निर्मला हत्याकाण्ड : उजुरी परेका प्रहरीसँग बयान सुरु, विष्ट र जिसी सम्पर्कमा आएनन्

 फागुन २३, २०७५ बिहिबार १५:३२:५७ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – निर्मला हत्याकाण्डमा प्रमाण मेटेको आरोपमा उजुरी परेका प्रहरीहरुसँग जिल्ला अदालत कञ्चनपुरले बयान लिन सुरु गरेको छ । 

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खडकसिंह विष्टले प्रहरीविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् ।

सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी र दिलिपसिंह विष्टका दाजु खडग विष्टको जाहेरीका आधारमा तत्कालीन एसपी डिल्लीराज विष्टसहित आठ प्रहरीविरुद्ध छुट्टाछुट्टै मुद्दा बुधबार अदालतमा दायर भएको हो ।

उजुरी परेका आठजना प्रहरीमध्ये तत्कालीन एसपी डिल्लीराज विष्ट र सीआईबीका डीएसपी अंगुर जिसीबाहेक अन्य ६ जना प्रहरी अदालतमा उपस्थित भएको जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी कृष्णदत्त भट्टले बताउनुभयो । 

उनीहरुविरुद्ध हत्याकाण्डको अनुसन्धानमा प्रमाण नष्ट गरेको र पक्राउ परेका अभियुक्तलाई यातना दिएको अभियोगसहित मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो । 

भट्टका अनुसार दिलिपसिंह विष्टलाई यातना दिएकोे अभियोगमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख तथा बर्खास्तीमा परेका एसपी डिल्लीराज विष्ट, सीआईबीका डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेटी र प्रहरी निरीक्षक एकेन्द्र खड्काविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ ।

त्यस्तै, घटनासम्बन्धी प्रमाण नष्ट गरेको अभियोगमा तत्कालीन एसपी डिल्लीराज विष्ट, डीएसपीहरु अंगुर जिसी र ज्ञानबहादुर सेटी तथा प्रहरी निरीक्षकहरु एकेन्द्र खड्का तथा जगदीशप्रशाद भट्ट, सई हरिसिंह धामी, असई रामबहादुर धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध मुद्दा दर्ता गरिएको छ । 

अदालतमा उपस्थित भएका प्रहरीसँग अदालतले बयान लिइरहेको जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी कृष्णदत्त भट्टको भनाइ छ । 

यता, प्रहरीले भने एसपी विष्ट र डीएसपी जिसी सम्पर्कमा नआएको भन्दै जिल्ला अदालतमा हाजिर गराउन नसकेको जनाएको छ । 

भीमदत्त नगरपालिका–२, की १३ वर्षीया बालिका निर्मला पन्तको गएको साउनमा बलात्कारपछि हत्या भएको थियो । तर हत्याकाण्ड भएको सात महिना बितिसक्दा पनि अझै हत्यारा पक्राउ पर्न सकेको छैनन् ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया