बालकको हत्या गर्ने धामी पक्राउ

 जेठ १६, २०७६ बिहिबार ११:२८:३७ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – मिथिला नगरपालिका –६ मा अढाई वर्षीय बालकको हत्यामा धामीको संलग्नता रहेको पुष्टि भएको छ । 

गएको वैशाख २३ गते हराएका बालक आर्यनको वैशाख २४ गते बिहान स्थानीय कृष्णानन्दन महतोको बारीमा हत्या गरी फालिएको अवस्थामा शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी इकाइले संयुक्त रुपमा ६५ जनालाई नियन्त्रणमा लिएर गरेको अनुसन्धानको क्रममा धामी सिक्दै गरेका छिमेकी ५५ वर्षका सत्रुधन महतोले बालक आर्यनको बली दिएको रहस्य खुलेको छ । 

धामी झाँक्रीमा आफू शक्तिशाली हुने अन्धविश्वासका कारण बालक आर्यनको बली दिएको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताउनुभयो ।

हत्यारा महतोलाई प्रहरीले पक्राउ गरी घटनाको झण्डै तीनसाता पछि बिहीबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । वैशाख २३ गते साँझ बालककी आमा रेनुदेवी घाँस काट्न गएको बेला घरमा कोही नभएको मौकामा महतोले बालकलाई फकाएर अपहरण गरेका थिए । त्यही दिन महतोले बालकलाई लुकाएर राखेको र राति २ बजे सिद्धि हुने अन्धविश्वासमा आफ्नै आँगनमा धारिलो हतियार प्रहार गरी देवीदेउताको नाममा बालकको घाँटी रेटेर बली दिएका थिए ।

बली पश्चात बालकलाई कृष्णानन्दनको बारीमा रहेको झाडीमा बालकको शव फालेका थिए । महतोका घरपरिवारका सदस्यहरु उपचार गराउन बाहिर गएको र घरमा कोही नभएको मौका छोपी बालकको बली दिएको अनुसन्धानबाट खुलेको उपरीक्षक खनालले बताउनुभयो ।

बालक आर्यन बिरामी हुँदासमेत महतोले झारफुक गर्ने गरेका थिए । महतोको घर बालक आर्यनको घरबाट झण्डै १ सय मिटर टाढा रहेको छ । बालक आर्यनको बुवा वैदेशिक रोजगारमा छन् । बालकको हत्यामा प्रयोग गरेको घरेलु हतियार र लुगाकपडा समेत प्रहरीले बरामद गरेको छ ।

बालकका हजुरबुवा पिताम्बर साह हलुवाइको झाँक्री महतोमाथि बालकको अपहरण गरी बन्धक बनाएर हत्या गरेको किटानी जाहेरीका आधारमा कारबाही प्रक्रिया अघि बढाएको उपरीक्षक खनालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया