चालक भएर बिर्सेको नियम स्वयंसेवक ट्राफिक हुँदा छर्लङ्गै !

 जेठ २०, २०८१ आइतबार १४:१७:६ | मिलन तिमिल्सिना
unn.prixa.net

साइकलसमेत नभएर लखरलखर सडक छेउमा हिँड्दा लाग्थ्यो, ट्राफिक नियम मान्ने मै मात्र हो । बाँकी सबैले नियम उल्लङ्घन गर्छन् । बटुवालाई साइकलदेखि कार चलाउनेसम्म सबैले हेप्छन् । मान्छे नै गन्दैनन् । पछाडिबाट टिर्रटिर्र घण्टी र ट्याँट्याँ टुँटुँ हर्न बजाउँदै लखेट्न खोज्छन् । ठसठसी कन्दै पाइडल मारेर पछाडिबाट उछिनेर अगाडि पुगेपछि साइकलवालासमेत देखिस् भन्ने पाराले मुन्टो फर्काएर ङिच्च दाँत देखाउँछ । साइकलवालाको त यस्तो फूर्ति छ भने मोटरसाइकल र कारवालाले हेप्ने नै भए ।

चारैतिरबाट पेलिएपछि शान बढाउन भनेर एउटा पुरानो साइकल किनेँ, पुछपाछ पारेँ, अनि म पनि सडकमा पाइडल मार्न थालेँ । साइकल पेल्न थालेपछि लाग्यो, सडकमा लखरलखर हिँड्ने बटुवाले पो सबैभन्दा बढी नियम उल्लङ्घन गर्छन् । अनि मोटरसाइकल र गाडीवालाले साइकल चढ्नेलाई हेप्छन् । मलाई लाग्यो नियम पालना गर्ने चाहिँ साइकलवाला मात्रै, त्यसमध्ये पनि म एक्लो मात्रै !

साइकल चढ्न थालेपछि मोटरसाइकल चढ्न ठूलो कुरो भएन । त्यही साइकलको अघिल्तिर एउटा मोटर थप्ने न हो । मोटर थप्न मोटामोटीको रकम जोहो गरेपछि मोटरसाइकल आइहाल्यो । मोटरसाइकल चढ्न थालेपछि थाहा भयो, सडकमा सबैभन्दा बढी अल्झाउने साइकलवाला र बटुवाहरू हुन् । बटुवाले जथाभाबी बाटो काट्छन् । साइकलवाला ठाउँ नभए पनि अघि पछि लागेर मोटरसाइकल र गाडीवालालाई डिस्टर्ब गर्छन् । अनि गाडीवालाले मोटरसाइकलाई चाहिँ बढी हेप्दा रहेछन् । त्यसमा पनि सबैभन्दा पक्का नियम मान्ने म आफू मात्रै रहेछु भन्ने ज्ञान प्राप्त गर्न धेरै समय लागेन ।

यसरी नहुने भो भन्ने हुटहुटी चल्न थालेपछि गाडी चढ्ने रहर जाग्यो । पहिले साइकलमा मोटर थपेपछि मोटरसाइकल भएको थियो । अब त्यही मोटरसाइकलको साइकल झिकेपछि मोटर भइहाल्छ । मोटामोटीको रकमको ठाउँमा अब मोटो रकम बन्दोबस्त गर्नुपर्ने भयो । अलिकति आँट र ढाँट मिसाएपछि मोटर किन्न चाहिने मोटो रकमको पनि जोहो भइहाल्यो ।

मोटरसाइकल छोडेर गाडी चलाउन थालेपछि बल्ल थाहा भयो सडकमा बटुवा र साइकलले भन्दा पनि बढी मोटरसाइकलले डिस्टर्ब गर्दा रहेछन् । ठाउँ नभए पनि अगाडि जाने, दायाँबाट पनि उछिन्ने, बायाँबाट पनि उछिन्ने । कहिले पछाडिबाट हिर्काउने, कहिले दायाँबायाँबाट निहुँ खोज्ने । आफूलाई आफ्नो गाडी खस्रो हातले छुनसमेत माया लाग्छ, मोटरसाइकल र साइकलवालाले कोरेरै खत्तम बनाए । त्यसमाथि ठूला गाडीको मनपरी । सडकमा ट्राफिक नियम पालना गर्ने चाहिँ आफू एक्लो कारवाला ।

चिल्लो कारमा हुइँकिन थालेपछि तीव्र गतिमा चलाउँदैछु भन्ने पनि थाहा नहुने । लेन र ट्राफिक बत्ती पनि हतपती नदेखिने । गाडी भएपछि कहिले कता पुगिन्छ, कहिले कता । गाडी देखाउनकै लागि भए पनि साथीभाइ र इष्टमित्रसँग भेट गरिरहनु पर्‍याे । यसरी जमघट हुँदा खाइपिइ हुने नै भयो । देख्नेलाई बढी पिएजस्तो लागे पनि आफूले त ग्लास छोएको मात्रै हो । अलिअलि पिइयो भन्दैमा गाडी त्यहीँ छोडेर हिँड्ने कुरो भएन । त्यसमाथि आफ्नो नयाँ गाडी, अरूकोमा छोडेर हिँड्दा रातभर छटपटी भइहाल्छ । अनि आज पिउनुपर्छ भनेर घरमै गाडी थन्क्याएर हिँड्न पनि मिलेन । हिँड्नुपरेकै त्यही गाडी देखाउन हो । तर पिएर गाडी चलाएपछि ट्राफिकले समात्छ । आफूलाई पिएजस्तै लाग्दैन, तर ट्राफिकको सुँघाउने भाँडोले धेरै नै पिएको थाहा पाउँदो रहेछ । आफूलाई सडकमा लेन मिचेजस्तै लाग्दैन, ट्राफिक बत्ती छ जस्तो पनि लाग्दैन । तर ट्राफिकले चिट काट्छ ।

पहिले पहिले त चिट काटेपछि एकछिन कक्षामा बसेर पैसा तिरेपछि सुख पाइन्थ्यो । अब त एकछिन सडकमा ट्राफिक प्रहरीले जस्तै काम गर्नुपर्ने भएछ । ट्राफिक प्रहरीले जस्तो पैसा लिन चाहिँ नपाइने, चर्को घाममा जेब्राक्रस भएको तातो सडकमा उभिनुपर्ने । कागजमा कतै नभएको नियम । भएको नियम मिच्ने हामीलाई हुँदै नभएको नियम मिच्ने उनीहरूले बलजफ्ती सडकमा उभ्याए । मन नलागे पनि मान्नै पर्‍याे, नत्र लाइसेन्स दिँदैनन् ।

जाँड–रक्सी खाएर गाडी चलाएको कारबाहीमा स्वयंसेवक ट्राफिक भएको होइन, लेन मिच्यो भनेर ट्राफिकले चिट काटेको हो । तर स्वयंसेवक ट्राफिक भएर सडकमा पुग्दा देख्नेहरूले जाँड–रक्सी खाएछ भनेर बुझ्ने भए । परिवार, आफन्त र साथीभाइलाई मुख देखाउन पनि लाजमर्दो । मास्क लगाउने बानी हटेपछि पनि मास्क चाहिने भयो ।

नाकमुख नै छोप्ने मास्क लगाएर एकछिन स्वयंसेवक ट्राफिक भएर उभिँदा थाहा भयो ट्राफिक नियम उल्लङ्घन नगर्ने मान्छे भेट्याउनै मुश्किल । बटुवा पनि उस्तै, साइकल र मोटरसाइकल पनि उस्तै, गाडीवाला पनि उस्तै ।

१० मिटर पर बाटो काट्ने जेब्राक्रस छ, तर बटुवालाई त्यहाँसम्म पुगेर बाटो काट्न अल्छी लाग्ने । ट्राफिक बत्ती भएको ठाउँमा हरियो बल्न १५ सेकेण्ड बाँकी छ, तर त्यो १५ सेकेण्ड पर्खन नभ्याउने । फुटपाथ खाली भएको ठाउँमा पनि सडकबाटै हिँड्नुपर्ने । कतिपय ठाउँमा फुटपाथ त छ, तर हिँड्नै नमिल्ने गरी पसलका सामान राखिएका छन् । फुटपाथमै बालुवा, गिट्टी र माटो थुपारिएका छन् । कतै बटुवा हिँड्ने ठाउँ छैन, कतै ठाउँ भएर पनि बटुवा हिँड्दैनन् ।

साइकल, मोटरसाइकल र गाडी चढ्नेलाई उत्तिकै हतारो । जथाभाबी ओभरटेक । न सडक लेनको पालना, न ट्राफिक बत्ती र सङ्केतको हेक्का । गाडी चलाउने सबैलाई लाग्दो हो, मैले त नियम पालना गरिरहेकै छु, अर्कोले पो उल्लङ्घन गर्‍याे । आफूलाई पनि त्यस्तै लाग्थ्यो । तर सडकमा एकछिन ट्राफिक भएर हेर्दा थाहा भयो, पूर्णरूपमा नियम पालना गर्ने मान्छे त भेट्याउनै मुश्किल ।

सडकमा ट्राफिक भएर उभिँदा अरू गाडी चालक र बटुवाको कमजोरी थाहा भयो । नियम, कानून पनि पढाइयो । तर आफू सिटमा बस्दा आफूले जानेको नियम बिर्सिहाल्छ क्यारे । अनि बल्ल थाहा भयो किन नेताहरूले कुर्सीमा बस्दा मतदाताको मत र मन बिर्सन्छन् र कुर्सीबाट खसेर सडकमा पुगेपछि सम्झन्छन् भन्ने कुरा । अर्कोले नियम मिचेको मात्रै देख्ने आफूले नियम कुल्चेको नदेख्ने यो राग त हामी सबैलाई पो लागेको रहेछ त !

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया