फेसबुकमा मुर्कुट्टो भिडियो, सग्लो गाली

 जेठ २७, २०८१ आइतबार १३:५१:४४ | मिलन तिमिल्सिना
unn.prixa.net

हातमा मोबाइल र मोबाइलमा फेसबुक हुनुपर्छ, नहुने र हुने सबैथोक त्यहीँ हुन्छ । कुरो बनाउने पनि उही, कुरो कोट्याउने र गिजोल्ने पनि उही । ताली बजाउने पनि उही, गाली वर्षाउने पनि उही । झगडिया पनि उही, वकिल र न्यायाधीश पनि उही । तपाईं पनि उही, म पनि उही ।

कतिलाई काम नभएर फुर्सद, कतिलाई काम गर्ने जाँगर नभएर फुर्सद । फुर्सद धेरै भएपछि उट्पट्याङ धेरै फुर्छ । पहिलेपहिले उट्पट्याङ गर्न घरबाहिर निस्कनुपर्थ्याे । अहिले घरभित्रै सुतीसुती मोबाइल खेलाएर उट्पट्याङ गर्न मिल्छ । मोबाइलमै संसार हेर्न मिल्छ । तर भएको कम र नभएको बढी देखिन्छ । यसपटक अमेरिकामा नेपालको क्रिकेट हुने बेला यहाँ मोबाइल हेर्नेले पनि नभएकै कुरा देखे । सबै खेलाडीले पालैपालो टीका लगाइदिएको देखेनन्, एकैपटक सबैको निधारमा टीका नभएको देखे । भएको भन्दा त्यही नभएको भिडियो काटकुट पारेर फेसबुकमा राखे । अनि टाउको र रूप नभएको त्यही मुर्कुट्टो भिडियो भाइरल भयो । त्यसमै मान्छेले गाली वर्षाए । भिडियो चाहिँ मुर्कुट्टो थियो, तर गाली चाहिँ सशरीर, सग्लो र पूर्ण । हिजोआज फेसबुकमा यस्तै मुर्कुट्टा भिडियो र स्टाटसको भाउ धेरै छ ।

फेसबुकमा आफ्नो फेस देखाउने र अर्काको केस कोट्याउने कला त सबैसित छ, तर यो कलामा अरूभन्दा आफैँ राम्रो देखिने र आफैँलाई असल ठान्नेहरूको बिगबिगी छ । लेख्न हुने/नहुने, देखाउन मिल्ने/नमिल्ने सबैथोक फेसबुकमा लेख्न र राख्न सक्ने भएकाले तपाईँ, म र हामी सबै विद्वान् र बुद्धिजीवी ! अरूको विचार, बोली र व्यवहारको निगरानी गर्ने भएकाले हामी आफैँ प्रहरी ! आफ्नो आङमा भैँसी उफ्रेको नदेखेर अर्काको टाउकोमा जुम्रो दौडिएको देख्ने नामुद अनुसन्धानकर्ता ! अर्काको विचार र टिप्पणी हेर्नेबित्तिकै फैसला गर्नसक्ने खुबी भएका वरिष्ठ न्यायाधीश ! हामीसँग यति धेरै खुबी छ, तर खुबीअनुसार एकैपटक यति धेरै काम गर्न सक्ने अरू ठाउँ छैन । ठाउँ छ त फेसबुकमा छ ।

फेसबुकमा गालीको वर्षा गराउनुअघि गाली खुवाउने पात्र र विषय खोज्नुपर्छ । विषयभन्दा पात्र बढी भेटिन्छन् । यस्ता पात्रमध्ये केहीलाई कहाँ–कस्तो अवस्थामा के बोल्नुपर्छ भन्ने हेक्का हुँदैन । मौका पाउनसाथ मुख आँ गरिहाल्छन् । माइक तेर्सिएको देख्नेबित्तिकै भाषण छाँटिहाल्छन् । मसानघाटमा मुस्काउन र आर्यघाटमा आलोचना गर्न सरम लाग्दैन । जहाँ पनि औँला ठड्याउँछन्, मुक्का तेर्साउँछन् । उनीहरू आफैँले त्यसो गरेनन् भने पनि गराउनेहरूले गराएरै छाड्छन् । उनीहरूलाई उत्तेजित बनाउनेमध्ये कसैले क्यामरा बोकेको हुन्छ, कसैले माइक । जसरी हुन्छ उनीहरूलाई गाली खुवाउने मान्छे चाहिएको छ । त्यो मान्छेलाई पनि बोल्ने ठाउँ चाहिएको छ । भोलि जिरो नै हुन किन नपरोस्, बस अहिलेलाई हिरो हुनु परेको छ ।

बोल्न थालेपछि हुने/नहुने कसरी बोल्ने भनेर हाम्रा प्रधानमन्त्री, मन्त्री, नेता र ठूलाबडाहरूले हामीलाई निःशुल्क तालिम दिइरहेकै छन् । यसमा उनीहरूलाई जति अनुभव अरूलाई छैन । अगुवाहरूले चिप्लिन सिकाएपछि पछुवाहरूको जिब्रोले घिउ तेल पर्खदैन, आफ्नै थुकमा चिप्लिहाल्छ । कथम् कदाचित चिप्लिएन भने पनि उसले केही बोल्न मात्र पर्‍याे । बोलेको कुरा र गरेको कामलाई चिप्ल्याउनेले चिप्लिने गरी कैँची लगाइहाल्छ ।

बोलेको कुरा र गरेको कामलाई कैँची लगाउन धेरै खप्पिस भइसके । कैँची लगाएर मुर्कुट्टो बनाएको कुरालाई धेरैले मन पराउँदा रहेछन् भन्ने कुरा पनि सबैलाई थाहा भइसक्यो । त्यसैले सबैभन्दा पहिले बोलीमा कैँची लगाउन हानथाप हुन्छ । अनि बोलेको बिकाउ कुरा फेसबुकमा पोस्ट हुन्छ । त्यसपछि फेसबुकका विद्वान्, पण्डित, ज्योतिष, प्रहरी, न्यायाधीशको काम आउँछ । पहिलो कुरा त पोस्ट गर्नेले नै आधी कुरा काटेर राखेको हुन्छ । हेर्नेले आधीको पनि आधीमात्रै हेर्छ । अनि त्यही आधीको आधी कुरालाई लिएर फेसबुकभरि सग्लो गालीको वर्षा हुन्छ ।

अहिले फेसबुकमा गालीको वर्षा कम भयो भनेर तपाईँलाई छटपटी भएको छ भने पनि चिन्ता नलिनुहोस् । बरु कसैले केही बोलेको या जल्दोबल्दो विषयमा केही गरेको छ कि भनेर खोज्नुहोस् । अहिले डेङ्गी र लामखुट्टेको विषयमा भाषण गर्दा फूलबुट्टा भरेर कसैले यसो भनेको हुनसक्छ– ‘तपाईँसँग लामखुट्टे भगाउने धुप र लिक्विड छैन भने लामखुट्टेको खुट्टा भाँच्दा पनि हुन्छ । पखेटा उखेलेर फाल्दा पनि हुन्छ ।’

आहा क्या बिकाउ बोली ! अब गालीको वर्षा हुने गरी बोली बिकाउनतिर लागौँ । सबैभन्दा पहिले यो बोलीलाई मिलाएर कैँची लगाउँ र फेसबुकमा लेखौँ, ‘लामो खुट्टा भएकाको खुट्टा भाँच्दा पनि हुन्छ – फलानो ।’ अनि के चाहियो, फेसबुकमा विद्वान‍्हरूको तर्क र बहस शुरु भइहाल्छ । अनि थरीथरीका टिप्पणी र प्रतिक्रिया ओइरिन थाल्छन् यसरी :

‘फलानाले लामो खुट्टा भएकाको खुट्टा भाँच्दा पनि हुन्छ भन्यो ।’

‘कतिसम्म लामो खुट्टा भएकाको चाहिँ भाँच्ने भनेको हो, त्यो कुरा पनि स्पष्ट हुनुपर्‍याे ।’

‘लामो खुट्टा भएकाको मात्रै किन, छोटो खुट्टा भएकाको पनि खुट्टा भाँच्नुपर्छ ।’

‘लामो खुट्टा होस् या छोटो खुट्टा, कसैको पनि खुट्टा भाँच्न हुँदैन ।’

विवाद र बहस चर्कँदै गएपछि फलानाले साँच्चै यस्तो बोलेको होला त भनेर कसैले खोजीनीति गर्छ । अनि उसले लेख्छ, ‘फलानाले त लामखुट्टेको चाहिँ खुट्टा भाँच्नुपर्छ पो भनेको रहेछ ।’

बहस रोकिदैन, बरु मोडिन्छ र बहसले नयाँ रूप लिन्छ । अनि शुरु हुन्छ, ‘लामखुट्टेलाई त धूप बालेर भगाउने हो, मार्ने हो, किन खुट्टा भाँच्ने ?’

त्यसपछि फेसबुकमा कुनै लामखुट्टे अधिकारवादी निस्कन्छ र भन्छ ‘लामखुट्टेलाई मार्न पनि हुँदैन, खुट्टा भाँच्न पनि हुँदैन, मान्छे आफैँ झुलभित्र बस्ने हो भने न लामखुट्टेले टोक्छ न उसलाई मार्नुपर्छ ।’

यो बहस पनि सकियो । फेसबुकका विद्वान्, विश्लेषक, वकिल, न्यायकर्ताहरूको एकमेलो काम सकियो । फेरि कसैको बोलीलाई लिएर केही लेख्ने र गाली गर्ने खसखस भइसक्यो । अब के गर्ने ? के मा बहस गर्ने ?

अब अमेरिकामा रहेका नेपाली क्रिकेट टोलीले अर्को खेल खेल्दैछ । त्यो खेलअघि टीका लगाए कि लगाएनन् हेरौँ । लगाए भने सबैको निधार उस्तै नदेखिन सक्छ । किन देखिएन भनेर मुद्दा बनाऔँ । लगाएनन् भने किन लगाएनन् भनेर उछित्तो काढौँ । फेरि केही दिनलाई फेसबुके मसला मिलिहाल्छ ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया