निर्माण रोकिएको शीतभण्डार पुनः शुरु गर्न किसानको आग्रह

 जेठ २९, २०८१ मंगलबार १३:७:१० | रासस
unn.prixa.net

तस्बिर : रासस

कैलाली – टीकापुरमा निर्माणाधीन शीतभण्डारको काम रोकिएकाले पुनः सञ्चालन गर्न प्रयास थालिएको छ । शीतभण्डार निर्माण पुनः अगाडि बढाउन रानी जमरा कुलरिया सिँचाइ आयोजनाले शीतभण्डारको लागत अनुमान परिवर्तन गर्न थालेको छ ।

दाताले शीतभण्डारको जग निर्माणमा विश्वस्त हुन नसकेपछि गएको माघ २३ गतेदेखि शीतभण्डार निर्माण रोकिएको थियो । निर्माण रोकिएको शीतभण्डारलाई पुनः शुरु गर्न आयोजनाले छलफल चलाएको छ । ढाँचा समीक्षा, इन्जिनियरहरूद्वारा पुनः लागत अनुमान, विश्व बैंकको समूहसित छलफल गरिएको छ ।

एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि एएम किनारा जेभी धनगढीसँग गएको असोज २९ गते सम्झौता भएको थियो । शीतभण्डारको निर्माण अवधि २०८१ पुससम्म रहेको छ । सात करोड छ लाख ६९ हजार छ सय ९० रुपैयाँमा निर्माण गर्ने सम्झौता भएको छ ।

शीतभण्डारमा ८० प्रतिशत अर्थात् पाँच करोड ८५ लाख ३५ हजार सात सय ५२ रुपैयाँ आयोजना र २० प्रतिशत अर्थात् एक करोड ४१ लाख ३३ हजार नौ सय ३८ रुपैयाँ उपभोक्ताको लगानी रहनेछ । अहिलेसम्म ९३ लाख २५ हजार रुपैयाँ खर्च भएको छ । शीतभण्डार बनेपछि यहाँका किसानलाई विशेषगरी आलु र फलफूल भण्डारमा सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरत कँडेल कैलाली जिल्लामा पाँच हजार दुई सय २१ हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेकोमा ८५ हजार छ सय ७७ मेट्रिक टन उत्पादन हुने गरेको बताउनुहुन्छ ।

समयमै शीतभण्डार निर्माण भएमा यहाँका किसानलाई आलु भण्डारणका लागि बर्दिया, पहलमानपुर, कोहलपुर लैजानुपर्ने समस्या समाधान हुने छ । समयमै शीतभण्डार निर्माणका लागि पहल गर्न किसानले आयोजनासँग माग गरेका छन् ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया