आफन्तको आक्रोश : हत्या हुँदैछ भनेर जानकारी गराउँदा पनि प्रहरीले सुरक्षा दिएन

 मंसिर ६, २०७५ बिहिबार १०:३१:१९ | सुमन पुरी
unn.prixa.net

सुनसरी – सुनसरीमा हतियार भित्रिएको आशंकामा मंसिर ३ गतेदेखि नै प्रहरी परिचालन भएको थियो । सुनसरीको खनार, दुहबी र सोनापुर क्षेत्रमा प्रहरीले खानतलासी पनि गरेको थियो । तर प्रहरीले खानतलासी गरिरहेको बेला मंसिर ५ गते बिहानै दुहबी ९ का फिदा हुस्सेनको गोली हानी हत्या भयो । 

दुहबी ९ का फिदा हुस्सेनको हत्या घर नजिकै हत्या हुँदा अहिले दुहबी क्षेत्रमा तनाब छ । स्थानीय मुस्लिम समुदायको आपत्ति छ –‘प्रहरीलाई खबर गर्दा पनि सुरक्षा दिन नसक्नु प्रहरीको लापरबाही हो ।’ मृतकका आफन्त तथा दुहबी वडा नम्बर ९ का वडाध्यक्ष मेहदी हुस्सेनले हत्या भएपछि बुधबार प्रशासन र राजनीतिक दलसँगको सर्वपक्षीय बैठकमै भन्नुभयो –‘हामीले असुरक्षित छौं भनेर प्रशासनलाई भन्दा पनि किन सुरक्षा प्रदान गर्न प्रहरीले सकेन ।’ 

मेहदी हुस्सेनले बैठकमा आफूलाई पटक–पटक जेलबाट ज्यान मार्ने धम्की आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘जेलबाट पहिला तेरो भाइलाई मार्छु त्यसपछि तेरो पालो भन्दै धम्की आएको छ ।’ तर उहाँले कसले र कुन विषयमा धम्की दिएको भन्नेचाहिँ खुलाउनु भएन । 

बैठकमा सहभागी प्रदेश सांसद लिलम बस्नेतले वडाध्यक्षले बैठकमै प्रहरीसँगको असन्तुष्टी पोखेको बताउनुभयो । दुहबी ९ का स्थानीय फिदा हुस्सेनको बुधबार उहाँ कार्यरत इँटा भट्टा अगाडि गोली हानी हत्या गरिएको  हो । 

रहस्यमय घटना 

मुश्लिम समुदायले  यसअघि भएका मुश्लिम अगुवाहरुको हत्याको श्रृंखलासँग फिदा हत्यालाई पनि हेरेका छन् । तर प्रहरीले भने दुई महिना अघि भुटाहामा गोली हानी हन्या गरिएका खुर्सीद अन्सारीको  हत्याभन्दा फरक प्रकृतिको हत्या भएको  प्रारम्भिक निष्कर्ष निकालेको छ । सामान्य आर्थिक अवस्था र सामाजिक हैसियत भएका फिदाको हत्या आपराधिक गतिविधिसँग जोडिएको प्रहरीका एक अधिकारीले बताए । ‘अहिले हामी अनुसन्धानमै छौं । अहिले नै यही हो भन्ने निश्कर्षमा पुगेका छैनौं’ उनले भने, ‘केहीदिनमै अपराधी पक्राउ पर्छ ।’

जयबाबा इँटा उद्योगको स्थापना कालदेखि व्यवस्थापकको रुपमा काम गर्ने फिदालाई भट्टाको सम्पूर्ण कारोबारको जिम्मा  भट्टा सञ्चालक खगेन्द्र श्रेष्ठले दिनुभएको थियो । योसँगै फिदा र श्रेष्ठले भारतबाट कोइलाको व्यपारसमेत गर्दे आउनु भएको थियो भने जग्गा कारोबारमासमेत उहाँको संलग्नता रहेको बताइन्छ । 

पीडित परिवारले ५ सूत्रीय माग राखेका छन् ।  हत्यामा संलग्न अपराधीलाई पक्राउ गर्नुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने, गृहमन्त्री आएर शान्ति सुरक्षाको प्रत्याभूति दिनुपर्र्नेे र मृतकका परिवारलाई रोजगारीको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । 
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया