गाडी कर्जाको जोखिम भार घट्यो, घरजग्गामा पनि खुकुलो नीति

 जेठ ४, २०८१ शुक्रबार १२:३५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै गाडी कर्जाको जोखिमभार घटाएको छ भने घरजग्गाको कर्जामा केही सहज बनाएको छ ।

राष्ट्र बैंकले 'हायर पर्चेज' प्रकृतिका गाडीमा कर्जाको जोखिमभार एक सय प्रतिशतमा झारेको छ । यसअघि त्यस्तो जोखिम भार एक सय २५ प्रतिशत थियो । लक्ष्यको तुलनामा निकै कम कर्जा विस्तार भएपछि राष्ट्र बैंकले लचकता अपनाएको हो । केन्द्रीय बैंकले ११ दशमलव पाँच प्रतिशतले कर्जा विस्तारको लक्ष्य लिएकोमा साढे चार प्रतिशतभन्दा बढ्न सकेको छैन ।

राष्ट्र बैंकले घरजग्गामा प्रवाह हुने ऋणमा पनि खुकुलो नीति लिएको छ । घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने राष्ट्र बैंकले जनाएको छ । यसबाट घरजग्गाको कारोबार बढ्ने राष्ट्र बैंकको विश्वास छ ।

बैंक तथा वित्तीय संस्थाको पूँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरू प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत जनाएको छ । यो व्यवस्थाले पूँजीकोषको दबाबमा रहेका बैंकलाई ऋण लगानी गर्न सहज हुनेछ ।

असल वर्गमा वर्गीकरण भएका कर्जाका लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था एक दशमलव २५ प्रतिशतबाट एक दशमलव २० प्रतिशतमा झारिएको छ । चाँदी आयात तथा बिक्री/वितरणसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ ।

वार्षिक मौद्रिक नीतिमा लिइएको लचिलो कार्यदिशालाई तेस्रो त्रैमासिक समीक्षामा पनि निरन्तरता दिएको उल्लेख छ । ‘आन्तरिक तथा बाह्य आर्थिक स्थिति र परिदृश्यसमेतका आधारमा विद्यमान पाँच दशमलव पाँच प्रतिशतको नीतिगत दर, ब्याजदर करिडोरअन्तर्गतको तीन प्रतिशतको निक्षेप सङ्कलन दर र सात प्रतिशतको बैंक दरलाई यथावत् राखिएको छ, मौद्रिक नीतिको समीक्षामा भनिएको छ, ‘विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत् राखिएको छ ।’

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया