्रको वृद्धिदर कम र उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिदर ऋणात्मक भए पनि समग्र वृद्धिदर ४ प्रतिशतको पुग्ने देखिएको तथ्याङ्क कार्यालयको प्रारम्भिक प्रक्षेपण छ ।

व्यापार र उत्पादनमूलक उद्योग क्षेत्रबाहेक अरुमा सुधार देखिएकाले समग्र वृद्धिदर ४ प्रतिशत हुने आँकलन गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ । तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार धानलगायत अन्नबाली र अरु कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरीले आर्थिक वृद्धिदरमा सुधार ल्याएको हो ।

पछिल्लो समय आर्थिक क्रियाकलाप बढ्दै गए पनि औद्योगिक र व्यापार क्षेत्रको वृद्धि  भने सन्तोषजनक नरहेको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये १७ वटा औद्योगिक क्षेत्रहरूको कुल मूल्य अभिवृद्धि वृद्धिदर भने धनात्मक छ ।

यसमध्ये आवास तथा भोजन सेवासँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै २९ दशमलव ३ प्रतिशत वृद्धिदर छ भने विद्युत तथा ग्यास क्षेत्र १७ दशमलव १ प्रतिशत वृद्धिदर रहेको छ ।

यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर १४ दशमलव ३ प्रतिशत, खानी तथा उत्खनन क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ९ दशमलव ४ प्रतिशत रहने अनुमान छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया