गर्मीका कारण जनजीवन प्रभावित : कतिपय जिल्लामा विद्यालय बन्द

 जेठ २९, २०८१ मंगलबार १२:२०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – अत्यधिक गर्मीका कारण तराई/मधेशसहित देशका विभिन्न जिल्लामा जनजीवन प्रभावित बनेको छ । गर्मीका कारण बालबालिकामा बेहोस हुने, टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुनेलगायतका स्वास्थ्य समस्या पनि देखिन थालेका छन् । कतिपय जिल्लामा पठनपाठन प्रभावित हुँदा विद्यालय नै बन्द गरिएको छ ।

दैलेखको नारायण नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा गर्मी बिदा दिइएको छ । आजदेखि चार दिनका लागि सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिइएको हो । बर्खे बिदामा कटौती हुने गरी बिदाको निर्णय गरिएको नारायण नगरपालिकाको शिक्षा अधिकृत पूर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । दैलेखमा २० वर्षपछि उच्च तापक्रम ३८ डिग्री सेल्सियस रेकर्ड भएको छ ।

यस्तै चितवनको भरतपुर महानगरपालिकाले सबै विद्यालयमा आजदेखि ३२ गते शुक्रवारसम्म गर्मी बिदा दिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँले बिदाको अवधिमा आफ्ना बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी–पोखरीमा पौडी खेल्ने, माछा मार्ने जस्ता काम गर्न नदिन, निगरानीसहितका सावधानी अपनाउन अभिभावकलाई आग्रह गर्नुभएको छ ।

त्यसैगरी कालिका नगरपालिका र रत्ननगर नगरपालिकाले पनि आज र भोलि दुई दिन बिदा दिएको छ । त्यस्तै खैरहनी नगरपालिकाले हिजैदेखि दुई दिन बिदा दिएको छ । पालिकाका नगर शिक्षा अधिकारी राजु बानियाँले यस्तै गर्मी रहेमा केही दिन बिदा थप हुन सक्ने बताउनुभयो ।

राप्ती नगरपालिकामा भौगोलिक क्षेत्रका आधारमा गर्मी हुने ठाउँमा बिदा दिइएको छ । कैलाली, पश्चिम नवलपरासीको बर्दघाट र रामग्राम नगरपालिका तथा सरावल र प्रतापपुर गाउँपालिकाले पनि विद्यालयमा गर्मी बिदा दिएका छन् ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया