बन्दले दैलेख प्रभावित, जिल्ला प्रहरी कार्यालयको ढाेकै अगाडिका बैंक पनि पूरा खुलेनन्

 फागुन ३०, २०७५ बिहिबार १५:३७:२९ | अमर सुनार
unn.prixa.net

दैलेख – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण दैलेखको जनजीवन प्रभावित भएको छ । 

झण्डै एक साता अघिदेखि सामाजिक सञ्जालमा प्रचार भएका कारण विद्यालय र सार्वजनिक यातायात बन्द गर्ने अघिल्लो दिन नै निश्चित गरिएको थियो । 

स्थानीय तहका कार्यालहरु खुले पनि प्रायः वडा कार्यालयहरु बन्दका कारण खोल्न आँट गरेनन् । ठाटीकाँध गाउँपालिका–५ ठिमुरेस्थित वडा कार्यालय नजिक गएराति विप्लव समूहले राँके जुलुस गरेका कारण आज वडा कार्यालय खोल्न नसकिएको कार्यवाहक वडाध्यक्ष सगुन बिकले बताउनुभयो । 

बन्दको प्रभाव सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला सदरमुकाममै पनि देखियो । जिल्ला प्रहरी कार्यालयको ठिक अगाडि रहेका सिद्धार्थ बैंकले च्यानल गेट नै खोलेन । मेगा बैंकले आधा ढोका खोले पनि सेवाग्राही नै आएनन् । 

जिल्ला सदरमुकाममा रहेको अर्को बैंक एनएमबीमा पनि सेवाग्राही नआएको निमित्त प्रवन्धक रवि थापाले जानकारी दिनुभयो । ‘बैंकका ढोका बन्द थिए, सेवाग्राही कसरी पुगून ?’, बैंक बन्द रहेछ भनेर आफू फर्किएको व्यापारी पवित्रा थापाले बताउनुभयो । 

सहयात्रा परियोजना छँदा सबै किसिमका बन्दको बेला पनि विद्यालय खोल्ने नीतिअनुसार विद्यालय शान्ति क्षेत्र घोषणा भएका विद्यालय पनि बन्द रहे । ‘त्यतिबेला शान्ति क्षेत्र घोषणा गरे, अहिले डर लाग्यो होला’, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख खगेन्द्रबहादुर मल्लले टिप्पणी गर्नुभयो । 

सरकारले विप्लव समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएयता जिल्लामा सुरक्षा गस्ती कडा पारिएको छ । 

कर्णाली प्रदेशमा विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको गृह जिल्ला कालिकोट पहिलो, रुकुम दोश्रो र दैलेख तेश्रो प्रभावित जिल्लाको रुपमा लिइन्छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया