लगानी सम्मेलनको ‘सोकेस’ मा एक सय ४८ परियोजना राखिदिन सरकारलाई बोर्डको प्रस्ताव

 बैशाख ११, २०८१ मंगलबार ७:५५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आउँदो वैशाख १६ र १७ गते काठमाण्डौमा हुने लगानी सम्मेलनमा एक सय ४८ वटा परियोजना सोकेसमा राखिदिन लगानी बोर्डले सरकारलाई प्रस्ताव गरेको छ । यसमध्ये निजी क्षेत्रका ३१ परियोजना छन् । त्यस्तै तीन तहका सरकार सम्मिलित परियोजना एक सय १७ वटा रहेको लगानी बोर्डले जनाएको छ ।

सङ्घ, प्रदेश, स्थानीय तह र निजी क्षेत्रका गरी ९ खर्ब रुपैयाँ बराबरका एक सय ४८ परियोजना सोकेसमा राखिदिन सरकारलाई प्रस्ताव गरिएको हो । अर्थमन्त्री वर्षमान पुनले लगानी प्रतिबद्धताअनुसार उपलब्धि कम देखिए पनि सरकारले पछिल्लो समय विभिन्न कानुनी, प्रक्रियागत तथा संरचनागत सुधार गरेकाले आन्तरिक र वैदेशिक लगानी बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

पहिलो र दोस्रो लगानी सम्मेलनबाट प्राप्त उपलब्धि तथा सिकाईले तेस्रो लगानी सम्मेलनलाई थप परिस्कृत बनाएको अर्थमन्त्री पुनको भनाई छ । नेपालमा लगानीमैत्री वातावरण बनाउन विभिन्न कानुन परिमार्जन तथा संरचनागत सुधार हुँदै गएको उहाँको तर्क छ । लगानी सम्मेलनअघि सबै राजनीतिक दल, विषयविज्ञ तथा सरोकारवालसँग पर्याप्त छलफल गर्ने र सम्मेलनमा आवद्ध गराउने उहाँले जानकारी दिनुभयो ।

निजी क्षेत्र र लगानीकर्ताको सुझाव समेटेर सरकारले अध्यादेशमार्फत् कानूनी सुधारको प्रयास गरेको मन्त्री पुनले बताउनुभयो । नेपालमा लगानीका लागि ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा कृषि प्रशोधनलगायतका क्षेत्र बढी उपयुक्त रहेकाले ती क्षेत्रमा लगानी गर्न उहाँले लगानीकर्तालाई आह्वान गर्नुभयो ।

नेपालको दुई ठूला छिमेकी मुलुक भारत र चीनसँग मित्रवत् सम्बन्ध रहेकाले यहाँको उत्पादन छिमेकी देशका बजारसम्म पुर्‍याउन समस्या नरहने बताउनुभयो । सम्मेलनमा विभिन्न विषयका १० वटा सत्रमा छलफल हुनेछ । सम्मेलनमा एक हजारभन्दा धेरै व्यक्तिको सहभागिता रहने अनुमान छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया