मौरीपालनमा आकर्षण छ, व्यवसाय बढाउन सरकारको नीति छैन

 जेठ ४, २०८१ शुक्रबार १०:४३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा सिजनअनुसार मह उत्पादन हुन्छ । फापर, तोरी, मसला, चिउरी, रूदिलो, सिसौ, नीमलगायतका जङ्गली र खेती गरिएका स्रोतबाट १५ प्रकारका मह उत्पादन भइरहेको छ । महका धेरै प्रकार छन् र प्रकारअनुसार गुण पनि फरक–फरक छन् । तोरीको फूलबाट पाइने मह मीठो र लोकप्रिय हुन्छ । जबकी जङ्गली फूलको महको स्रोत बनस्पती हुने भएकाले यो मह खाँदा तीतो, टर्रो र कडा हुन सक्छ । फापरको महमा ग्लुकोजको मात्रा कम हुन्छ र मधुमेहका बिरामीका लागि उपयुक्त हुन्छ । महको स्वाद र स्वास्थ्य लाभ मौरीले सङ्कलन गर्ने फूलमा निर्भर गर्छ । 

महको प्रकारअनुसार यसको मूल्य पनि फरक पर्छ । बजारमा तोरीको महलाई प्रतिकिलो छ सय ४० रुपैयाँ, रुदिलो तथा अरू जङ्गली स्रोतबाट बनेको महलाई सात सय ४० रुपैयाँ, चिउरीको महलाई सात सय ९० रुपैयाँ, फाफर र लिचीको महलाई आठ सय ९० रुपैयाँ प्रतिकिलो पर्छ । अरू प्रकारका महलाई प्रतिकिलो आठ सयदेखि हजार रुपैयाँसम्म पर्ने गर्छ । नेपालको मध्य पहाडी र तराई क्षेत्रमा मैरीपालन व्यवसाय धेरै हुने गरेको छ । सर्लाही, चितवन, दाङ र मोरङ जस्ता क्षेत्र महका लागि विशेष रूपमा परिचित छन् ।

बजारमा मह किन्ने मात्रै होइन मह उत्पादन गर्नेको सङ्ख्या पनि बढेको छ । त्यसैमध्येका एक हुनुहुन्छ, नवलपरासी गैंडाकोटका सन्देश गौतम । उहाँले सागर मौरीपालन उद्योग चलाइरहनु भएको छ । २७ वर्ष पहिले हजुरबुवाले दुई वटा घारबाट शुरु गरेको मौरी पालन अहिलेसम्म आइपुग्दा सात सय गोलाभन्दा बढी छन् । वार्षिक एक हजार मैरीका गोला आफैले उत्पादन गरेर बिक्री गर्नुहुन्छ । मौरीपालनमा चाहिने घारदेखि अरू सामान पनि बनाउनुहुन्छ । साथै मौरीपालन तालिम पनि दिनुहुन्छ । 

अहिले तोरी, फापर, रुदिलो, चिउरी, लिची, सिसौ, जामुनको सात थरी मह उत्पादन गर्नुहुन्छ । वार्षिक १५ टन अर्थात् १५ सय किलोग्राम मह उत्पादन गर्नुहुन्छ । अरू किसानको मह सङ्कलन गरेर ४० टन मह बेच्नु हुन्छ । उद्योगमा १६ जना स्थायी कर्मचारी र अप्रत्यक्ष रूपमा पाँच सयभन्दा धेरैलाई रोजगारीसमेत दिइरहनु भएको छ ।  ‘मौरी पालन व्यावसाय गर्न खासै ठूलो लगानीको आवश्यकता पर्दैन । अरू कृषि पेशामा जस्तै चौबीसै घण्टा खटिनु पर्दैन । फुर्सद भएको बेला दिनमा दुई चार घण्टा समय दिए मात्रै पुग्छ । लगानी एकचोटी शुरुमा हुन्छ । त्यसपछिको तीनदेखि पाँच वर्षसम्मलाई आम्दानी लिन सकिन्छ’, गौतम भन्नुहुन्छ, ‘एकचोटी लगानी गरेपछि वार्षिक उत्पादन हुन्छ र एक वर्षमै लगानी उठिसक्छ । हाम्रो पनि औसतमा वार्षिक पाँच करोड रुपैयाँ बराबरको कारोबार भइरहेको छ ।’

मौरीपालन व्यवसायमा समर्पण र निरन्तर हेरचाह चाहिन्छ । व्यावसायिक मौरीपालन गर्न उचित र उपयुक्त चरन क्षेत्रको आवश्यकता पर्छ । वर्षभरी नेपालका विभिन्न ठाउँमा थरीथरीका फूल फुल्छन् । दाङ, रोल्पा र प्युठानमा भदौ, कात्तिक र मंसिरमा तोरी फुल्छ । जाडो नजिकिएसँगै अर्थात् मङ्सिर पुसमा तोरी तराई क्षेत्र भैरहवा, नवपरासी, कविलवस्तु र चितवनमा फुल्छ । पुसमा महिनामा तराईका जङ्गलमा रुदिलो, सिसौ, असारे फूल फुल्छन् भने पुसमै चितवन र मकवानपुरमा चिउरी फुल्छ । अन्तमा वैशाखमा जामुन र पडकेलगायत जङ्गली फूल र पालुवा मैरी चरनको क्षेत्र बन्छ । यसरी मौसमअनुसार मौरीलाई विभिन्न ठाउँमा चराउने गरिन्छ ।

वर्षाको मौसम अर्थात् जेठ, असारमा थोरै फूल फुल्ने र पानीले फूलको रसलाई बगाएर लैजाने भएकाले मौरीलाई खाना खोज्न संघर्ष गर्नुपर्छ । मौरीलाई बचाउनको लागि किसानले प्रायः यस समयमा पुरकको रूपमा चिनीपानी खुवाउने गर्छन् । फूलको अभावले मह उत्पादन पनि कम हुन्छ वा पुरै बन्द हुन्छ । यही कारणले गर्दा व्यावसायिक मौरीपालकले व्यावसायलाई सावधानीपूर्वक व्यवस्थापन गर्न र वर्षभरी राम्रो चरन क्षेत्रमा पहुँच सुनिश्चित गर्न सक्नुपर्छ।

मौरी पाल्न सहज हुँदाहुँदै पनि यसमा जोखिम पनि छ । मौरीलाई रोगकिराले सखाप पार्न सक्छ । चरन क्षेत्रको अभाव भए वा कतै चराउन लैजाँदै गर्दा ढिला भयो भने घारभित्रै गुम्सिएर मर्ने सम्भावना पनि रहन्छ । त्यसैले मौरीपालन व्यवसाय शुरु गर्नु पहिले आधारभूत तालिम लिनुपर्छ । १५ वर्षअघि वैदेशिक रोजगारीको सट्टा मौरीपालनमा लागेका कैलालीको गौरीगङ्गाका मोहनराज खनालको अनुभव पनि यस्तै छ ।

अहिले उहाँले वार्षिक डेढ, दुई सय मौरीको घार उत्पादन गरेर बिक्री गर्नुहुन्छ । मह र अरू उपकरण पनि बिक्री गर्नुहुन्छ । १५ वर्ष पहिले एउटा मौरीको घारबाट शुरु गरेको व्यवसाय अहिले ८० लाख रुपैयाँ बराबरको भएको छ । अहिले उहाँले वार्षिक पाँच सय किलो मह उत्पादन गरिहनुभएको छ । यसरी औसतमा वार्षिक १४ देखि १५ लाख रुपैयाँसम्मको कमाई गर्नुहुन्छ । एउटा घारबाटै वार्षिक २५ देखि ४० किलोसम्मको मह उत्पादन हुन्छ ।

उहाँको व्यवसाय फस्टाएको छ तर अझै पनि भनेजस्तो बजार नपाएको उहाँको गुनासो छ । ‘चरन क्षेत्रको अभाव र बजारीकरणको आवश्यकता छ । यसले कृषकलाई निरुत्साहित पारेको छ । नेपालमा भारतीय महले बजार लिइरहेको छ । भारत सरकारले पूर्ण अनुदान दिएकाले त्यहाँ मह सस्तोमा पाइन्छ । तर नेपालमा किसानले आफ्नै लगानीमा सबै व्यवसाय चलाउनुपर्छ । त्यसैले नेपाली मह भारतीयभन्दा एक डेढ सय रुपैयाँ महङ्गो पर्छ । जसका कारण नेपाली महले बजार पाएको छैन । राम्रो बजार हुने हो भने करोडौँको लगानी गर्न सकिन्छ’ खनालले भन्नुभयो । 

नेपालमा झन्डै दुई लाख  किसानले व्यवसायिक मौरीपालन गरिरहेका छन् । अरू स्रोत र फूलको रसबाट बनेको मह जस्तै अग्ला पहाडमा पाइने भीरमौरीको महको माग पनि बढ्दो छ । भीरमौरीको मह पाउन त्यति सजिलो भने छैन । यसको मह सङ्कलन गर्न पनि निकै कठिन हुन्छ । ठाडो चट्टानमा चढ्न बाँस, बलियो डोरी र हातले बनाएको भर्‍याङ प्रयोग गरिन्छ । मौरीलाई शान्त पार्न धुवाँ र टोकाइबाट जोगिन बाक्लो कपडा लगाउने गरिन्छ । घारमा पुगेपछि, सन्तुलन राख्दै, महको चाका सावधानीपूर्वक काटिन्छ । सङ्कलन गरिएको महलाई भाँडोमा भण्डारण गरिन्छ । यो अभ्यासको लागि ठूलो कौशल र साहस चाहिन्छ । 

‘गैरव्यावसायिक रूपमा उत्पादन हुने भीर मौरीको मह मूल्यवान हुन्छ । यो व्यावसायिक नभएकाले यसको मूल्य पनि व्यक्तिअनुसार फरक पर्छ,’ १८ वर्षदेखि भीरमौरी सङ्कलन गर्दै बेचिरहनुभएकी रुकुम मैकोटकी संगिता गुरुङ भन्नुहुन्छ, ‘मैले भीर मौरीको मह किलोको ३७ सय रुपैयाँमा बेचिरहेकी छु । यसको नेपाली बजारमा जस्तै विदेशबाट पनि राम्रो माग आउँछ । यसबाट कमाई पनि राम्रै हुन्छ । एक चोटीमा ३० किलोभन्दा बढी मह सङ्कलन हुन्छ । प्रशोधन गरेर बजारसम्म पुग्दा यसको भाउ महङ्गो हुन्छ । तर व्यवसायिक तरिकाले उत्पादन गरिएको महलेभन्दा धेरै लाभ दिन्छ ।’

तथ्याङ्कअनुसार नेपालमा वार्षिक १५ लाख किलो मह उत्पादन भए पनि आन्तरिक खपत आठ लाख किलो मात्रै छ । जबकी बजारमा महको खपत २५ लाख किलो हुने गरेको तथ्याङ्कले देखाउँछ । मौरीका लागि सीमित ठाउँ, बजारीकरणको अभाव र शुद्ध मह छुट्याउनमा कठिनाइले मौरीपालनलाई निरूत्साहित गरिरहेको छ । सस्तो आयातित भारतीय महले बजार लिएको छ । अरू सामान्य महलाई नेपाली बजारमा किलोको चार सय ५० रुपैयाँ पर्छ । तर भारतीय मह किलोको तीन सय रुपैयाँमै पाइन्छ । नेपालमा भण्डारणको व्यवस्था नहुँदा कतिपय किसानको मह घरमै नष्ट भैरहेको छ ।

नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घका अध्यक्ष जानुका थापा सरकारले भारतीय महलाई भन्दा स्वदेशी महलाई नै बढी प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ । त्यसपछि स्वदेशी महको खपत बढ्ने उहाँको भनाई छ । ‘नक्कली मह बनाउने गिरोह पनि छन् । यसको लागि राज्यले ल्याब टेस्टको व्यवस्था गरिदिनुपर्छ’ थापा भन्नुहुन्छ ।

अध्यक्ष थापाकाअनुसार खेर गैरहेको पुष्परस सङ्गलन गरेर आर्थिक रूपमा राज्यलाई टेवा दिने व्यवसाय भएकाले सरकारले प्राथमिकता दिनुपर्छ । गुणस्तरीय परीक्षण सुविधा र विशेषगरी सीमित स्रोतसाधन भएकाले मौरीपालनलाई आम्दानीको श्रोतका रूपमा प्रोत्साहित गर्ने नीति आवश्यक छ । 

‘मौरीपालन व्यावसाय विपन्न र भूमीहीनले पनि गर्न सक्ने व्यावसाय हो । सरकारले यसको लागि उचित नीति नियम बनाएर विदेश जानेलाई मौरीपालनमा आकर्षण बढाउन सक्ने हो भने राम्रो अवसर पनि छ,’ अध्यक्ष थापा भन्नुहुन्छ । 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया