नेपाली स्याटेलाइट अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक जोडियो

 बैशाख ९, २०७६ सोमबार १४:४५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अन्तरिक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटेलाइट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी स्याटेलाइट वान पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाइमा रहेको पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएको हो ।

जापानमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिकद्धय आभास मास्के र इन्जिनियर हरिराम श्रेष्ठले निर्माण गरेको नेपाली स्याटेलाइट वान गएको वैशाख ५ गते नेपाली समय अनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको थियो

स्याटेलाइट ३६ घण्टा ४० मिनेटपछि वैशाख ६ गते नेपाली समय अनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको नाष्टका प्रवक्ता डा. सुरेशकुमार ढंगेलले जानकारी दिनुभयो । अबको करिब डेढ महिना पछि यो नेपाली स्याटेलाइटले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्नुका साथै प्रतिष्ठानमा निर्माण गर्न लागिएको ग्राउन्ड स्टेशनमा समेत सम्पर्क स्थापित गर्नेछ ।

नाष्टले यो नेपाली स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपणका लागि करिब २ करोड लाग्ने अनुमान पनि गरेको छ । नाष्टका प्रवक्ता ढुंगेलले यो रकम अर्थ मन्त्रालयबाट प्राप्त भैसकेको पनि जानकारी दिनुभयो । विपद् व्यवस्थापन, ग्रामिण भेगमा सूचना प्रविधिको विकासकासमेत उपयोगी हुने भएपछि नेपालले आफ्नै स्याटेलाइट अन्तरीक्षमा पठाएको हो ।

यसैबीच, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मरण गर्दै यही दिन भूकम्पीय जोखिम न्यूनीकरणसम्बन्धी अन्तक्र्रिया कार्यक्रम पनि आयोजना गर्ने भएको छ । नाष्टका प्रवक्ता ढुंगेलले नेपाल भौगर्भिक समाजको सहकार्यमा आयोजना गर्न लागिएको यो कार्यक्रम भूकम्पीय जोखिम न्यूनीकरणका लागि उपयोगी हुने पनि स्पष्ट पार्नु भयो ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया