चितवनमा मापदण्ड विपरीत खोला दोहन (तस्विरसहित)

 जेठ १६, २०७६ बिहिबार १७:१२:३० | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनमा मापदण्ड विपरीत खोला उत्खनन् गर्ने क्रम बढेको छ ।

गुनासा बढेपछि अनुगमनका लागि पुगेको टोली नै चकित परेर फर्केको छ । स्थानीय तहबाट अनगुमन गरी मापदण्ड पालान गर्न पटक पटक निर्देशन दिँदासमेत अटेरी गर्ने गरेको पाइएको छ । 

चितवन जिल्लाको नदी खानी क्षेत्रबाट नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन तथा बिक्री वितरण प्रकृयाको अनुगमन नियमन सम्बन्धी कार्यविधि बनेको भए पनि कार्यविधि अनुसार काम हुन सकेको छैन । स्थानीय सरकार मार्फत ठेक्का प्रणालीमा सहभागी भएर नदीजन्य र खोलाजन्य सामग्रीको उत्खनन् गरिरहेका ठेकेदारहरुले मनोमानी तरिकाले काम गरिरहेका छन् । 

उत्खनन स्थलमा उत्खनन गर्ने नदीजन्य पदार्थको परिमाण समेत खुल्नेगरी होर्डिङबाेर्ड राख्नुपर्नेमा अधिका‌ंशले राखेका छैनन् । नदीको पानीभित्र मेशिनरी प्रयोग गर्न नपाइने व्यवस्था भए पनि अटेरी भइरहेकाे छ । स्थानीय अनुगमन समिति र जिल्ला अनुमगन तथा समन्वय समितिमा अभिलेखीकरण नगराइ मेशिनरी साधन प्रयोग गर्ने क्रम बढेको छ । 

ढुवानीका साधनहरुले ढालाभन्दा माथि र नछोपी नदीजन्य सामग्री ओसार पसार गरिरहेका भेटिन्छन् । रातको समयमासमेत सामग्री उत्खनन गर्ने र तोकिएको भन्दा बढी गहिराइबाट उत्खनन् भइरहेको अनुमगनका क्रममा भेटिएको छ । 

अधिकतम १ मिटरसम्म उत्खनन् गर्न पाउनेमा ३ मिटरभन्दा बढी उत्खनन् भएको छ । त्यस्तै खोलाको दुवैतर्फ २५, २५ प्रतिशत ठाउँ खाली राखेर बीचबाट मात्र उत्खनन् गर्नुपर्नेमा वन जंगल नै मासेर पनि उत्खनन भएको पाइएकाे छ । अनुगमनका लागि गएको टोलीले चितवनको खगेडी खोला, स्याङदी,  बुङ र थाङ खोलामा नदीजन्य पदार्थ गिट्टी, ढुंगा उत्खनन् गर्ने क्रममा व्यापक लापरवाही देखिएको टोलीले बताएको छ ।

बुधबार जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, प्रहरी तथा वन कार्यालयले अनुगमन गरेको थियो । अनुगमनपछि त्यस क्षेत्रमा स्थानीय प्रशासनले  खोलामा उत्खनन् कार्य रोकिदिएको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले त्यस क्षेत्रमा मापदण्डभन्दा बढी नदीजन्य पदार्थ निकालिएको पाइएको बताउदै ठेकेदार पक्षबाट लापरवाही भएको बताउनुभयो । 

अनुगमनमा पुगेको प्राविधिक टोलीले इच्छाकामना गाउँपालिकामा पर्ने  खगेडी खोला क्षेत्र र कालिका नगरपालिकाको स्याङदी खोला, थाङ र बुङ खोलामा अत्यधिक दोहन भएको निष्कर्ष निकालेको छ । वनका रुख, बुट्यानहरु पनि मासेर उत्खनन् भएको पाइएको छ । 

खोलामा जेठ मसान्तसम्म मात्र गिट्टी, ढुंगा उठाउन पाइन्छ । जसले गर्दा अहिले स्टक राख्नका लागि अत्याधिक रुपमा दोहन गरी मापदण्ड विपरीतका ठाउँमा भण्डारण गरिएको छ । 

प्रहरीले खगेडी खोलाबाट एक जना ठेकेदारको कर्मचारी र थाङ खोलाबाट २ जनालाई नियन्त्रणमा लिनुका साथै गिट्टी, ढुंगा हाल्न प्रयोग गरिने लाेडरकाे साँचाेसमेत नियन्त्रणमा लिएकाे छ । आवश्यक अनुसन्धानपछि मात्र उनीहरुलाई छाडिने प्रहरीले बताएको छ । 

स्थानीय सरकारले आफ्नो क्षेत्रका खोलानाला उत्खनन्बाट हुने आम्दानीकाे ६० प्रतिशत  तथा प्रदेश सरकारको ४० प्रतिशत हुने व्यवस्था छ ।

प्रदेश सरकारमार्फत चितवनका स्थानीय सरकारले नदी र खोलाजन्य सामाग्रीको उत्खननका लागि ठेक्का लगाएका हुन् । 



 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया