गाउँपालिका अध्यक्षविरुद्ध घरेलु हिंसा मुद्दा दर्ता

 पुस २६, २०७५ बिहिबार १७:४५:० | अमर सुनार
unn.prixa.net

दैलेख – नौमूले गाउँपालिकाका अध्यक्षले आफूलाई कुटपिट र मानसिक यातना दिने गरेको भन्दै उहाँकी पत्नी ४२ वर्षीया दिलमाया बुढाले दैलेख जिल्ला अदालतमा आज घरेलु हिंसा मुद्दा दर्ता गराउनुभएको छ ।

नौमूले गाउँपालिका–३, द्वारी घर भई हाल नौमूले गाउँपालिकाका निर्वाचित अध्यक्ष ४३ वर्षीय भदे बुढा मगरले पुस ११ गते कुटपिट गरेको भन्दै दिइएको उजूरीमा माओवादी युद्धताका घरमा जेठी पत्नी हुँदाहुँदै २०५८ मंसिर ९ गते ललाइफकाई, प्रपञ्च गरी कान्छी पत्नी बनाएको उजुरीमा उल्लेख छ ।

यो उजुरीमा विवाहलगत्तै भारतको जोशीमठ पुगेर मजदुरी गरी कमाएको रकमले बुटवलको देबीनगरमा किनेको जग्गामा जेठी पत्नी धनकली बुढा र उहाँबाटका दुई छोराहरुलाई मात्र घर बनाई त्यहाँ बसालेको तर बेवास्ता गरेको उल्लेख छ । 

अध्यक्ष बुढाले आफूलाई गरेको कुटपिट घरेलु हिंसा (कसूर र सजाय) ऐन २०६६ को दफा ३ अनुसार कसूर भएकाले उपदफा १३ को उपदफा १ (क) बमोजिम सजायको मागदावी गरिएको छ । त्यो दफामा २५ हजार रुपैयाँसम्म जरिवाना र ६ महिनासम्म कैद हुने कानुनी व्यवस्था छ । 

आरोपित आफ्ना श्रीमान् गाउँपालिकाको अध्यक्ष पदमा बहाल रहेको बेला आफूमाथि कुटपिट गरेको कारण घरेलु हिंसा (कसूर र सजाय) ऐन २०६६ को दफा १३ उपदफा (४) बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिलाई हुने १० प्रतिशत थप सजाय समेत पाऊँ भनी उजुरीमा खुलाइएको छ ।    

यसबारे प्रतिक्रिया माग्दा अध्यक्ष बुढाले भन्नुभयो, ‘म सबैको हित र कल्याण गर्दै आएको व्यक्ति घर मिलाउन प्रयत्न गर्दै थिएँ, कोही उचाल्ने पछार्नेहरुको लहलहैमा उजुरी पर्‍यो होला ।’ कानुनी प्रक्रियामा गएकोले बाँकी सबै अदालतमा बताउने गाउँपालिका अध्यक्ष बुढाले टिप्पणी गर्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया