बजेट उत्साहजनक रहेको निजी क्षेत्रको टिप्पणी : दलका नेताहरुको मिश्रित प्रतिक्रिया

 जेठ १६, २०८१ बुधबार ८:५९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले ल्याएको आउँदो आर्थिक वर्ष २०८१/८२ को बजेटलाई निजी क्षेत्रले उत्साहजनक भनेका छन् भने दलका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । हिजोको बजेट वक्तव्यपछि उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका धेरैजसो माग सम्बोधन भएको बताउनुभयो ।

बजेटको कार्यान्वयन सही रूपमा भयो भने सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव रहेको उहाँको भनाई छ । उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले सन्तुलित बजेट आएको प्रतिक्रिया दिनुभयो । बजेट वितरणमुखी हुन्छ भन्ने हल्ला थियो तर त्यसो नभई सन्तुलित आएको उहाँको भनाई छ ।

त्यस्तै, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले राजस्वका लक्ष्य यथार्थपरक आएको बताउनुभयो । अग्रवालले आन्तरिक ऋणको लक्ष्य भने धेरै भएको बताउनुभयो । त्यस्तै बजेटलाई लिएर दलका नेताहरुको मिश्रित प्रतिक्रिया आएका छन् ।

सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरूको फरक–फरक टिप्पणी छ । सत्तापक्षले बजेटलाई कार्यान्वयनमुखी र राम्रो आएको भनेको छ । तर विपक्षीले कार्यान्वयन हुन निकै जटिल रहेको प्रतिक्रिया दिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट ठीकै रहेको भन्दै पास गर्ने बताउनुभयो ।

पूर्वअर्थमन्त्री तथा कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बजेटमा आर्थिक सुधारको योजना र प्रस्ताव नआएको प्रतिक्रिया दिनुभयो । बजेटले सरकारको सावाँ र ब्याजको दायित्व बढाउने जोखिम रहेको डा. महतको दाबी छ । बजेटमा आर्थिक सुधारको योजना र प्रस्ताव खासै नरहेको उहाँको प्रतिक्रिया छ ।

स्याउ, आलु र प्याजमा भ्याट लगाएर चालू आर्थिक वर्षमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य लिइएको थियो । तर यसपटक अर्थमन्त्रीले त्यो हटाइदिनुभएको छ । यसले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धा गर्न सजिलो हुने तर्क गरेर उहाँले झुटो बोल्नुभएको डा. महतले बताउनुभयो ।

एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेट उत्पादन बढाउने, रोजगारी बढाउने, आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवद्र्धन गर्ने, नागरिकमा आत्मविश्वास बढाउने, निजी क्षेत्रलाई उत्साहित बनाउने खालको रहेको बताउनुभयो ।

माओवादीका सचिव देवेन्द्र पौडेलले बजेट तुलनात्मक रूपमा सन्तुलित आएको र कार्यान्वयन हुने बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले मध्यमार्गी बजेट आएको र अर्थमन्त्रीले समेटेका पाँचवटा प्राथमिकताका क्षेत्रमा निजी क्षेत्रको सहयोग लिन सके अपेक्षित आर्थिक वृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया