स्वामित्व नपाउँदा जिल्लाका विकास आयोजनाहरु अलपत्र

 मंसिर ११, २०७५ मंगलबार १७:४८:५० | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – जिल्लाका ठूला सडक र पुलका योजनाहरु कुन तहको सरकारले हेने भन्ने निक्र्योल नहुँदा यस्ता योजनाका काम प्रभावित भएको छ ।

भिमढुंगा लामीडाँडा सडक ११ किलोमिटरमा ड्रेनसहितको ओटासिल गर्ने काम २०७५ जेठ २० गते निर्माण सम्पन्न गरिसक्नु पर्नेमा तीन तहको सरकारमध्ये कसले कसरी योजना हेर्ने भनेपछि अन्योल भएको छ । जिम्मेवारी कसले लिने भन्ने कुरामा अन्योल हुँदा भौतिक प्रगति ७५ प्रतिशत मात्रै सकिएको छ ।

अनुगमन गर्ने, रकम भुक्तानी गर्नेजस्ता काम नभएको कारण देखाउँदै आसिस सूर्यचन्द्र जेभि ठेकेदार कम्पनीले ५ किलोमिटर ओटासिल गरेर काम अघि बढाएको छैन । तीन तहमध्ये कसले कामको स्वामित्व लिने भन्ने विषय टुंगोमा नपुग्दा राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण कार्यक्रम अन्तरगत निर्माण हुँदै गरेका धादिङबेसी तिप्लिङ सडकको काम समेत रोकिएको थियो ।

केही समयअघि ठेकेदार कम्पनीलाई फागुन मसान्तसम्म २८ किलोमिटर सडक ग्राभेल गर्न समय थप गरेपछि लामा महालक्ष्मी जेभी ठेकेदार कम्पनीले काम अघि बढाएको धादिङ पूर्वाधार विकास कार्यालयका इञ्जिनियर विष्णुप्रसाद रिजालले बताउनुभयो ।

यसैगरी यस वर्ष निर्माण सम्पन्न गरिसक्नु पर्ने ९ पक्की पुलमध्ये तीन पुल अझै सम्पन्न भएका छैनन् । धादिङबेसी तिप्लिङ सडकको डुण्डुरेमा निर्माण गरिने पुल दुई पटकसम्म डिजाइनमा परिवर्तन गरिएपछि हालैमात्र काम सुरु भएको छ ।

अन्य दुई पक्की पुल निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेको रिजालले उज्यालोलाई बताउनुभयो । निर्माणधीन अवस्थामा रहेका सडक, पुललगायत अन्य विकासका कामहरु रोकिएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

गएको आर्थिक वर्षहरुमा ठेक्का सम्झौता भएका विकासका कामहरुमा रकमको अभावका कारण ठेकेदार कम्पनीहरुले पूरा गरेका छैनन् । मुलुक संघीय प्रणालीमा गएसँगै  यस्ता विकासका कामहरुका लागि आवाश्यक रकम प्रदेश सरकराले दिने वा संघीय सरकारले दिने भन्ने विषयको अन्यौलताका कारण यस्तो अवस्था आएको हो ।

सडक निर्माण लगायतका विकासका कामहरु पहिले संघीय सरकार अन्तरगत रहेको सडक विभागले ठेक्का लगाएर काम सुरु भएको थियो । संघीय सरकारपछि स्थानीय सरकार आएपछि त्यसको स्वामित्व कसले लिने भन्ने टुंगो नलाग्दा ती काम अधुरो भएका छन् ।

धादिङको विकासलाई निरन्तरता दिनका लागि जिल्ला समन्वय समिति धादिङले भने विशेष पहल गरिरहेको बताएको छ । अहिले धादिङमा दर्जनौ सडक निर्माणको काम प्रभावित भएको छ ।

सडक कालो पत्रे गर्नका लागि तयारी अवस्थामा रहेको धादिङवेसी सुनौला बजार फोस्रेटार सडकको काम ठप्प भएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया