समृद्धिको संकल्प पूरा गर्न सबै पक्षको सहमति र सहकार्य  आवश्यक: प्रचण्ड

 बैशाख ६, २०७६ शुक्रबार १९:५:२३ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समृद्धिको संकल्प पूरा गर्न सबै पक्षको सहमति र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

तीन नम्बर प्रदेश सरकारले शुक्रबार चितवनमा आयोजना गरेको निजी क्षेत्रसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सबै पक्षको सहमति र सहकार्यबाट देशको समृद्धि र विकास सम्भव हुने बताउनुभयो ।

सहमतिका साथ विकास निर्माणमा जाने संकल्प गरेको बताउँदै उहाँले भन्नुभयो, सहमतिका साथ संविधान बनायौं, सहमतिका साथ निर्वाचन गरायौं, अब सहमतिका साथ विकास निर्माणतर्फको यात्रा शुरु गर्ने संकल्प गरेका छौं ।

आयातमुखी अर्थतन्त्रलाई विस्थापित गर्नुको विकल्प नरहेको बताउदै उहाँले निजी क्षेत्रलाई उद्योगधन्दा र उत्पादनमा लगानी गर्न आह्वान गर्नुभयो । 

सरकार र प्रतिपक्षीको सपना पनि समृद्धि नै रहेकोले यसलाई साकार बनाउन सहमति र सहकार्य गरी कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो । निजी क्षेत्रसँग सहकार्य गर्न सबै पक्ष इमान्दार हुनुपर्ने बताउँदै उहाँले सार्वजनिक र निजी क्षेत्र इमान्दारिता साथ मिलेर विकास निर्माणमा लाग्नुपर्ने  बताउनुभयो ।

निजी क्षेत्रलाई लगानीको लागि प्रोत्साहित गर्न सकिएन भने स्वदेशी र विदेशी लगानी आउँछ भन्ने सपना देख्नु दिवास्वप्न हुने उहाँले बताउनुभयो । निजी क्षेत्रलाई हेर्ने दृष्टीकोण विगतमा सकारात्मक हुन नसक्दा समस्या देखिएको बताउदै उहाँले राज्यले निजी क्षेत्रलाई विश्वास दिलाउन सक्नेगरी काम गर्नुपर्ने बताउनुभयो ।

२००७ साल, २०१७ साल, २०४६ को जस्तो परिवर्तन अहिलेको नभएको बताउँदै उहाँले अहिलेको परिवर्तन मात्रात्मक होइन गुणात्मक परिवर्तन भएको बताउनुभयो । 


कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतले विकास निर्माणका लागि योजना नीतिको समस्या नभई कार्यान्वयनको समस्या रहेको बताउनुभयो । सुन्दर योजना आएपनि कार्यान्वयन नहुनु समस्या रहेको उहाँको धारणा थियो । 

लगानीको वातावरण बढाउन संघीयतासँगै तीन तहका सरकारले आफ्नो निर्णय क्षमता र गुणस्तर बढाउनु पर्ने नेता महतले बताउनुभयो । वितरणमुखी भन्दा उत्पादनमुखी हुनुपर्ने बताउदै उहाँले विकास निर्माणका कामलाई राजनैतिक विवादको विषय बनाउन नहुने पनि बताउनुभयो ।

कार्यक्रममा उद्योगपति एवं सांसद विनोद चौधरी, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल लगायतका उद्योगी व्यवसायी र नीति निर्माताले बोल्नुभएको थियो ।

प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले तीन नम्बर प्रदेशमा लगानी गर्नेपर्ने क्षेत्रहरुको बारेमा प्रस्तुति दिनुभएको थियो । कार्यक्रम अन्तर्गत शनिबार पनि निजी क्षेत्रसँग बृहत् अन्तक्रिया गरिँदैछ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया