इलाम–२ मा उपचुनावको मतगणना शुरु, बझाङमा केहीबेरमा शुरु हुने

 बैशाख १६, २०८१ आइतबार १२:१५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपचुनावको मतगणना शुरु भएको छ । बिहान ७ बजेदेखि नै मतगणना गर्ने तयारी गरिएको भए पनि सर्वदलीय बैठक बस्न ढिलाइ भएकाले केहीबेरअघि मात्रै मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

इलाम नगरपालिका–७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ । गणनास्थलमा ११ वटा सीसीटीभी क्यामेरा जडान गरिएका छन् । मतगणनास्थलमा भीड हुन नदिन चोकबजारमा रहेको 'डिस्प्ले बोर्ड' मा परिणाम सार्वजनिक गरिँदैछ । मतपरिणाम एक/एक घण्टाको अन्तरालमा सार्वजनिक गर्ने घिमिरेले जानकारी दिनुभयो । हिजो सम्पन्न मतदानमा ५९ दशमलव ७९ प्रतिशत अर्थात् ६९ हजार २ सय ८७ मत खसेको छ ।

२०७९ साल मङ्सिर ४ गते भएको प्रतिनिधि सभा सदस्यको चुनावमा इलाम–२ बाट निर्वाचित नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त पदमा उपचुनाव भएको हो । उपचुनावमा १८ जना उम्मेदवार छन् ।

यस्तै बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर–१ (क) मा भएको उपचुनावको मतगणना केहीबेरमा शुरु हुँदैछ । आज बिहान ७ बजे मात्र साइपाल गाउँपालिकाको तीन वटा केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएकोले मतगणना केहीबेर पछि शुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतको भवनमा मतगणना हुने छ । हिजो भएको मतदानमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३ सय २८ मत खसेको छ । चुनावमा ११ दलका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपचुनाव भएको हो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया