१४ कथा : युद्धका जीवित स्मृति (फोटो फिचर)

 मंसिर ५, २०७५ बुधबार २०:१:१२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी –  सशस्त्र द्वन्द्वको समयमा अपाङ्ग भएर संघर्षपूर्ण जीवन बिताइरहेका व्यक्तिहरुको आज म्याग्दीमा फोटो प्रदर्शन भएको छ । 

अपाङ्ग संघ म्याग्दी र द्वन्द्वपीडित अधिकार समाज म्याग्दीको संयुक्त आयोजनामा द्वन्द्वमा परेर घाइते भई अपाङ्गता भएका देशभरका १४ जना व्यक्तिहरुको फोटो प्रदर्शनी गरिएको हो । 

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुगेको अवसरमा बुधबार दशवर्षे सशस्त्र द्वन्द्वलगायतका घटनामा परेर अङ्गभङ्ग भएका नागरिकहरुको जीवनीसहितका फोटो तथा पृष्ठभूमि प्रर्दशन गरिएको थियो ।

त्यसैअवसरमा द्वन्द्वको क्रममा अपाङ्ग बनेका व्यक्तिहरुले समाजमा भोगेका कथाव्यथा, पीडा र भोगाइलाई पन्छाउँदै अगाडि बढेका संघर्षका कथाहरु समेटिएको ‘१४ कथाहरु : युद्धका जीवित स्मृतिहरु’ भन्ने पुस्तक पनि विमोचन भएको छ । 

पुस्तकको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले विमोचन गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका सरकारी अधिकारीहरु, जनप्रतिनिधि, क्याम्पस तथा विद्यालयका प्राध्यापक, शिक्षक र विद्यार्थी, सरोकारवाला व्यक्ति एवं संघसंस्थाका प्रतिनिधिहरुले फोटो अवलोकन गरेका थिए । 

फोटो प्रर्दशनीमा देशभरका १४ जनामध्ये म्याग्दीका दुईजना द्वन्द्वपीडितको फोटो कथा समेटिएको छ । तत्कालीन द्वन्द्वको समयमा बम पड्किएर दुवै हात गुमाएर संघर्षपूर्ण जीवन बिताउन बाध्य ३२ वर्षीय सुरेन्द खत्री र ६७ वर्षीय कृष्णलाल श्रेष्ठको वृत्तचित्र प्रर्दशन गरिएको थियो ।

खत्रीले बाख्रा चराउन गएको बेला बम पड्किएर दुवै हात गुमाउनुभएको थियो भने श्रेष्ठले २०६० साल चैत ७ गते भएको म्याग्दी भिडन्तमा परेर एउटा खुट्टा गुमाउनु भएको थियो । म्याग्दी भिडन्तमा ठूलो जनधनको क्षति भएको थियो । 

कार्यक्रममा बोल्दै म्याग्दीका प्रजिअ अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुलाई आफन्तले मायाममता दिएर पुनसर््थापना गरेको हुँदा समाजमा सकारात्मक सोच लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले द्वन्द्वपीडित व्यक्तिहरुलाई स्थानीय तहको तर्फदेखि आवश्यक सबैखाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । 

द्वन्द्वका १४ जीवित स्मृतिहरुको कथा रहेको वृत्तचित्र देशभर प्रर्दशन गरिएको जनाइएको छ । अपाङ्ग संघ म्याग्दीका सचिव सुरेन्द्र खत्रीले द्वन्द्वकालमा घाइते बनाइएका र अपाङ्गता भएका व्यक्तिहरुको पीडालाई सबैमाझ ल्याउने उद्देश्यले फोटो प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।

तत्कालीन राज्यपक्ष र विद्रोही पक्षबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया