भारतमा नसालु पदार्थ खुवाएर नेपालीलाई लुटियो, घटनाबारे जानकारी गराएपछि बेपत्ता

 माघ ५, २०७५ शनिबार ७:१८:३१ | अमर सुनार
unn.prixa.net

दैलेख – भारतमा मजदूरी गरेर नेपाल फर्किँदै गरेका दैलेखको सदरमुकाम नारायण नगरपालिका–४ सोत गाउँका ४० वर्षीय भक्तबहादुर कटुवाल र ३४ वर्षीय चक्रबहादुर सुनार भारतको उत्तर प्रदेशमा पर्ने हरिद्वारमा बेपत्ता भएका छन् । 

उत्तराखण्ड प्रदेशको रुद्रप्रयागबाट घर फर्किने क्रममा पुस २८ गते दिउँसो अपरिचित व्यक्तिहरुको समूहले नसालु पदार्थ राखिएको चिया खुवाएर बेहोस पारी ८७ हजार भारतीय रुपैंयाँ लुटिएको जानकारी आएको नारायण नगरपालिका–४ की वडा सदस्य खगिसरा सुनारले जानकारी दिनुभयो । 

घरबाटसमेत सँगै रुद्रप्रयाग पुगेर साढे दुई महिना मजदूरी गरी साथै फर्किएका उनीहरुलाई दिउँसोको समयमा बसपार्क नजिक अपरिचित व्यक्तिले दिएको चिया हातमा लिए लगतै बेहोस बनाई नगद, लत्ता कपडा, मोबाइलसमेत सबै सामान लुटिएको भक्तबहादुरकी भाइबुहारी पुष्पा कटुवालले बताउनुभयो । 

घटनाको पाँचौ दिन हरिद्वार नजिकको एक जंगलमा आफ्नो होस खुलेपछि नजिकको बस्तीमा आएर चक्रबहादुरले घर परिवारको मोबाइलमा गएको बिहीबार मात्र सम्पर्क गर्नुभएपछि घटनाबारे थाहा भएको हो ।

घटनाबारे घरपरिवारलाई जानकारी गराएपछि फेरि चक्रबहादुर बेपत्ता हुनुभएको छ । होस खुलेपछि सम्पर्क गराइदिने ती नेपाली व्यक्तिलाई कलब्याक गर्दा ‘त्यो बेला कुरा गराइदिएको हो, चक्र त बिहीबार नेपाल गइसक्नुभयो’ भनी जवाफ फर्काएपछि उनीहरुको खोजीमा थप जटिलता पैदा भएको छ । हरिद्वारबाट नेपालगञ्ज १० घण्टामा र ढिलोमा दोस्रो दिन शुक्रबार दैलेख आइसक्नुपर्नेमा उनीहरु अझै बेखबर छन् ।

सम्पर्कमा ल्याइदिने व्यक्तिले ५ हजार भारतीय रुपैयाँ आईएमईबाट पठाउन लगाएको थियो । त्यो रकम प्राप्त गरेपछि फोन नउठेकाले थप शंका पैदा भएको चक्रबहादुरका छोरा नरेश सुनारले बताउनुभयो । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दैलेखको पहलमा हरिद्वारमा रहेका दैलेख पिपलकोटका रामप्रसाद जोशी र रुद्रपुरका मनोज थापाले शुक्रबार दिनभर त्यहाँका प्रहरीलाई जानकारी गराएर र सम्भावित सूचनाका आधारमा खोजी गर्दासमेत पत्ता लाग्न सकेको छैन ।    

   


 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया