आमाले सिकाएको सीपले अल्लो उद्यमी

 जेठ १०, २०८१ बिहीबार १५:४४:४५ | सीता बि.के.
unn.prixa.net

प्रेमकुमारी पुन शिक्षिकाबाट अल्लो उद्यमी भनेर परिचय फेरिएको २१ वर्ष भयो । रोल्पाको विकट गाउँमा छ दशकअघि उहाँको जन्म भयो । अहिलेको परिर्वतन गाउँपालिकामा प्रेमकुमारीकाे जन्म भएकाे हाे । परिवर्तनका लागि भनेर तत्कालीन माओवादीले शुरु गरेको सशस्त्र युद्धले उहाँको पेसा र बसाइमात्रै परिवर्तन गराएन जीवन नै परिवर्तन गरायो । उहाँ र उहाँका श्रीमान् गाउँमै पढाउनु हुन्थ्यो । पाँच जनाको परिवारलाई पुग्दाे थियो । शिक्षण पेसामा रमाएकी प्रेमकुमारीले उद्यमी बन्छु भनेर कहिलै सोच्नु भएको थिएन । तर कहिलेकाहीँ नसोचेको कुरा पनि हुन्छ भनेझैँ उहाँले शिक्षण पेसा मात्रै होइन गाउँघर नै छोडेर विस्थापित हुनुपर्‍यो । बाध्यताले फेरियो प्रेमकुमारीको परिचय । शिक्षिकाबाट पूर्वशिक्षिका र अल्लो उद्यमी ।

नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ सङ्घर्ष

माओवादी पक्ष र तत्कालीन सरकारको द्वन्द्वका कारण प्रेमकुमारी २०६० सालमा रोल्पाबाट विस्थापित भई दाङ झर्नुपर्‍यो । विगत सम्झिँदै प्रेमकुमारी भन्नुहुन्छ, ‘घरपायक मिलेको जागिर, खेतीपाती, गाईवस्तु सबै थियो, सबै कुरा राम्रै चलेको थियो, जब द्वन्द्वकाल शुरु भयो तब मेरो जीवनमा नै निकै उथलपुथल भयो, दुवै जना स्थायी जागिरे थियौँ, बीचैमा सबै कुरा छोडेर विस्थापित हुनुपर्‍यो । जुन कुरा मेरो कल्पना बाहिरको कुरा थियो ।’

रोल्पाबाट विस्थापित भएर प्रेमकुमारीको बसाइ दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा भयो । अनि फेरि जीवनको नयाँ अध्याय शुरु भयो । नयाँ बसाइ, नयाँ ठाउँ, नयाँ परिवेश, अनि सबै कुरा नयाँ, शुरु भयो फरक किसिमको सङ्घर्ष शून्यबाट । शुरुशुरुमा त के गरौँ, कसो गरौँ भयो तर प्रेमकुमारीले पढे–लेखेकाले पनि केही गर्छु भन्ने आँट र हिम्मत भने थियो । बुबाआमाले छोरीलाई पढाउन पनि त्यति बेला ठूलै सङ्घर्ष गर्नुपरेको थियो ।

‘आमाले नपढ्दा पाएको दुःख देखेर पढ्न प्रेरित भएँ’

बुबा जितबहादुर रोका र आमा भानमती रोकाका छ जना सन्तानमध्ये सबैभन्दा कान्छी प्रेमकुमारीले बुबाकै कारण पढ्न पाउनुभयो । त्यति बेला छोरीले पढ्ने चलन खासै थिएन । उहाँका बुवा भारतको कालापारमा काम गर्नुहुन्थ्यो । विगत सम्झिँदै प्रेमकुमारी भन्नुहुन्छ, ‘त्यो बेला छोरीहरू स्कूल जाने चलन त्यति थिएन, म स्कूल जाँदा छिमेकीले कुरा काट्थे, कूलमा पनि म मात्रै थिएँ स्कूल जाने, त्यति बेला मेरो बुबाले धेरै दुःख गरेर, कालापार मजदुरी गर्न गएर भए पनि पढाउनुभयो, मैले पनि मेहनत गरेर पढेँ, २०३९ सालमा एसएलसी पास गरेँ, पछि म स्कूल गएको देखेर अरू दिदीबहिनीहरू पनि स्कूल पढ्न जान थाले, त्यसैले म अहिले जहाँ छु यो सबै हुनुमा मेरो बुबाआमाको देन हो ।’

आमाकाे दुःखले पढ्न अझ बढी प्रेरित गरेकाे प्रेमकुमारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मेरो बुबा र दाजुहरू काम गर्न कालापार जानुहुन्थ्यो, मेरी आमाले पढ्नुभएको थिएन, घरमा चिठ्ठी आयाे भने अरूलाई पढिदेऊ भन्नका लागि रक्सीकाे बाेतल बोकेर गाउँमा जानुहुन्थ्यो । त्यो देखेर मलाई दुःख लाग्थ्यो, मैले छिटो चिठ्ठी पढ्न, लेख्न सक्ने हुनुपर्छ भन्ने भयो । त्यसैले होला म दुई कक्षामा पुग्नासाथ चिठ्ठी पढ्न, लेख्न सक्ने भएँ । आमाले नपढ्दा दुःख पाएको देखेर मैले जसरी पनि पढ्नुपर्छ भन्ने गहिरो छाप परेको थियो ।’ बालबच्चालाई उचित शिक्षा, सही मार्ग निर्देशन र संस्कार दिन अभिभावको महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसैले आफू शैक्षिक र व्यावसायिक रूपमा अब्ब्ल हुन सकेको प्रेमकुमारी बताउनुहुन्छ ।

आमाले सिकाएको सीप स्वरोजगार हुन र रोजगारी दिन काम लाग्यो

दाङ झरेपछि प्रेमकुमारीलाई गुजारा चलाउन धौधौ भयो । अनि गुजारा चलाउनकै लागि उहाँले सिलाइकटाइको काम गर्न थाल्नुभयो । सिलाइकटाइको काम शुरु त गर्नुभयो तर त्यसबाट उहाँलाई खासै चित्त बुझेन, अनि सम्झिनु भयो आमाले सिकाएको सीप । सानैदेखि आँटिली स्वभावकी प्रेमकुमारीले आठ वर्षकै उमेरमा अल्लोको धागो कात्न र १२ वर्षकै उमेरमा तान बुन्ने र अल्लोका सामग्री बनाउन थाल्नुभयो । दाङ झरेपछि जीविका चलाउनका लागि आमाले सिकाएको सीपलाई उद्यममा परिणत गरेको उहाँको भनाइ छ ।

पहिला अहिले जस्तो सिरक, डसना हुँदैन थियाे । अल्लो तथा हेमबाट डसना र भेडाको उनबाट कम्बल बनाउने गरिन्थ्यो । त्यस्तै जाडोमा पनि चिसोबाट बच्न त्यही कम्बल ओढेर हिँड्ने गरेको प्रेमकुमारीले अनुभव छ । त्यसरी उत्पादित कपडा प्रयोग गर्दा चिसो लाग्दैन, रुघाखोकी लाग्दैन, छालाजन्य रोग लाग्दैन र स्वास्थ्यलाई राम्रो गर्छ भन्ने मान्यता थियो । ‘हाम्रा पुर्खाहरूले पनि त्यति बेला अल्लोबाट बनेका लुगा लगाउने गर्नुहुन्थ्यो, हामी सानो हुँदा आमा, हजुरआमाले अल्लोबाटै बनेका लुगा लगाइदिएर हुर्कानुभयो । त्यसैले गुजारा चलाउनका लागि पनि आमाले सिकाएको सीपलाई व्यवसायमा शुरु गरेँ’, उहाँ भन्नुहुन्छ ।

२०६० सालदेखि व्यवसाय शुरु गर्नुभएकी प्रेमकुमारीले शुरुवातमा गलैँचा र कार्पेटको धागो उत्पादन गर्नुभयो । द्वन्द्वकालमा उहाँसगै अर" धेरै दिदीबहिनीहर" पनि रोल्पाबाट विस्थापित भएर दाङ झरेका थिए । प्रेमकुमारीले सिलाइकटाइकाे  काम गर्न थाल्नुभएको थियो । तर विस्थापित दिदीबहिनीहर"ले पनि उहाँसँग नै काम खोज्न आउनुभयो । सिलाइकटाइमा धेरै जनालाई रोजगारी दिन नसकिने भएपछि अल्लो व्यवसाय गर्न थप दबाब भएको उहाँ सम्झनुहुन्छ । उहाँले व्यवसाय गरेको शुरुमै विस्थापित दिदीबहिनीहरू सात/आठ जनालाई प्रत्यक्ष र दुई सय ५० जनाभन्दा बढीलाई अप्रत्यक्ष काम दिन थाल्नुभयो । प्रेमकुमारी भन्नुहुन्छ, ‘गाउँघरमा त्यत्तिकै सडेर जाने कच्चा पदार्थ सदुपयोग भएको छ । रोजगारीको सृजना गर्न सकेकी छु र आफू स्वरोजगार हुन अनि आमाको सीपलाई बचाउन सकेकी छु । खुशी लागेको छ ।’

अहिले उहाँ प्रेम नि.श. अल्लो (पुवा) धागो तथा तयारी पोशाक उद्योगको सञ्चालक तथा चिनारी महिला साझेदारी अल्लो उद्योग समूहको अध्यक्षसमेत हुनुहुन्छ । उहाँले अल्लोबाट कोट, आउटर, ब्याग, जुत्ता, सल, झोला, टोपीलगायत विभिन्न सामग्री उत्पादन गर्नुहुन्छ । ती सामग्री एक सय रुपैयाँदेखि १५ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ । अहिले उहाँले ४० जनाभन्दा बढीलाई प्रत्यक्ष र एक सय ५० जनाभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिनुभएको छ ।

व्यवसायमा उतारचढाव

शुरुमा गलैँचा, कार्पेटको धागो उत्पादन शुरु गर्नुभएकी प्रेमकुमारीले व्यवसायमा विभिन्न उतारचढावको सामना गर्नुपर्‍यो । कहिले भूकम्प, कहिले नाकाबन्दी, कहिले कोरोना महामारी अनि कहिले आर्थिक मन्दी । जसले गर्दा व्यवसायमा असर पर्‍यो । प्रेमकुमारी भन्नुहुन्छ, ‘व्यवसाय शुरु गरेको केही समय त निक्कै राम्रो भयो, भूकम्प अघिसम्म पनि ७१ जना प्रत्यक्ष र १६ सय जना अप्रत्यक्ष कामदार थिए, आम्दानी उस्तै राम्रो थियो । तर अहिले व्यापार अलि खस्किएको छ ।’ व्यापार व्यावसायमा उतारचढाव आइरहने प्रेमकुमारीको अनुभव छ । ‘व्यापारमा कहिले नाफा, कहिले घाटा हुन्छ, कहिले दिनमा एक/दुई लाख हुन्छ कहिले एक रुपैयाँ नहुन सक्छ ।’

बजारमा नक्कली सामग्रीसँग प्रतिस्पर्धा गर्नुपर्दा, रोयल्टी, सिल, कमिसनलगायत वन पैदावारसम्बन्धी नीतिगत अफ्ठ्याराले गर्दा गाह्रो भएको प्रेमकुमारीकाे दुखेसो छ । उहाँले रुकुम, रोल्पालगायतका ठाउँमा खेर गएका स्थानीय स्रोत साधनको प्रयोग गरेर सामग्री उत्पादन गर्दै आएको बताउनुभयो । त्यसैले छुट्टै पहिचान र सफलता मिलेको उहाँ बताउनुहुन्छ । प्रेमकुमारीले व्यवसायमा जस्तोसुकै सङ्कट आए पनि निरन्तरता दिनुभएको छ । यसबीचमा थुप्रै आर्थिक सङ्कट पार गर्नुपर्‍यो । अहिले व्यवसायमा उहाँको श्रीमान् देवप्रसाद पुनसहित छोराछोरीको पनि साथ, सहयोग उत्तिकै छ ।

‘पहिलो पुरस्कार पाउँदा आमालाई सम्झिएर खुब रोएँ’

प्रेमकुमारीको अहिले अल्लो व्यवसाय दाङमा मात्रै सीमित छैन । विभिन्न मेला, महोत्सव, देश विदेशसम्म पुगेको छ । त्यस्तै अल्लो व्यवसायी भनेर पहिचान बनेको छ । उहाँले गरेको कामको मूल्याङ्कन हुन थालेको छ । २०७१ साल वैशाख ८ गते काठमाण्डौको भृकुटीमण्डपको प्रदर्शनीपछि २० हजार रुपैयाँ नगदसहित पहिलो पटक सर्वोत्कृष्ट पुरस्कार पाउँदा उहाँ निकै खुशी हुनुभयो । त्यो पुरस्कार आमाको सीपले पाएको महसुस भयो । पुरस्कृत भएपछि सबैले बधाई दिए तर त्यो खुशीको क्षण अभिभावकलाई सुनाउन पाउनुभएन ।

प्रेमकुमारी भन्नुहुन्छ, ‘मैले धेरै मेहनत गरेर पहिलो पटक सर्वोत्कृष्ट पुरस्कार पाएँ, त्यसैले निकै खुशी थिएँ, तर त्यो खुशी मेरो आमाबुबालाई साट्न नपाउँदा खुब रोएँ । यो खुशी कसलाई भनौँ जस्तो भयो । म त्यो दिन कहिल्लै बिर्सन सक्दिनँ ।’ प्रेमकुमारीले जिल्ला, क्षेत्रीय, केन्द्रीयस्तरका पुरस्कार थुप्रै पाउनुभएको छ । कतिपय पुरस्कारको त उहाँलाई सम्झना पनि छैन । अहिले प्रेमकुमारी पुन र अल्लो नाम एकअर्का पूरकजस्तै भएको छ । सबै सामग्री हातले नै बनाउने हुँदा मेहनत धेरै हुन्छ । मेहनतअनुसारको मूल्य छैन । स्वदेशी उत्पादन भएकाले यसका सामग्री बलिया छन् । एलर्जी, प्रेसर कम हुने हुन्छ । त्यस्तै कपडा र जुत्ता लगाउँदा गन्ध नआउने, लुगाले पसिना सोस्ने हुँदा यसका फाइदा धेरै छन् ।

आमाको सीपलाई संसार चिनाउन पाउँदा सन्तुष्टि

आमाको सीपलाई संसार चिनाउन पाउँदा प्रेमकुमारी सन्तुष्ट हुनुहुन्छ । अझै दिदीबहिनीहरूलाई रोजगारी दिन पाउँदा खुशी लागेको प्रेमकुमारी बताउनुहुन्छ । उहाँले उत्पादन गरेका सामग्री सुर्खेत, नेपालगञ्ज, काठमाण्डौ, रुकुम, रोल्पालगायत देशका विभिन्न ठाउँ र विदेशमा पनि युरोप, अमेरिका, जापान, कोरियालगायत थुप्रै देशमा पुगेका छन् ।

महिलालाई व्यवसाय गर्न त्यति सजिलो छैन । उहाँ भन्नुहुन्छ, ‘घरबाहिर निस्कँदा, मेला, महोत्सवमा जाँदा छिमेकीले कुरा काट्थे । तेरो आमा, हजुरआमाको काम यहाँ किन गर्नुपर्‍यो, गाउँमा गएर गर् भन्थे । उनीहरूलाई प्रगति देखाउन पनि झन् बढी मेहनत गरेँ, अहिले तिनै छिमेकीले प्रशंसा गर्छन्, स्याबास र धन्यवाद भन्छन् ।’

प्रेमकुमारी अहिले अल्लो व्यवसायमा निक्कै सन्तुष्ट हुनुहुन्छ । यही व्यवसायबाट नै घरखर्च चलाउन, छोराछारी, देवरलाई उच्च शिक्षासम्म पढाउन र धेरैथोरै बचत गर्न सकेको उहाँ बताउनुहुन्छ । त्यस्तै २१ वर्षसम्म अर्काको घर भाडामा बसेको पुन परिवार यही व्यवसायबाट झन्डै एक करोड रुपैयाँको लगानीमा घर बनाएर आफ्नै घर सर्दैछन् ।

अब बिस्तारै आर्थिक मन्दी सुधार हुँदै गएकाले व्यवसायलाई विस्तार गरी कच्चा पदार्थ प्रशोधन, सिलाइबुनाइ र धागो कटाइलगायत काम गर्न सात कठ्ठा जग्गा भाडा लिएर भवन बनाउने पुन परिवारकाे योजना छ । त्यस्तै प्रेमकुमारीको रोकिएको गलैँचा, कार्पेटको धागो उत्पादन फेरि शुरु गर्ने सोच रहेको छ । रोल्पाबाट विस्थापित भएर दाङ झरेपछि ऋणधन गरेर चार लाख रुपैयाँमा शुरु गरेको व्यवसायमा ६० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेकाे छ ।

राज्यले पनि महिला उद्यमीका लागि सहज वातावरण, उचित नीतिगत व्यवस्था, आर्थिक सहयोग, दक्ष जनशक्तिका लागि सीप, कच्चा पदार्थ ओसारपसारमा सहजता तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग गरेमा आफूजस्तै अरू उद्यमीलाई प्रोत्साहन मिल्ने प्रेमकुमारी बताउनुहुन्छ । त्यस्तै स्वदेशमा नै भएका सीप, अवसरलाई चिनेर आत्मनिर्भर हुन, स्वदेशी उत्पादनलाई प्रवर्द्धन, सम्मान र प्रयोग गर्न उहाँ आग्रह गर्नुहुन्छ ।

अन्तिम अपडेट: असार २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीता बि.के.

सीता बि.के. उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया