गाउँपालिकामा पहिलोपटक बिजुली पुगेपछि नाचे स्थानीयवासी

 पुस १६, २०७५ सोमबार १६:३०:३६ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सल्यानको दुईवटा गाउँपालिकामा पहिलो पटक बिजुली बत्ती पुगेपछि स्थानीयको खुशीको सीमा नै रहेन ।

दार्मा गाउँपालिका र कुमाख गाउँपालिकामा एकै पटक बिजुली बत्ती पुगेपछि स्थानीयवासी नाचगान गरेरै रमाए । ‘एकवर्ष अघिसम्म स्थानीय तहको चुनावपछि हामी गाउँमा बिजुली बत्ती ल्याउछौं भनेको सुन्दा कोहीले पनि विश्वास गर्दैनथ्यौं’, कुमाख गाउँपालिकाका ८२ वर्षीय दिलु रानाले भन्नुभयो, ‘तर सोमबार गाउँमा बिजुली बलेको देख्दा हामी दंग परेका छौं ।’ 

आफ्नो उमेरमै गाउँमा बिजुली बत्ती बाल्ने कल्पना नरहेको उहाँले बताउनुभयो । कुमाख गाउँपालिकाको वडा नम्बर ३ रागेचौरमा पुस १४ गते र दार्मा गाउँपालिकाको वडा नम्बर ६ चिप्लेमा पुस १३ गते  बिजुली बत्तीको उद्घाटन  गरियो ।

गाउँपालिका अध्यक्ष दिलमाया बुढाले ‘स्विच अन’ गरेपछि बत्ती बल्यो । झण्डै ६५ लाख बराबरको लागतमा गाउँमा बिजुली बत्ती पुर्याउन सफल भएको अध्यक्ष बुढाले बताउनुभयो । अध्यक्ष बुढाले चुनावको समयमा नागरिकसँग गरेका प्रतिवद्धता मध्येको एक प्रतिवद्धता पूरा गरेको बताउनुभयो । तत्काल  ३ र ४ नम्बर वडाका केही टोलमा बिजुली बत्ती बल्ने र आफ्नो कार्यकाल भरी सबै वडामा बिजुली बत्ती र्पुयाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

‘रागेचौरमा बिजुली विस्तार भएसँगै अब विकट मानिने गाउँपालिकाका सबै सडकमा बिजुली पुर्याउने गरी विद्युत गुरुयोजना निर्माण गरिएको छ’, उहाँले भन्नुभयो । गाउँमा बिजुली नहुँदा सबैभन्दा बढी महिला र बालबालिकाहरू मारमा पर्ने गरेकेमा अब भने केही राहत हुने गाउँपालिका उपाध्यक्ष डिल्लीराज जैशीले बताउनुभयो ।

‘बालबालिकाहरू अध्याँरोमा पढ्नु पर्ने बाध्यता र महिलाहरू अँध्यारोमै घरायसी काम गर्नुपर्ने बाध्यता थियो तर अब केही स्थानमा त्यो समस्या कम भएको छ’, उहाँले भन्नुभयो । यस्तै दार्मा गाउँपालिका पनि पहिलो पटक बिजुली बत्ती पुगेको छ ।

दार्मा गाउँपालिकाको ६ चिप्ले बाहुन गाउँमा पहिलोपटक बिजुली बत्ती बलेपछि स्थानीयको खुशीको सीमा नै छैन । चिप्लेमा बत्तीको उद्घाटन गर्दै दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले नागरिकका आवश्यकता परिपूर्ति गर्न इमान्दार भई लागि रहेको र आफ्नो कार्यकालभित्र दार्मा गाउँपालिकाका आधा घरधुरीमा बिजुली पुग्ने विश्वास व्यक्त गुर्न भएको छ ।

झण्डै ४३ लाखको लागतमा चिप्लेमा बिजुली बत्ती बलेको उहाँले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया