आज पनि तराई मधेशमा उच्च गर्मी, पश्चिम तराईमा अझै केही दिन गर्मी बढ्ने

 जेठ ५, २०८१ शनिबार १८:१५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । आज पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्यो भने पूर्वी तराईमा पनि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसकै आसपासमा पुगेको छ ।

तराई मधेशका धेरै जिल्लामा न्यूनतम तापक्रम पनि २७–२८ डिग्री सेल्सियसको आसपासमा रहेकाले रातमा पनि अत्याधिक गर्मी हुने गरेको छ । तराई मधेशका जिल्लामा तातो हावाको लहर अझै केही दिन चल्ने देखिएको छ ।

मौसम तथा जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेती अझै केही दिन तराई मधेशमा गर्मी बढ्ने र कतिपय ठाउँमा अधिकतम तापक्रम ४४ देखि ४५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको बताउनुहुन्छ । तराई मधेशमा तातो रातको अबस्था पनि बढ्ने देखिएको उहाँले बताउनुभयो ।

तापक्रम बढेपछि शरीरमा पसिना आउने, पानीको कमी हुने, रगत जम्ने, घाँटीमा समस्या आउने, आँखा र छालामा समस्या आउने तथा कतिपयलाई हिट स्ट्रोक भएर मुर्छा पर्ने, अपाङ्गता हुने तथा ज्यान जाने खतरा हुने स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक समीरकुमार अधिकारीले बताउनुभयो ।

संयुक्त राष्ट्रसंघको विपद जोखिम न्यूनिकरण कार्यालयले तातो हावाको लहर अर्थात् 'लू' लाई जलवायुजन्य विपद मानेको छ । तर नेपालमा केन्द्रीय स्तरमा तथा पालिकामा आवश्यक पूर्व तयारी पाइँदैन । मौसम पूर्वानुमान महाशाखाले भने तापक्रम वृद्धिको पूर्वानुमानको आधारमा सावधानी अपनाउन आग्रह गर्दै आएको छ । तर धेरै विज्ञले 'लू' को अवस्था आएको बताइरहँदा पनि जल तथा मौसम विज्ञान विभागले 'लू’ चलेको घोषणा गरेको पाइँदैन ।

विभागकी सूचना अधिकारी एवम् वरिष्ठ मौसमविद् विभूती पोखरेल तोकिएको मापदण्ड पूरा भएमा 'लू' घोषणा हुने बताउनुहुन्छ । तर कति तापक्रम पुग्नुलाई 'लू' भन्ने मापदण्डका बारेमा विज्ञबीच एक मत पाइँदैन । जलवायु विपद् विज्ञ डाक्टर धर्मराज उप्रेती गर्मी धेरै भएको बेलामा तिर्खा नलागे पनि शुद्ध पानी प्रशस्त पिउन, उपलब्ध भएसम्म दही, मोही, सर्वत, कागती पानी पिउन, ताजा फलफुल खान, दिउँसो घाममा ननिस्कन र घर बाहिर निस्किँदा टाउको छोप्नुको साथै पातलो सुतिको कपडा प्रयोग गर्न सुझाव दिनुहुन्छ । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया