मेयर र उपमेयर नै गर्छन् छुवाछुत, खाँदैनन् डुम कर्मचारीले छाेएकाे पानी

 जेठ १८, २०७६ शनिबार १२:५४:८ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - देशमा गणतन्त्र स्थापना भएर समानताको कुरा संविधानमा लेखिएको छ । जातीय छुवाछुत एवं भेदभावविरुद्धको अभियान नै चलिरहेको छ ।

दिनदिनै मञ्चमा नेता र जनप्रतिनिधिले छुवाछुत एवं भेदभावविरुद्ध चर्को भाषण गर्छन् । तर धनुषामा जनप्रतिनिधिले नै छुवाछुत मान्ने गरेका छन् । धनुषाको हंशपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल र उपमेयर रेनु झाले छुवाछुत मान्ने गरेको आरोप लगोको छ । त्यसै नगरपालिका कार्यालयमा सरसफाइ कर्मचारीको रुपमा कार्यरत वडा नं. ३ की ५५ वर्षकी कुनोदवी डुमले आफूलाई मेयर मण्डल र उपमेयर झा तल्लो जातको हो भनेर हेप्ने र होच्याउने गरेको आरोप लगाउनु भएको छ ।

‘मेयर, उपमेयदेखि सबैलाई  खुवाउन जाँदा मलाई तल्लो जातकाे भनेर हेप्छन् । अछुत भन्दै फर्काउँछन्’, कुनोदेवी डुमले गुनासो गर्दै भन्नुभयो, ‘मलाई भन्छन् अबदेखि तिमी पानी लिएर नआऊ ।’

कुनोदेवीलाई नगरपालिका कार्यालयले मौखिक रुपमा सरसफाइ कर्मचारीमा राखेर श्रम शोषणसमेत गर्ने गरेको छ । उहाँ नगरपालिका  कार्यालय तथा शौचालय सरसफाइ नियमित गर्दै आउनु भएको छ । सुरुमै मासिक १० हजार रुपैयाँ दिने मौखिक सर्तमा नगरपालिकाले राखे पनि अहिले महिनाको ५ हजार मात्र दिने गरेको बताउनुहुन्छ । हालसम्म मात्र ३० हजार रुपैयाँ दिएको कुनोदवीको भनाइ छ । नियमित रुपमा आफू काम गर्दै आए पनि अब बाँकी तलब नगरपालिकाले दिन नमानेको उहाँको गुनासो छ ।

यता नगरपालिकाका मेयर मण्डलले ताल्लो जातको हो भनेर कुनोदेवीलाई कहिल्यै  नहेपेको र उहाँले दिएको पानीसमेत खाने गरेको दावी गर्नुभयो । ‘कुनोदेवीलाई डुम भनेर मैले कहिल्यै हेपेको छैन, उहाँको हातको पानी म खाने गरेको छु । कुनोदवीले ममाथि लगाइएको आरोप झुटो हो ।’ मेयर मण्डलले भन्नुभयो, ‘ कुनोदवीलाई सुरुमै मौखिक रुपमा तलब दिने कुरा भएको थियो । पछि तलब खुवाउन असहज भएपछि नगरपालिकाले माघदेखिको पैसा दिएर काम छोड्न  भनेको छ । तर उहाँको घर नजिक भएर आएर अहिले पनि नियमित काम गर्नु हुन्छ ।’

उपमेयर रेणु झाले नगरपालिका कार्यालय छेउमै आफ्नो घर भएकाले कहिल्यै पनि कुनोदवीको हातबाट खाना र पानी खाने मौका नै नमिलेको प्रतिक्रिया दिनुभयो । आफूले छुवाछुत नमानेको  र छुवाछुतकोविरुद्ध लागि परेको उहाँको दाबी छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया