मधेस प्रदेशमा सरकार गठनको गृहकार्य

 जेठ ४, २०८१ शुक्रबार ९:७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारका साझेदार दलले समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको गृहकार्य शुरु भएको छ । जसपाले आफ्नो नेतृत्वमा रहेको सरकारको निरन्तरताका लागि विभिन्न दलसँग संवाद गरिरहेको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेले समर्थन फिर्ता लिएपछि सरकार जोगाउन जसपाले अरु दलसँग संवाद तीव्र बनाएको हो । पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री र नेता दीपक कार्कीले राज्यमन्त्रीबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएर मधेशमा सरकार जोगाउन जोड गरिरहनुभएको छ । अध्यक्ष यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई उहाँकै निवासमा पुगेर सरकारलाई समर्थन गर्न आग्रह गर्नुभएको छ भने अन्य दलसँग पनि संवादका लागि पहल गरिरहनुभएको छ ।

सरकारलाई समर्थन गरिरहेको एकीकृत समाजवादीलाई साथमै राख्ने र सरकारबाहिर रहेका कांग्रेस, लोसपा, जनमत पार्टीलगायतलाई सरकारमा ल्याउन पहल भैरहेको जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिनुभयो ।

मधेस प्रदेशसभामा जसपाका १९ र नेकपा एकीकृत समाजवादीका सात सांसद छन । जसपा नेपालको नेतृत्वमा सरकार टिकाउन अझै २८ मत आवश्यक हुन्छ । जसपाले २२ मत रहेको नेपाली कांग्रेसको साथ खोजिरहेको छ तर कांग्रेसले भने आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गरिरहेको छ ।

मधेस प्रदेशमा एमालेको २५, कांग्रेसको २२, जसपा नेपालको १९, जनमत पार्टीको १३, लोसपा र माओवादी केन्द्रको नौ÷नौ, नेकपा एकीकृत समाजवादीको सात र नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एक–एक सांसद छन् ।

माओवादी केन्द्र र एमालेले पनि सरकार बनाउन पहल शुरु गरेका छन । यी दुई दलले पनि जसपा नेपालबाहेक अरु सबै दलसँग कुराकानी गरिरहेका छन । एमाले र माओवादीसँग जम्मा ३२ सिट छ । सरकार बनाउन यो पक्षलाई थप २२ सिटको आवश्यकता छ । 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया