उखरमाउलो गर्मी विपद् हो भन्ने कुरा पालिकाले बुझ्नुपर्छ

 जेठ ४, २०८१ शुक्रबार १८:२१:८ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

फाइल फाेटाे

तराई मधेशका जिल्लामा फेरि गर्मी बढेको छ । वैशाखको अन्तिम हप्ता पानी परेपछि उखरमाउलो गर्मी घटेर राहत मिलेको तराई मधेशमा हिजो बिहीवारदेखि फेरि गर्मी बढेको हो । आज तराई मधेशका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा पुग्यो । बिहीवार पनि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसकै आसपासमा थियो ।

आजदेखि चार दिनसम्म तराई मधेशमा ताक्रमम बढेर तातो हावाको लहर अर्थात 'लू' चल्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक एवम् मौसमविद् डा. विनोद पोखेरलले बताउनुभयो । दुई हप्ताभन्दा बढी समय उखरमाउलो गर्मी सहन बाध्य भएका तराई मधेशका बासिन्दा शीतल महसुस भएको दुई हप्ता नपुग्दै फेरि गर्मीका कारण आउने समस्या भोग्न बाध्य भएका छन् ।

गर्मीले शरीरमा हुनसक्ने असरहरू–

  • पर्याप्त पानी नपिउँदा वा शरीरमा पानीको कमी भएर रिंगटा लाग्छ र मुर्छा परिएलाजस्तो हुन्छ ।
  • शरीरले परिश्रम धेरै गर्नुपर्दा मुटुको ढुकढुकी बढ्छ ।
  • शरीरले छालाबाट ताप फाल्दा रातो डाम देखा पर्छ ।
  • छालाबाट धेरै पसिना निस्कन्छ ।
  • रगतको प्रवाह बढ्दा कुर्कुच्चा सुन्निन सक्छ ।

 

गर्मी बढेसँगै अस्पतालहरूमा ज्वरो र झाडापखालाका बिरामी बढेका नेपालगञ्जको भेरी अस्पतालका डाक्टर संकेतकुमार रिसाल बताउनुहुन्छ । उहाँका अनुसार गर्मी धेरै भएमा मुर्छा पर्ने, मस्तिष्कघात भएर अपाङ्गता हुने तथा ज्यानै जाने जोखिम पनि रहन्छ । यस्तै पछिल्ला वर्षहरूमा गर्मी धेरै बढ्दा नेपालगञ्जको भेरी अस्पतालमा दमका बिरामीसमेत बढेका डाक्टर रिसाल बताउनुहुन्छ । दमका बिरामी प्रायजसो चिसोमा बढ्छन् । तर कोभिड–१९ को सङ्क्रमणका कारण धेरैको फोक्सोमा असर पुगेकाले कोभिड–१९ को सङ्क्रमणले बढी थला परेकाहरूमा गर्मीमा पनि दमको समस्या धेरै देखिएको रिसाल बताउनुहुन्छ ।

शीतल बनाउने र सुरक्षित रहने उपायहरू–

  • प्रशस्त पानी र पानीको मात्रा धेरै हुने खानेकुरा खाने
  • हावा छिर्ने खुकुलो लुगा र टोपी लगाउने
  • छायामा बस्ने, धेरै यात्रा वा शारीरिक अभ्यास नगर्ने
  • शरीरको तापक्रम घटाउन पङ्खा र बरफ प्रयोग गर्ने, चिसो पानीले नुहाउने

 

भेरी अस्पतालका डाक्टर संकेतकुमार रिसाल गर्मी धेरै बढेको समयमा सकेसम्म घरबाहिर ननिस्कन सुझाव दिनुहुन्छ । चर्को घाम शरीरमा सिधै पर्दा बढी असर गर्छ भने तातो हावाको लहर बाहिरी वातावरणमा बढी हुन्छ । बाहिर निस्कनै परेमा टाउको ढाकेर मात्र निस्कन, सकेसम्म शीतल ठाउँमा बस्न, मास्क र कालो चस्मा लगाउन र पटक–पटक पानी वा पानीको मात्रा धेरै हुने खानेकुरा खान डाक्टर रिसालको सुझाव छ ।

पालिका संवेदनशील हुनुपर्छ

गर्मी बढ्नु पनि एक प्रकारको विपद् हो । यसबाट बिरामी हुने, मस्तिष्कघात भएर अपाङ्गता हुने वा ज्यानै जानेसम्मको खतरा हुन्छ । त्यसैले गर्मीका कारण हुनसक्ने जोखिम रोक्न पहल गर्नुपर्छ । सबैभन्दा नजिकको सरकार भएकाले पालिका सरकार बढी संवेदनशील हुनुपर्छ । तर केही पालिकाले गर्मीबाट स्थानीयलाई बचाउन प्रयास गरे पनि धेरैजसो पालिकाले गर्मीलाई समस्याको रूपमा लिएको पाइँदैन ।

कपिलवस्तुको तौलिहवामा हिजो अधिकतम तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस पुग्यो । आज पनि अधिकतम तापक्रम ४० डिग्रीभन्दा धेरै छ । तर तौलिहवामा रहेको कपिलवस्तु नगरपालिकाले गर्मीको असरबाट बचाउनेबारे केही कार्यक्रम ल्याएको छैन । नगरपालिकाका सूचना अधिकारी हरिप्रसाद ज्ञवाली गर्मी धेरै बढेमा विद्यालय बन्द गर्नेजस्ता काम हुने भए पनि तत्काल सचेतनामूलकलगायत केही कार्यक्रम नभएको बताउनुहुन्छ ।

पालिकाले स्थानीयवासीलाई सचेत बनाउन पहल गर्नुपर्ने डाक्टर रिसालको सुझाव छ । पालिका सरकारको पहुँच हरेक बस्ती तथा घर–घरसम्म हुने भएकाले गर्मी बढ्ने पूर्वानुमानबारे जानकारीसहित गर्मीका बेला गर्न नहुने र गर्नैपर्ने कामहरूबारे स्थानीयलाई जानकारी दिनुपर्ने रिसालकाे सुझाव छ । गर्मीलाई पालिकाले विपदका रूपमा बुझ्नुपर्ने उहाँ बताउनुहुन्छ ।

गर्मी धेरै बढ्ने अनुमानलाई आधार बनाएर विद्यालयमा बिदा दिने, आवश्यकताअनुसार अरू कार्यालहरूमा पनि बिदा दिने, बाटोमा हिँड्नेहरूलाई पानी तथा सर्बतकाे व्यवस्था गर्ने, कोही बाटो वा सार्वजनिक ठाउँमा गर्मीका कारण बिरामी परेका तत्काल अस्पताल लैजानेजस्ता काममा पनि पालिकाले ध्यान दिन जरुरी छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया