लगानी सम्मेलनको दोस्रो दिन आज विभिन्न सत्रमा छलफल हुँदै

 बैशाख १७, २०८१ सोमबार ८:५६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौमा हिजोदेखि शुरु भएको तेस्रो लगानी सम्मेलनमा आज विभिन्न सत्रमा लगानीकर्तासँग छलफल हुँदैछ । आज अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम छ । ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयको छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्की लगायत सहभागी हुनेछन् ।

यस्तै, ‘नवप्रवर्तनीय आर्थिक परिदृश्य’ विषयक सत्रमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मुख्य वक्ता हुनुहुन्छ । ‘नेपालमा हरित र जलवायु अनुकूलन व्यवसायमा लगानीका अवसर’ विषयक सत्रमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लगानीकर्तासँग छलफल गर्ने कार्यक्रम छ ।

यस्तै ‘यातायात पूर्वधार सुधार’ विषयक सत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.संगीता सिंह, काठमाण्डौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापा र प्राध्यापक डा.सुरेशराज आचार्यलगायत सहभागी हुँदैछन् ।

अन्तिममा समापन सत्रमा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यतालिका छ । लगानी सम्मेलनको पहिलो दिन हिजो सरकार, प्रमुख प्रतिपक्ष दल र निजी क्षेत्रले नेपालमा लगानी गरी अवसरहरूको सदुपयोग गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूसँग आह्वान गरेका थिए । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया