दशजगा कब्जा गर्दै भारतीय पक्षले सडक खनेपछि...

 पुस १०, २०७५ मंगलबार १९:२:४३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – विराटनगरको मुख्य बजारबाट झण्डै २० मिनेटको मोटरसाइकल यात्रापछि पुगिने जहदा गाउँपालिकाको वडा नम्बर १ मा भारतीय पक्षले सोमबार बिहान सडक निर्माणको काम थाल्यो ।

सडक निर्माणको काम बिहान झण्डै ८ बजेदेखि शुरु भएको थियो । शुरुमा त स्थानीयले सडक निर्माणको काममा खासै वास्ता गरेनन्, जब डोजर आएर धमाधम सडक निर्माण गर्न सुरु भयो, अनि स्थानीयवासी झस्किए ।

केही स्थानीयवासी  सडक बनाइरहेको ठाउँमा गए तर भारतीय पक्षले उनीहरुले भनेको कुरा वास्तै नगरी काम गरी रह्यो । उनीहरुले उल्टै स्थानीयवासीलाई झपारेर फर्काए ।

भर्किएका स्थानीयवासीले पत्रकार, वडा अध्यक्ष र प्रहरीलाई खबर गरे । सोमबार दिनभरी भारतीय जेसीबीको प्रयोग गरी भारतीय ठेकेदार कम्पनीले काम गरेको भए पनि  सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयबाट आएको टोलीले  दशगजामा सडक निर्माण गरेको बारेमा भारतीय सुरक्षा कर्मीसँग छलफल थाल्यो ।

दशगजा मिचेर भएको सडक निर्माण स्थानीय प्रशासनले रोकेको  थियो । यसपछि गल्ती स्वीकार गर्दै भारतीय पक्षले सडक भत्काउन थालेको सशत्र प्रहरी बल ३ नम्बर गण हेडक्वार्टर मोरङका उपरीक्षक मनिष थापाले जानकारी दिनुभयो ।

भारतको विहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत ४ को आमगाछी मुसहरी बस्तीका दुई गाउँ जोड्न दशगजा मिचेर भारतले सडक निर्माणको काम शुरु गरेको थियो । बिहारका बिधायकको कोषबाट दशगजामा सडक निर्माण भएको जानकारी पाएलगत्तै भत्काउन लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

दशगजा मिचेर झण्डै २ सय मिटर सडक निर्माणका लागि माटो थुपारिएको थियो । मंगलबार बिहान भारत र नेपाली पक्षबीचको छलफलपछि थुपारिएको माटो भत्काउने सहमति भएको हो ।

भारतीय सीमा सुरक्षा बल एसएसबीसँग समन्वय गरी मंगलबार बिहानबाट सडक भत्काउन स्काभेटर प्रयोग गरिएको हो । ठेकेदारले निर्माण गर्नुपर्ने स्थानभन्दा ३५ मिटर उत्तर दशगजामा सडक खनेको थियो ।

भारतीय एसएसपीसँगको छलफलमा भारतीय पक्षले गल्ती स्वीकार गरेका छन  । भारतीय बिहारका विधायक मनचन केशरीको विधायक फण्डबाट उक्त सडक निर्माण सुरु गरिएको थियो ।

दशगजामा रहेको १७४÷२ नम्बरको चारपाटे पिलरभन्दा झण्डै ३ सय मिटर वरसम्म एक्जाभेटरले खनेर सडक निर्माण गरेको थियो । त्यो ठाउँमा सडक निर्माण भएपछि लोहन्द्रा र जुडी खोलाको पानी वर्षायाममा थुनिएर जहदाको वडा नम्बर १ र विराटनगर महानगरपालिकाको वडा नम्बर १४ र १७ जलमग्न हुनेछ ।

उक्त स्थानमा नेपालतर्फ दशगजा क्षेत्र विद्यमान रहे पनि भारतीय किसानहरुले दशगजा मासेर खेती समेत गर्दै आएका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया