हरेक समस्याको समाधान गर्न सकिन्छ, जीवनसँग हार मान्नु हुँदैन

 जेठ १७, २०८१ बिहीबार १३:५५:३४ | वासु आचार्य
unn.prixa.net

आत्महत्याको सोच धेरै मानिसलाई बिस्तारै आउने हुन्छ । आत्महत्याअघि मानिसले अनेक प्रयास र उपाय लगाउँछ । अनि अन्तिममा आफैँलाई म खत्तम भनेर परिभाषित गर्छ । कतिपयले यो धर्ती बोझ रहेछ भनेर परिभाषित गर्छन् भने कतिपयले म सही छु तर अरू मानिस खत्तम हुन् भन्ने भाष्य बनाउँछन् । यदि मानिस आत्महत्याको गर्ने सोचको अन्तिम चरणमा छ, मिति नै यकिन गरेको छ भने मलाई कसैले परिवर्तन गर्न सक्दैन भन्ने उसलाई लागेको हुन सक्छ । उसले यो संसारमा मलाई आफैँले त परिवर्तन गर्न सक्दिनँ भन्ने गलत बुझ्छ । अझ आफूले आफैँलाई त परिवर्तन गर्न सक्दिनँ भने अरूले के सक्लान् भन्ने उसको बुझाइ हुन्छ ।

मैले आफूलाई एकतर्फी हेरेँ, समग्रमा हेर्न किन सकिनँ भन्ने कुरा मानिसले सोच्नुपर्छ । यो धर्तीमा कोही मानिस मर्नुपर्ने केही कारण नै हुँदैन तर उसले मर्नुपर्ने कारण देखेको हुन्छ । यदि आफ्नो निर्णयका कारण मर्नु परेको हो भने घटना, परिघटना, दुर्घटनालाई अर्कै तरिकाले परिमार्जन गर्नुपर्छ । कुनै ठाउँ, व्यक्तिका कारण छ भने स्थिति परिवर्तन गर्नुपर्छ । झोँक चलेकै कारणले मर्ने सोच आएको हो भने झोँक स्थिरताको औषधि चलाएपछि ठीक ठाउँमा आउँछ । आत्महत्याको सोच आउने मानिसले म बाँच्नुपर्छ भन्ने कुरा बुझ्नुपर्छ । औषधि सेवन गरेर या अस्पतालमै भर्ना भएर पनि आफूलाई ठीक गराउन सकिन्छ । दुनियाँसँग हारेको भन्दा पनि आत्महत्यासँग हारेको बुझ्नुपर्‍यो । यो समस्याको समाधान गर्न उपचारमा लाग्नुपर्छ ।

कतिपय मामिलामा मानिस आफ्नो कुरा अरूलाई भन्न नपाएकोले, परिवारलाई थाहा नदिई ठूलो कारोबार हिनामिना गरेकोले, आफ्नो इच्छा पूरा गर्न नसकेर अथवा आफ्नाे इच्छा भने पनि अस्वीकार गरेकाले आत्महत्या गर्न खोजेको देखिन्छ । यस्तै साथीलाई जीवनसाथीको रूपमा सोच्ने अनि प्रेम प्रस्ताव गर्दा अस्वीकार गर्दा पनि आत्महत्या गर्न खोजेको देखिन्छ । त्यसैले हाम्रो जोखिम के छ भनेर बुझ्नुपर्छ । आफू कुन जोखिम वर्गमा छु भन्ने पत्ता लगाउनुपर्छ ।

कुनै न कुनै कारणले आफूलाई जोखिम थाहा हुन्छ । कि त परिवारलाई थाहा हुन्छ । त्यसैले बेलैमा परिवारले आफ्नो सदस्यलाई के समस्या भइरहेको छ भन्ने विषयमा जानकारी लिइरहनुपर्छ । आत्महत्याको समस्या समाधान भनेको चेतना, स्वीकार गर्नु र सही तरिकाको उपचार हो । हामीसँग उपचारका लागि ठूलो सहयोगी टोली नहोला तर आफू बाँच्नुभन्दा अरू उपाय छैन भन्ने कुरा सम्बन्धित व्यक्ति अथवा परिवारले थाहा पाउनुपर्छ ।

आत्महत्याको सोच आउन नदिन जोखिम याद गर्ने

आफूमा आत्महत्याको सोच आउन नदिन पहिले त जोखिम याद गर्नुपर्छ । जोखिम छैन भने आत्महत्याको सम्भावना कम हुन्छ । कुनै परिस्थितिमा अचानक आत्महत्याको विचार आउन सक्छ । जस्तै– बेठीक निर्णय गर्दा भावनामा, व्यवहारमा, सोच्ने तरिकामा र दैनिकीमा असर पर्दै जान्छ । कहिलेकाहीँ गलत निर्णय गरियो भने पनि मैले सही गरेँ भन्नुपर्छ । कतिपय घटना यस्ता छन् गलत कार्य गर्दा पनि आफूले आफूलाई स्वीकार गरेकाले आत्महत्याको योजना बने पनि रोकिएको छ । त्यसैले स्वीकार गर्न, सहन, माफी दिन, सामान्य बन्न, मध्यमार्गी बन्न सक्नुपर्छ ।

कुनै पनि घटना परिघटनालाई ठूलो बनाउन छाड्ने, जे हुन्छ ठीकै छ भन्न सक्ने हुनुपर्छ । धर्तीमा भएको आफ्नो उपस्थितिलाई महत्त्वपूर्ण मान्नुपर्छ । धर्तीमा रहनु नै सबैभन्दा ठूलो कुरो हो । अरू कुरा कम हुन् । त्यसैले आफ्नो परिवार र परिवारप्रतिको माया सम्मानलाई याद गर्ने, आफूलाई माया गर्ने, अनि केही सीप लागेन भने जे हुन्छ समयलाई छाडिदिने । यस्तो गर्ने व्यक्तिलाई आत्महत्याको विचार आउँदैन । आफूलाई तगारो बनाउने, आवेगमा छिटो नतिजा खोज्ने र हतारलाई व्यवस्थित गर्न नसक्ने मानिसलाई आत्महत्याको सोच आउन सक्छ ।

सबै कुरा राम्रै छ, चलिराछ भन्दाभन्दै पनि मानिस समस्यामा पर्न सक्छ

मानिसको क्षमता कस्तो छ भन्ने हुन्छ । क्षमताको आधारमा मानिसको मापन हुन्छ । जस्तै ठूला नेता जस्तोसुकै स्थितिमा सम्झौता गर्न सक्छन् । किनकि उनीहरूसँग क्षमता छ । क्षमता छ भने चन्द्रमामा पुग्ने हो, होइन भने धर्तीमै बस्ने हो । ‘उडी छुनु चन्द्र एक, नभएमा धर्ती ठीक’ भन्ने भनाइ नै छ । आफूले आफूलाई सहजै मान्न तयार हुनुपर्छ । तर कतिपय मानिसले आत्महत्या गर्न मिति नै यकिन गर्छन् । मिति नै तोकेर आत्महत्या गर्ने मानिसले सङ्केतसमेत दिएका हुन्छन् । परिवारले त्यो सङ्केत बुझ्यो भने त्यस्ता मानिसलाई बचाउन सकिन्छ । कतिपय मानिसले ‘मर्छु अब’ भन्ने गर्छ, तर त्यस्तो बेला परिवारले वास्तै गर्दैन । आत्महत्याको योजना बनाएका मानिसले गुगुलमा खोज्ने, मर्नका लागि ठाउँ हेर्न जाने, 'डिप्रेशन' ले कहिलै खुशी भएन एकदिन अचानक खुशी हुने गर्‍याे भने उसले आत्महत्या गर्न सक्छ ।

परिवारले कहिलेकाहीँ तिमीलाई बाँच्न मन लागिरहेको छैन हो भनेर सोध्नुपर्छ । मानिसले यसरी सोध्दा उल्टो अर्थ लाग्ला भन्ने हुन्छ । तर उसलाई भने आफूलाई कसैले बुझिदिएको जस्तो हुन्छ । परिवारले मेरो ख्याल गरे है भन्ने पनि हुन्छ । यसले मानिसको आत्महत्या गर्ने सोच नै परिवर्तन गर्न सक्छ । उसको मानसिक स्वास्थ्यको समस्यालाई हामीले स्वीकार गरिदिनुपर्छ । चाहे जेसुकै कारणले समस्यामा परेको भए पनि उसलाई जोगाउन सकिन्छ । कोही मानिसले आत्महत्या गर्न मन लाग्दा मन्दिर गएर आफूलाई जोगाउँछन् । आत्महत्या गर्न मन लाग्ने बित्तिकै मन्दिर जान्छु भन्ने हुन्छ । त्यसरी मन्दिर जाँदासम्म आत्महत्याको सोच हराउँछ । कसैको फोन गर्ने बानी हुन्छ । फोन गरेर बोल्दा उसको मन हल्का हुन्छ । धेरै यसरी जोगिएका पनि छन् ।

मानसिक स्वास्थ्यसम्बन्धी किताब पढ्यो भने पनि आत्महत्याको सोच कम हुन्छ । मानिसमा पटक–पटक आत्महत्या गर्ने सोच आउन सक्छ । के समस्याले यस्तो सोच आएको छ भनेर हेर्नुपर्छ । मानसिक स्वास्थ्य समस्यामा परेको मानिसले एक पटक आत्महत्याको प्रयास गरेको तर केही कारणले रोकियो भने पनि फेरि आत्महत्याको प्रयास गर्न सक्छ । त्यसैले समस्यमा परेका मानिसलाई नै सोध्नुपर्छ, उसलाई नै पढ्नुपर्छ अनि बुझ्नुपर्छ । मन भनेको विषेशगरी संज्ञानात्मक र व्यावहारिक हुन्छ । आफूले गर्ने व्यवहार, सोचले निर्धारण गरेको हुन्छ ।

कुनै घटनालाई कसरी चासो दिने, आफ्नो बुझाइ, जिन्दगीलाई कुन ढाँचामा लैजाँदैछु भन्ने आधारमा मन शान्त हुने कि अशान्त हुने भन्ने कुरा भर पर्छ । त्यसैले आफ्नो खुशीको पनि ख्याल गर्नुपर्छ । सकेसम्म खुशी हराउन दिन हुँदैन । यस्तै अरूले गरेका व्यवहारलाई लगाउने अर्थ, बुझाइ, कसैको व्यवहार, आन्तरिक कारणले कि बाहिरी गरेको छ भन्ने कुरा कसरी बुझिएको हुन्छ, त्यसले मानसिक स्वास्थ्यको अवस्था निर्धारण गर्छ ।

जीवनमा आउने आरोह अवरोहलाई सजिलै पार लगाउन सकिन्छ

सबैले जीवनमा आउने आरोह अवरोहलाई सजिलै पार लगाइरहेका छन् । हाम्रा पुर्खाले हामीलेभन्दा जटिल समस्या भोगेर पनि पार लगाए । केही मानिसले मात्र हो पार लगाउन नसक्ने । हाम्रा बुबाआमा, हजुरबुबा, हजुरआमाले आफ्नो जीवन गन्तव्यसम्म पुर्‍याउनुभयो । मानसिक समस्या, व्यावहारिक समस्या भएका र आर्थिक समस्या भोग्न नसकेका केही मानिसले मात्र पार गर्न नसकेका हुन् । पार लगाउन नसकेको के कारणले हो बुझ्नुपर्छ ।

कहिलेकाहीँ सम्भव भएर पनि समस्याको यकिन गर्न नसकेको हुनसक्छ । त्यो बेला चौतर्फी रूपमा हेर्न थालेपछि सबै कुरा सजिलो देख्न थालिन्छ । समस्यालाई एउटै तरिकाले हेर्न थालियो भने हरेक कुरा गाह्रो, अनि समस्याग्रस्त देखिन्छ । त्यस कारण समस्याको समाधान आफैँले गर्नुपर्छ । समस्या पर्दा सम्बन्धित ठाउँमा जाने, परिवारसँग जाने, साथीभाइसँग छलफल गर्ने अथवा आफैँ सचेत भएर बुझ्न थाल्यो भने जिन्दगी मजाले र आनन्दले काट्न सकिन्छ । अरूको जीवन कट्या छ भने हाम्रो पनि कटाउन सकिन्छ ।

सचेतनाका कार्यक्रम गर्ने

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०३० पछि आत्महत्याको दर डरलाग्दो हुनेवाला छ । मानिस मर्ने रोगमध्ये सबैभन्दा पहिलो मुटु रोग र दोस्राेमा मानसिक रोग हुने देखिन्छ । मानसिक रोग लाग्ने बित्तिकै मानिसको ज्यान जाने भन्ने होइन, तर मनमा लागेको रोगका कारण आत्महत्या गर्नेको सम्भावना भने बढ्ने देखिन्छ । पछिल्लो समय कोभिड–१९ महामारीपछि यो दर बढेको पनि एक अध्ययनले देखाएको छ ।

अब राज्य तहबाट यसको रोकथामका लागि अग्रसर हुनुपर्ने देखिन्छ । जनचेतनाका कार्यक्रम व्यापक बनाउनुपर्छ । पालिकाबाट मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रम गर्नुपर्छ । आमसञ्चार माध्यमबाट मानसिक स्वास्थ्यसम्बन्धी बहस शुरु गर्नुपर्छ । स्वास्थ्यका अन्य विषयमा बहस भइरहेका छन् तर मानसिक स्वास्थ्य समस्याको विषयमा विश्वमै कम बहस हुन्छ ।

विस्तारै अब बहस गर्ने वातावरण बन्दै गएको छ । यो बहसलाई अझै व्यापक बनाउनुपर्छ । सञ्चारमाध्यममा मानसिक स्वास्थ्य समस्याबारे जति बहस उठ्यो त्यति मानिस सचेत हुँदै जान्छन् । योसँगै जनप्रतिनिधिले आवाज उठाउने, लेखकले अब लेख्न थाल्ने र वाचकले वाचन गर्न थाल्नुपर्छ । अब पीडा, चित्त दुखाइ र दिक्दारीपनका बहस बन्द गर्नुपर्छ । हामी बाँच्नुपर्छ, हाम्रो जिन्दगीको अस्तित्वका कुरा छन् भन्नेबारे सोच्नुपर्छ । घटना परिघटनालाई सहजै ग्रहण गर्न सक्ने क्षमता विकास गर्नतर्फ लाग्नुपर्छ । जोखिममा भएका मानिसको पहिचान गर्नतर्फ लाग्नुपर्छ । मानसिक स्वास्थ्यसम्बन्धीको सबैभन्दा ठूलो भूमिका सहयोग हो । यसमा सबैले जोड दिन आवश्यक देखिन्छ । 

(मनोविश्लेषक वासु आचार्यसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वासु आचार्य

आचार्य मनोविश्लेषक हुनुहुनछ । 

तपाईको प्रतिक्रिया