कांग्रेसले भन्याे– ‘सरकार निरङ्कुश भयाे, सभामुख पार्टीकाे कार्यकर्ताका रूपमा प्रस्तुत भए’

 जेठ ७, २०८१ सोमबार १५:४५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले सरकार लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार, असहिष्णु र अनुदार भएको आरोप लगाएको छ ।

आज सोमवार संसद् भवनमा रहेकाे ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछिको पत्रकार सम्मेलनमा प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेससहित सबै विपक्षी दलहरूले सहकारी अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै स्वतन्त्र, निष्पक्ष, पारदर्शी छानबिनको सुनिश्चितताका लागि संसदीय समिति बनाउन माग गरे पनि सरकार त्यसमा तयार नभएको बताउनुभयो । उहाँले सत्तापक्ष, सरकार देशभरका सहकारीका ठगीबाट पीडित नागरिकप्रति उदासिन र गैरजिम्मेवार भएकाे आराेप लगाउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘नेपाली कांग्रेससहित सङ्घीय संसदमा रहेका सबै विपक्षी दलहरूले लाखाैँ नेपाली नागरिकको अर्बाैँ रुपैयाँ अपचलन, हिनामिना, दुरुपयोग र ठगी भएको विषय र त्यसमा सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने स्वयम् संलग्न रहेको विषयमा स्वतन्त्र, निष्पक्ष, पारदर्शी छानबिनको सुनिश्चितताका लागि संसदीय समितिको माग गरेका थियौँ । तर सत्तापक्ष, सरकार देशभरका सहकारीका ठगीबाट पीडित नागरिकप्रति उदासिन र गैरजिम्मेवार हुँदै सहकारी ठगी गर्ने केही व्यक्तिलाई बचाउन लोकतन्त्र, मूल्य मान्यता, परम्परा सबैलाई कमजोर बनाइरहेकाे छ ।’

लेखकले सत्तापक्षमा निरङ्कुशताको मनोवृत्ति हाबी भएको भन्दै बहुमतको दम्भमा सरकारले आजै विश्वासको मत लिने कुरा नेपालको संसदीय इतिहासमा नौलो र दुःखदायी घटना भएको उल्लेख गर्नुभयाे ।

प्रमुख सचेतक लेखकले संसदमा सबैभन्दा पहिला बोल्नका लागि विपक्षी दलले प्राथमिकता पाउने भए पनि आजको बैठकमा सभामुखले समय नदिएकाे गुनासाे गर्नुभयाे । उहाँले सभामुख देवराज घिमिरेले पार्टी विशेषको कार्यकर्ताको रूपमा प्रस्तुत हुनेगरी कारबाही अघि बढाएको आराेप लगाउनुभयाे । उहाँले लोकतन्त्र र संसदीय मूल्य र मान्यता विपरीत नजान सरकारलाई चेतावनी दिनुभयो ।

‘प्रतिनिधि सभामा देखापरेको आजको दृश्यले सभामुखको भूमिका पनि पदीय गरिमा अनुकूल नभएको ठहर गरेका छौँ । कुनै एउटा पार्टी विशेषको कार्यकर्ताको रूपमा प्रस्तुत हुने कुरा सभामुखका लागि राम्रो हुँदैन ।’

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया