सगरमाथामा ट्राफिक जामका कारण आराेहीहरुकाे ज्यान गएको समाचार सत्य होइन : विभाग

 जेठ १२, २०७६ आइतबार १२:३७:५६ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डाै- पर्यटन विभागले सगरमाथामा आरोहण मार्गमा भएको चापका कारण आरोहीको ज्यान गएको भन्ने खबरको खण्डन गरेको छ । 

विभागका महानिर्देशक डुण्डुराज घिमिरेले आइतबार विज्ञप्ति जारी गर्दै मे २२ र २३ मा सगरमाथाको माथिल्लो मार्गमा आरोहीहरुको बाक्लो उपस्थिति रहेको भए पनि आरोहण मार्गमा भएको चापकै कारण ज्यान गएको भन्ने कुरा सत्य नभएको बताउनुभएको छ । 

कतिपय पुराना भिडियो र फोटो प्रयोग गरेर सगरमाथाप्रति दुष्प्रचार गरेको भन्दै विज्ञप्तिमा हिमाल आरोहण आफैँमा साहसिक, जटिल र संवेदनशील हुने भएकोले दुःखद् घटना हुन सक्ने बताइएको छ । विज्ञप्तिमा आरोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्र पहिचान गर्न सकिने विषय भएको भन्दै यस्ता गम्भीर विषयमा प्रचार गर्दा संवेदनशील हुन विभागले आग्रह गरेको छ । 

मे १४ मा सगरमाथाको शिखरसम्म बाटो बनाउने काम सकिएको भए पनि मौसम अनुकुल नहुँदा मे २२ र २३ मा आरोहीहरुको चाप बढेको हो । मे २१ मा मौसम सफा हुने आँकलन गरिएको भए पनि चौथो शिविरमा पुगेका आरोहीहरु मौसम अनुकुल नहुँदा दुई रात त्यही बस्नुपरेको पर्यटन विभागको भनाइ छ । 

यो सिजनको सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउने र हराउनेको संख्या आठ पुगेको भन्दै पर्यटन विभागले सगरमाथाप्रति नकारात्मक भाव नफैलाउन सञ्चारमाध्यम र सामाजिक सञ्जालगायत सबैसँग आग्रह गरेको छ । 

यो वर्ष सगरमाथा आरोहणका लागि ४४ समूहका तीन सय ८१ जनाले अनुमति लिएका थिए । अनुमति लिएका आरोही र उनीहरुका सहयोगीसमेत झण्डै छ सयले सगरमाथा चढेको प्रारम्भिक अनुमान गरिए पनि यकिन तथ्याङ्क आइनसकेको पर्यटन विभागले जनाएको छ । 

अब सोमबार केही आरोही सगरमाथा आरोहणमा जाने र यो सिजनको आरोहण लगभग सकिने विभागले जनाएको छ ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया