संसदीय छानबिन समितिमा गृहमन्त्रीकाे नाम राख्ने/नराख्ने विषयमा दलहरूबीच सहमति हुन सकेन

 जेठ ६, २०८१ आइतबार १७:५९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सहकारी संस्थाको रकम ठगीको विषयमा छानबिन गर्ने संसदीय समितिको बारेमा दलहरूबीच आज पनि सहमति हुन सकेको छैन ।

बिहानैदेखि दुईपक्षीय र बहुपक्षीय छलफल भए पनि दलहरूबीच सहमति हुन नसकेको हो । छानबिन समिति बनाउनका लागि कार्यादेश तय गर्न दलहरूबीच हिजै कार्यदल गठनको सहमति भएको थियो । तर कार्यदलले आज  पनि कार्यादेश टुङ्गो लगाउन सकेन ।

नेपाली कांग्रेसले संसदीय समितिमा गृहमन्त्री रवि लामिछानेकै नाम जोडेर अनुसन्धान हुनुपर्ने अडान लिएको छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीले भने लामिछानेको नाम उल्लेख हुन नहुने र समस्याग्रस्त सबै सहकारीको एकमुष्ट छानबिन हुनुपर्ने बताएको छ ।

बिहान भएको छलफलमा छानबिन समितिमा गृहमन्त्री लामिछानेको नाम उल्लेख नगर्ने तर उहाँ संलग्न भएको सहकारीको नाम उल्लेख गर्ने सहमति भएको थियो । तर दिउँसो नेपाली कांग्रेसले आन्तरिक बैठक बसेर रवि लामिछानेकै नाम किटान गरेर अनुसन्धान हुनुपर्ने अडान दोहोर्‍याएपछि सहमति हुन नसकेको हो ।

दलहरूबीच सहमति हुन नसक्दा आज पनि संसद् बैठक स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सरेको थियो तर ४ बजे पनि सहमति हुन नसकेपछि बैठक भोलिसम्मका लागि सरेको हो । लामो समयदेखि नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

यसैबीच दलहरूबीच सहमति नजुटेकाले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची पनि प्रभावित हुने देखिएको छ । जनता समाजवादी पार्टी नेपाल फुटेपछि उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिनुभएको छ । त्यसैले भोलि प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो । तर आजसम्म दलहरूबीच सहमति नजुटेकाले भोलि प्रचण्डले विश्वासको मत लिने कार्यसूची नै प्रभावित हुने देखिएको हो ।

प्रधानमन्त्री प्रचण्डले डेढ वर्षको अवधिमा भोलि चौथो पटक विश्वासको मत लिन लाग्नुभएको हो । उहाँले यसअघि तीन पटक विश्वासको मत लिइसक्नुभएको छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया