‘१० वर्षमा ३० खर्बकाे आईटी निर्यात र १५ लाख जनालाई राेजगारी सजिलै’

 जेठ २९, २०८१ मंगलबार १८:१५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाललाई सूचना प्रविधि (आईटी) को 'हब' का रूपमा विकास गर्न आउँदाे आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित ३० खर्ब रुपैयाँको निर्यात र १५ लाख जनालाई रोजगारी दिने कुरा महत्त्वाकाङ्क्षी भए पनि सफल पार्न सकिनेमा सरोकारवालाहरू निश्चिन्त देखिएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज काठमाण्डाैमा आयोजना गरेको ‘सूचना प्रविधि दशक र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा सरोकारवाला विज्ञहरूले नीतिगत सुधार र कानुनी अल्झन हटाई स्थिर नीति बनाउन सके ३० खर्ब रुपैयाँको सूचना प्रविधि सेवा निर्यात गर्न सहज हुने बताए ।

कार्यक्रममा अर्थमन्त्री वर्षामान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत १० वर्षमा ३० खर्ब रुपैयाँको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र पाँच लाख प्रत्यक्ष तथा दश लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य प्राप्त गर्न सरकारले नीतिगत निर्णय गरी उद्योगलाई संरक्षण र प्रवर्दध्न गरेर निजी क्षेत्रलाई प्रोत्साहन गर्न खोजेको बताउनुभयाे ।

अर्थमन्त्री पुनले सूचना प्रविधिलाई प्राथमिकतामा राखी कानुनी आधार तयार गरी सूचना प्रविधि क्षेत्रमा नीतिगत स्थायित्वका लागि उच्चस्तरीय आयोग गठन गर्ने जानकारी दिनुभयाे । उहाँले ‘डिजिटल नेपाल फ्रेमवर्क’ परिमार्जन गरी त्यसकाे कार्यान्वयन र अनुगमन गर्न संस्थागत व्यवस्था गर्ने, काठमाण्डाै उपत्यका र बुटवलमा उच्च गतिको इन्टरनेट, विद्युत्, सुरक्षालगायत पूर्वाधारसहित सूचना प्रविधि पार्क सञ्चालनको काम अगाडि बढाइने जानकारी दिँदै कम्तीमा प्रत्येक प्रदेश समेटिने गरी १० वटा आईटी पार्क बनाउने योजना सरकारको रहेको बताउनुभयाे ।

कृषि, पर्यटन, ऊर्जा क्षेत्रलाई जस्तै सूचना प्रविधिसम्बन्धी सेवा उद्योगलाई निजी क्षेत्रले ‘ड्राइभ’ गर्ने बताउँदै अर्थमन्त्रीले राज्यले व्यापार गर्न नखोजेको र करका विषयमा फेरि पनि छलफल गरी सुधार गर्न सकिने आश्वासन दिनुभयाे ।

विदेशमा शारीरिक श्रमको सट्टा नेपालबाटै बौद्धिक श्रम गर्न सकिन्छ अनि आय आर्जनका लागि विदेशिनु पर्दैन भन्ने मान्यता सूचना प्रविधि दशकले स्थापित गर्ने उहाँले दाबी गर्नुभयाे ।

सरकारले सूचना प्रविधि क्षेत्रमा रहेका नीतिलाई पनि स्थिर र समयसापेक्ष बनाउने भन्दै डिजिटल पुस्तालाई सुहाउँदो गरी काम अघि बढाउनुपर्ने आवश्यकता रहेको पनि अर्थमन्त्री पुनले दोहोर्‍याउनुभयाे ।

आईटी क्षेत्रले युवा पुस्तालाई नेपालमै बस्न सक्ने वातावरण तयार गर्ने भन्दै सरकारले यस क्षेत्रलाई प्रतिस्पर्धी बनाउन खोजिरहेको उहाँकाे धारणा छ । अरू वस्तु तथा सेवा निर्यात गर्दा बल्लबल्ल डेढ खर्ब रुपैयाँ बराबर पुगेको अवस्थामा आईटी क्षेत्रमा थोरै सहजीकरण गर्न सके वार्षिक तीन खर्ब रुपैयाँको निर्यात गर्न सकिने अनुभव यस क्षेत्रका विज्ञहरूको रहेको पनि अर्थमन्त्री पुनकाे भनाइ थियाे ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आईटी दशकको लक्ष्यमा पुग्न मन्त्रालयको नेतृत्वमा कार्यदल गठन गरिने स्पष्ट पार्दै हरेक वर्ष गर्नुपर्ने क्रियाकलापको स्पष्ट खाका कोरिने बताउनुभयाे ।

बजेटले सूचना प्रविधि क्षेत्रमा लिएका नीति कार्यान्वयनका लागि नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणले त्यही अनुरूप बजेट बनाइरहेको बताउँदै स्वदेशमा बनेका सफ्टवेयरलाई स्वदेशमै खपत गराउन सरकार लागिपरेको पनि मन्त्री शर्माले जानकारी दिनुभयाे ।

काठमाण्डाै र बुटवलमा बन्ने सूचना प्रविधि पार्कमा निःशुल्क स्थान उपलब्ध गराउने र सार्वजनिक–निजी साझेदारीमा विभिन्न कार्यक्रम गरिने उहाँले बताउनुभयाे । डिजिटल इकोनोमी, स्टार्टअप र इनोभेसनको प्रवर्द्धन, रोजगारीको सिर्जना, डिजिटल गर्भनेन्सको सुधारका लागि सरकारले आवश्यक नीति र कानुनको परिमार्जन गर्दै अघि बढ्ने शर्माले प्रतिबद्धता जनाउनुभयाे ।

मन्त्री शर्माले आउँदाे आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रूपमा अगाडि बढाउने र सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाका रुूमा स्थापित गर्ने धारणा राख्नुभयाे । सूचना प्रविधिमार्फत् अर्थतन्त्रको विकास र रोजगारी सिर्जनाका निम्ति सरकारले अगाडि बढाएका कार्यक्रम प्रभावकारी तुल्याउन र प्रविधिको प्रयोगमार्फत आर्थिक सामाजिक रूपान्तरण गर्न सकिने उहाँले स्पष्ट पार्नुभयाे ।

मन्त्री शर्माले २०७६ सालमा शुरु भएको डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयाे । आईटी क्षेत्रमा एक लाख जनशक्ति कार्य गरिरहेको र सरकारसँग स्पष्ट तथ्याङ्क नभएकाले गाह्रो भइरहेको उहाँकाे भनाइ छ ।

नीतिगत अस्पष्ट र पुराना कानुन भएकाले समस्या भएको भन्दै शर्माले विद्यमान कानुनले अहिलेको आवश्यकता पूरा गर्न नसक्ने र त्यसका लागि कानुन सुधार गर्न सरकार लागिपरेको बताउनुभयाे ।

सार्वजनिक निजी साझेदारीमा ज्ञान पार्क बनाउने, स्नातक पढिरहेकालाई इन्टर्न गराउने, उद्यमशील वातावरण बनाउने, नवप्रवर्तन आयोग बनाउने कार्यहरू सूचना प्रविधि दशकका कार्यक्रम भएको पनि उहाँले बताउनुभयाे । साइबर सुरक्षा नीति २०८० जारी गरिएको जानकारी दिँदै मन्त्री शर्माले नयाँ कानुन बनाउन सबैको सहयोग र सुझाव आवश्यक भएको उल्लेख गर्नुभयाे ।

कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले विगतमा ल्याएको पर्यटन र ऊर्जाको लक्ष्यबाट देखिने गरी लाभ लिन नसकिरहेको परिवेशमा सूचना प्रविधि दशक पनि त्यस्तै हुने त होइन भनेर चिन्ता प्रकट गर्नुभयाे ।

यस्तै कार्यपत्र प्रस्तुत गर्दै आईआईडीएसकी परामर्शदाता डा. अमृता शर्माले डिजिटलाइजेसन म्याजिक नभएकाले राजनीतिक प्रतिबद्धतासहित स्थिरता आवश्यक रहेको धारणा राख्नुभयाे । यो वर्ष प्रविधि दशकको प्रस्थान वर्षको रूपमा रहेको र डिजिटल नेपाल फ्रेमवर्क सही मार्गमा आउनुपर्ने उहाँले बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘आईटी दशकका लागि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण आवश्यक छ र सरकार व्यवसाय प्रवर्द्धक र सम्वर्द्धकका रूपमा बस्नुपर्दछ ।’

परराष्ट्र मन्त्रालयले टेक डिप्लोमेसी गर्नुपर्ने आवश्यकता रहेको बताउँदै नेपालको प्रविधि उद्योगलाई विश्वभरि पुर्‍याउन दूतावासहरूले भूमिका खेल्नुपर्ने डा. शर्माकाे भनाइ छ  नेपालमा अहिले १० हजार प्रतिवर्ष आईटी जनशक्ति उत्पादन भइरहेको र एक खर्ब रुपैयाँकाे सेवा निर्यात भइरहेको उहाँले जानकारी दिनुभयाे ।

अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले सूचना प्रविधि दशकको घोषणा महत्त्वाकाङ्क्षी लक्ष्य नभई आईटीमा भइरहेको प्रगतिले गर्दा योजना भएको बताउनुभयाे । आईटीका एक्सपर्ट र उद्यमीसँग छलफल गरेर ल्याएको योजना भएकाले यो लक्ष्य प्राप्त गर्न सहज हुने उहाँकाे भनाइ छ ।

लोटस होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत अजित विक्रम शाहले यो लक्ष्य हासिल गर्न १० वर्ष पनि नलाग्ने आफ्नो आकलन रहेको सुनाउनुभयाे । यो क्षेत्रमा सहजता भएमा लगानी गर्न निजी क्षेत्र तयार रहेको उहाँले बताउनुभयाे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका लगानी तथा अन्तर्राष्ट्रिय मञ्चका अध्यक्ष मनोज पौडेलले अहिले आईटी क्षेत्रको विकास १६ दशमलव ८९ प्रतिशत वृद्धि भइरहेको बताउँदै लक्ष्य हासिल गर्न ३६ प्रतिशत वृद्धि गरिरहनुपर्ने आवश्यक रहेको बताउनुभयाे ।

किम्बु टेकका प्रमुख कार्यकारी अधिकृत कर्भिका थापाले सूचना प्रविधि दशकलाई सफल पार्न गाउँगाउँमा जनचेतना जागृत गर्नुपर्ने र प्रत्येक विद्यालयमा कम्प्युटर राख्ने मात्र नभई चलाउन प्रोत्साहन दिनु आवश्यक रहेको बताउनुभयाे । भू–राजनीतिक स्थितिले गर्दा विदेशीको आकर्षणको केन्द्रको रूपमा नेपाल रहेको र छोरीलाई आईटीमा एस्पर्ट बनाई नेपालमा बसेर विदेशको काम गर्ने वातावरण आईइटी दशकले बनाउने उहाँकाे विश्वास छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया