१० महिनामा ११ खर्बभन्दा धेरै व्यापार घाटा, २४ अर्ब रुपैयाँ बराबरको मोबाइल फोन आयात

 जेठ ७, २०८१ सोमबार १८:२३:१२ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – चालु आर्थिक वर्षको १० महिनामा नेपालले रु ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ बराबर व्यापार घाटा बेहाेरेकाे छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि वैशाख मसान्तसम्ममा १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको थियो भने एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।

विभागका अनुसार १० महिनामा १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो अवधिको कुल वैदेशिक व्यापार गएकाे आर्थिक वर्षको यही अवधिको तुलनामा दुई दशमलव ५० प्रतिशतले घटेको हो । गएकाे आर्थिक वर्षको १० महिनाको तुलनामा आयात दुई दशमलव ३९ र निर्यात तीन दशमलव ६१ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा भारतसँग नेपालले सात खर्ब २९ अर्ब ७० करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहाेरेको छ । भारतबाट आठ खर्ब १५ अर्ब ७२ करोडको आयात र ८६ अर्ब रुपैयाँको निर्यात भएको छ । नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार छिमेकी देश चीनसँगको व्यापार घाटा दुई खर्ब ३८ अर्ब ५५ करोड रुपैयाँ बराबर रहेको छ । १० महिनामा चीनसँग दुई खर्ब ४० अर्ब ८३ करोड बराबरको आयात हुँदा २२ अर्ब ७४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । यो अवधिमा एक खर्ब १५ अर्ब ६७ करोड बराबरको पेट्राेल, ५६ अर्ब ८० करोड बराबरको डिजेल र रु ४६ अर्ब रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ । यही अवधिमा २४ अर्ब एक करोड रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको छ ।

नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट आठ अर्ब ७९ करोड, अलैँची छ अर्ब ९१ करोड, फलामजन्य वस्तु पाँच अर्ब ५२ करोड र पाम आयल पाँच अर्ब ६० करोड रुपैयाँ बराबर छ ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया