रित्तियो सगरमाथा आधार शिविर !

 जेठ १७, २०७६ शुक्रबार १८:२४:२७ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ – यस वर्षका लागि हिमाल आरोहणको पहिलो याम सकिएसँगै सगरमाथा आधार शिविर सुनसान बनेको छ । 

आरोही तथा उनीहरुका सहयोगीहरु फर्किएपछि आधार शिविर सुनसान बनेको हो । आधार शिविरबाट सबै आरोहण दलका सदस्य तथा सहयोगी र व्यवस्थापनमा खटिएका कर्मचारीहरु फर्किएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो । 

एसपीसीसीका केही कर्मचारी अन्तिम व्यवस्थापनको काम गरिरहेकाले आगामी सोमबारदेखि आधार शिविर मानवशून्य हुने शेर्पाले बताउनुभयो । एसपीसीसीले सगरमाथाको दोश्रो शिविरसम्म बाटो बनाउने, सरसफाइ तथा अन्य समन्वयको काम गर्दै आएको छ । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने आरोहीहरुको नाम्चेमा अन्तिम लगत राख्ने काम पनि एसपीसीसीले गर्छ ।

हिमाल आरोहणको मुख्य याम चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म झण्डै दुई हजार मानिसको बसाइ रहेको आधार शिविर अहिले खाली भैसकेको हो । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल आरोहण गर्न गएकाहरु सगरमाथाकै आधार शिविरमा बसेर तयारी गर्छन् । आरोहीहरुले झण्डै ४५ दिन आधार शिविरमा बिताउने भएकोले त्यो अवधिमा आधार शिविर पालहरुको सहर जस्तै हुन्छ । 

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न आउने आरोहीले मे २९ भित्र आरोहण गरिसक्नुपर्ने र जुन १ भित्र आधार शिविर खाली गरिसक्नुपर्ने सरकारी नियम छ । धेरैजसो आरोही जेठको १४÷१५ गते नै फर्किएका थिए । 

यस वर्षको सगरमाथा आरोहण गएको १३ गते सकिएको हो । यो याममा सगरमाथा आरोहणका लागि ४४ वटा समूहका ३ सय ८१ जनाले अनुमति लिएका थिए । उनीहरुले आरोहण गरेको प्रमाणसहित दर्ता गर्ने काम भैरहेकोले कतिले सफल आरोहण गरे भन्ने यकिन तथ्याङक आउन केही दिन लाग्ने पर्यटन विभागकी निर्देशक मिरा आचार्यले बताउनुभयो । 

यस वर्षको आरोहण उत्साहजनक रहेको पर्यटन व्यवसाय समेत रहेका एसपीसीसीका उपाध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । भारतमा आएको ‘फणी’ नामको आँधीको प्रभावका कारण दुई दिन त्रास बढाएको भए पनि बाँकी समय सामान्यतया मौसमले साथ दिएको र आरोहीहरु उत्साहित बनेको शेर्पाको भनाइ छ ।

 

 
 

 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया