सगरमाथाको शिखरमा उचाइ नाप्ने यन्त्र राखियो, उचाइ थाहा पाउन ६ महिना कुर्नुपर्ने

 जेठ ८, २०७६ बुधबार ९:१४:४४ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ – सगरमाथाको उचाइ नाप्न खटिएको नापी विभागको टोलीले सगरमाथाको शिखरमा उचाइ नाप्ने यन्त्र जीएनएनएस (ग्लाेबल नेभिगेसन स्याटेलाइट सिस्टम सर्भे) जीपीएस राखेको छ । 

ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम रिसभरको माध्यमबाट यी मेसिनले सगरमाथाको चुचुरोमा स्याटेलाइटले पठाएका डाटाहरु संकलन गर्नेछ । 

बुधबार बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको टोलीले सगरमाथाको शिखरमा यन्त्र जडान गरेर फर्किएको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

नापी विभागको तर्फबाट रविन कार्की, गाइड छिरिङजाङबु शेर्पालगायतले शिखरमा यन्त्र जडान कार्य सम्पन्न गर्नुभएको हो । शिखरमा यन्त्र जडान गरेसँगै अन्य विभिन्न स्थानमा यस अघि नै राखिएका यन्त्रहरुसँग कनेक्सन गरिएको छ ।

टोलीका दुई सदस्यहरु सुरजसिंह भण्डारी र युवराज धिताल आधार शिविरमा यन्त्र कनेक्सनको काम गरिरहेका छन् । 

शिखरमा राखेको यन्त्रसँग सोलुखुम्बुको पत्ताले लगायतका विभिन्न स्थानमा राखिएका यन्त्रसँग भएका तथ्याङकहरुले विश्लेषण गरेपछि मात्र सगरमाथाको वास्तविक उचाइ पत्ता लाग्ने यस अघि नै नापी विभागले बताएको थियो । 

तथ्याङकलाई अन्तर्राष्ट्रिय स्तरका वैज्ञानिकले तथ्याङकलाई गणितीय र ज्यामितीय हिसाबले अध्ययन गरी उचाइ टुङ्गो लगाउन कम्तीमा ६ महिना लाग्ने नापी विभागले यस अघि नै बताइसकेको छ ।

यसअघि सन् १८५६ मा बेलायतका जर्ज एभरेष्टले सर्वे गरी ८,८४८ मिटर अग्लो रहेको निष्कर्षसहित विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको प्रमाणित गरेका थिए । उनकै नामबाट सगरमाथाको नाम माउण्ट एभरेष्ट राखिएको हो । यसको नेपाली नाम सगरमाथा बाबुराम अचार्यले राखेका हुन् । 

सन् २००५ मा चीनले गरेको सर्वेक्षणमा सगरमाथाको उचाइ समुन्द्री सतहदेखि ८ हजार ८ सय ४४ मिटर मात्र रहेको बताएपछि नेपाललाई सगरमाथाको उचाइ नापेर प्रमाणित गर्न दबाब बढेको हो । यस पटक नेपाल पहिलो पटक सगरमाथाको उचाइ नापेको हो ।

याे पनि पढ्नुहोस् । 

यसरी नापिँदैछ सगरमाथाको उचाइ

 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया