विकासमा सामान्य सुधार मात्र होइन आमूल परिवर्तन ल्याउँछौँ : प्रधानमन्त्री ओली

 जेठ ७, २०७६ मंगलबार ६:५९:३५ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – दूरदराजका नागरिकलाई सूचनाको पहुँचमा पुर्‍याउने उद्देश्ले सरकारले मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण सुरु गरेको छ । शहरदेखि गाउँसम्म द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल टेलिकमले सोमबारदेखि ‘अप्टिकल फाइबर’ बिछ्याउने काम अगाडि बढाएको हो ।

मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण (अप्टिकल फाइभर नेटवर्क) को सोमबार धादिङको गल्छी गाउँपालिका – ४ मासटारमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले विकासका धेरै सम्भावना रहेको बताउनुभयो । 

विकासका लागि वैदेशिक लगानी र प्रविधि भित्र्याउने बताउँदै प्रधानमन्त्री ओलीले नेपाल जस्तो उर्वर देशले कृषि लगायतका खानेकुरा आयात गरेकोले यसको अत्य गर्नु पर्ने बताउनुभयो । कृषिमा आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण गर्न सरकार लागेको र यसमा नागरिकले सबै तहबाट साथ दिन उहाँले अनुरोध गर्नुभयो ।

आगामी वर्ष नेपाल तीव्र आर्थिक विकास गरेको देशको रुपमा चिनिने गरी विकास गर्न आफू प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । 

प्रधानमन्त्री ओलीले देशको विकासका लागि आगामी वर्ष रुग्ण उद्योगहरु केही सञ्चालन गरिने, खानीहरु सञ्चालनमा ल्याउने, उद्योगहरुको स्थापना गर्ने, देशबाट निर्यात गर्न सक्ने अवस्थामा कृषि सामग्री उत्पादन गर्ने, पूर्वाधार र सडक तथा अन्य विकासका कामहरु तीव्र रुपमा सञ्चालन गर्ने योजना सरकारले बनाइरहेकोले परिवर्तन सम्भव रहेको बताउनुभयो । 

शिलान्यास कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले डिजिटल नेपालको फ्रेमओर्कलाई १५ औँ योजनाले समेटेकोले चार वर्षभित्र यसले ८ अर्बको गार्हस्थ उत्पादनको योगदान गर्ने बताउनुभयो । हाम्रा पुर्खाहरु खेत नहुँदा भोकै परिन्छ भन्ने पिर गर्थे अहिले आएर मोबाइल, ल्यापटप र इन्टरनेट नभए कसरी काम गर्न सकिन्छ भन्ने अवस्थामा हामी आएको मन्त्री बाँस्कोटाले बताउनुभयो । 

प्रदेश १, २ र ३ का ३५ जिल्ला तथा मध्यपहाडी लोकमार्ग र यो लोकमार्गमा जोडिने अन्य मार्गहरुमा अप्टिकल फाइवर नेटवर्क विस्तार तथा उच्च क्षमताका उपकरण जडान गरी सूचना माहामार्ग निर्माण गर्नका लागि आयोजना सुरु गरिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । 

सोमबार शिलान्यास गरिएको परियोजनाको प्याकेज ३ अन्तरगत ५ सय ५५ किलोमिटर अप्टिकल फाइवर नेटवर्क रहने छ । प्याकेज १ र प्याकेज २ समेत गरि सूचना महामार्गमा २ हजार १ सय ७९ किलोमिटरको अप्टिकल फाइवर नेटवर्क रहने छ भने यसमा उपकरणको क्षमता १ सय जीबीपीएस रहने छ । परियोजना ३ अर्ब ६ करोड ४२ लाख ५९ हजार ९ सय २९ रुपैयाँको लागतमा २ वर्षभित्र सम्पन्न हुने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानाकारी दिनुभयो । 


 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया