प्रधानमन्त्रीले कांग्रेस नेतासँग छलफल गर्दै, संसदीय छानबिन समिति बनाउनुपर्ने मागमा विपक्षी दल एकमत

 जेठ ४, २०८१ शुक्रबार १४:५९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाउनुभएकाे कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणमा कांग्रेसले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ । यसमा सहमति जुट्न नसक्दा सङ्घीय संसद् प्रभावित हुँदै आएको छ ।

यसैबीच सहकारी प्रकरणलाई लिएर संसदीय छानबिन समिति बनाउनुपर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन् । प्रमुख प्रतिपक्ष दल कांग्रेसको पहलमा आज बसेको विपक्षी दलका शीर्ष नेताहरूको बैठकले छानबिन समिति बनाउन माग गर्ने निर्णय गरेको हो ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको आरोप लगाउँदै कांग्रेसले यसअघि नै संसदीय छानबिन समितिको माग गर्दै आएको थियो । यही मागमा अब अरू विपक्षी दलले पनि कांग्रेसलाई साथ दिने भएका छन् । आजको छलफलमा कांग्रेससहित राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता सहभागी थिए ।

यस्तै सभामुख देवराज घिमिरेसँग भएको विपक्षी दलका नेताहरूको बैठकमा उनीहरूले सभामुखलाई निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । हिजो बसेको संसद् बैठकमा सत्तारूढ र विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूबीच धकेलाधकेल भएको थियो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया