पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण

 बैशाख ५, २०७६ बिहिबार ६:५५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू–उपग्रह प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ ।

नेपालले पहिलो पटक आफ्नो सानो आकारको भूउपग्रह अर्थात् ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाएको हो ।

जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठसहितको वैज्ञानिक टिमले भूउपग्रह अर्थात ‘नानो स्याटेलाइट’ निर्माण गरेको हो । भूउपग्रह निर्माणको नेतृत्व विश्वविद्यालयका वरिष्ठ अन्तरिक्ष वैज्ञानिकले गरेका छन् । जसलाई प्रत्यक्ष रुपमा नेपाली वैज्ञानिक श्रेष्ठ र मास्केले सहयोग गरेका हुन् ।

नेपाली युवा वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठ नानाे स्याटेलाइट निर्माण गर्दै

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टका अनुसार नेपालको भू–उपग्रह नेपाली समय अनुसार बिहीवार बिहान २ बजेर ३५ मिनेटमा भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो ।

‘नेपाली स्याट–१’ नेपाली नाम दिइएको भूउपग्रहलाई अन्तरिक्षमा पठाइनुलाई सफलताको रुपमा हेरिएको छ । बर्डस्-३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देश (नेपाल, जापान र श्रीलंका) का भू-उपग्रह अन्तरिक्षमा पठाइएको हो।

स्याटेलाइटबाट के फाइदा हुन्छ ?

सानो आकारको यो स्याटेलाइटले तत्काल नमुनाको मात्रै काम गर्नेछ । अमेरिकाबाट प्रक्षेपण भइसकेपछि एक महिनासम्म ‘इन्टरनेसनल स्पेस’मा बस्नेछ । यसपछि बिस्तारै यसलाई नेपाली आकाशको माथि ल्याउने प्रयत्न हुनेछ ।

जसबाट नेपालको भूभाग, मौसमी अवस्था, भौगोलिक बनाउटबारे अध्ययन गर्न सहज हुनेछ । अहिले महंगो मूल्य तिरेर भारत, चीनलगायत तेस्रो देशको स्याटेलाइटबाट काम चलाइरहेको नेपालले यसपछि ‘मेगा स्याटेलाइट’ निर्माण सुरु गर्नेछ ।

यसका लागि नास्टले खुमलटारमा रहेको आफ्नो कार्यालय परिसरमा ‘ग्राउण्ड स्टेशन’ निर्माण गर्दैछ । झण्डै २० लाखको लगानीमा ग्राउण्ड स्टेशन निर्माणका लागि नास्टले बोलपत्रसमेत आह्वान गरिसकेको छ । जेठ २० गतेसम्म निर्माण गरिसक्ने उद्देश्य राखिएको स्टेशनका लागि विदेशबाट उपकरण मगाउने काम पनि भइसकेको छ ।

एक महिनापछि स्याटेलाइटले पठाएका तस्बिर खुमलटारमै रहेको ग्राउण्ड स्टेशनले ‘रिसिभ’ गरेर अनुसन्धानका लागि सहयोग गर्नेछ । अहिले स्याटेलाइटले पठाएका तस्बिर जापानमा रहेको क्युटेक विश्वविद्यालयको ग्राउण्ड स्टेशन, नासाको मुख्यालयमा पनि प्राप्त हुनेछन् । 

यो स्याटेलाइटले तत्कालै तस्बिर पठाउनुबाहेक अरु काम गर्ने छैन । सूचना प्रविधिका क्षेत्रमा अहिले भइरहेका सबै काम अन्तर्राष्ट्रिय स्याटेलाइटबाटै हुनेछन् । तस्बिरबाहेक नेपालको मौसमी अवस्था, पर्वतीय श्रृङ्खला, हिमनदीको अवस्थालाई अनुसन्धान गर्न पनि यसले सहयोग पुर्‍याउने छ ।

यसका साथै मेगा स्याटेलाइट निर्माण, यसको प्रक्षेपण र सञ्चालनका लागि पनि न्यानो स्याटेलाइट सहयोगी बन्नेछ । 


 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • अभिषेक कुवँर

    April 18, 2019, 7:10 a.m.

    नेपालले पनि आफ्नै भु-उपग्रह प्रक्षेपण गरेको खबरले सारा नेपालीलाई खुशी बनाएको छ।देशमा राम्रो राजनितीक अवस्था सृजना गर्न सके र ब्यबहारिक शिक्षामा जोड दिने हो भने नेपाली विद्यार्थीले पनि बिश्व हल्लाउन सक्छन् भन्ने कुराको साबित भै सकेको छ।तर कता कता मन्मा चिन्ता पनि पर्ने थाली सकेको छ कतै यी २ बैज्ञानिक युवाहरु पनि बिदेश पलायन पो हुने हुन कि?

  •  0 Reply

तपाईको प्रतिक्रिया